शनिबार, साउन १२, २०८१

भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा राजतन्त्र ल्याउन गुप्त अभियान चलिरहको बताए

भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दू राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त अभियान चलिरहको बताएका छन्। एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा सिंहले भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्काउन चाहेको बताएका हुन्।

उनले भने, ‘आरएसएसबाट नेपालमा विभिन्न फन्ड चलिरहेको छ। दर्जनौं फन्ड चलेको छ। हिन्दू धर्म र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान नै चलिरहेको छ। सावधान रहनुस्।’ आरएसएस सत्तारुढ भारतीय जनता पार्टीको पैतृक संगठनका रुपमा चिनिन्छ। यसमा कट्टर हिन्दुवादीहरु संलग्‍न छन्।

यस्तै, उनले भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको बताएका छन्। भारतमा पुलिसराज बनाउन खोजिएको र सरकारविरूद्ध बोल्नेलाई मुद्दा लाएर थुन्ने, धर्मको नाममा विभाजन गराउने काम भइरहेको उनले बताए। ‘नेपाललाई सन् २०२५ सम्म हिन्दू राष्ट्र बनाउने भारतीय जनता पार्टी (भाजपा) को अभियान छ। भाजपा फाँसीवादतर्फ तीव्र रूपमा अगाडि बढिरहेको छ,’ उनले भने।

उनले भारतमा हुने घटनाले भारत मात्रै प्रभावित नभइ नेपालसहित दक्षिण एसिया नै प्रभावित भइरहेको पनि बताए। दुनियाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई हेरिरहेको र नेपालमा पहिलो पटक कम्युनिष्टलाई दुई तिहाइ मत आएकोमा उनले खुसी व्यक्त गरे। उनले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरणा मिल्ने गरेको पनि बताए।

सो अवसरमा उनले अमेरिकी साम्राज्यवाद साउथ एसियामा कम्युनिष्ट समाप्त पार्न चाहने र यसका लागि भारतसमेत उपयोग भएको बताए। ‘महाधिवेशनबाट मजबुत नेतृत्व आओस्। कम्युनिष्ट आन्दोलन एकजुट होस्। कम्युनिष्ट एकता होस्,’ उनले भने।  यो समाचार आजको लोकपाटी अन्लाईनमा छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal