बिहिबार, बैशाख १३, २०८१

ओली र विप्लवको भोलि २ बजे संयुक्त सम्बोधन, ओलीको ‘ राजीनामा आउनसक्ने अनुमान !

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार

काठमाडौं, २० फागुन । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच आज तीन बुँदे सहमति भएसँगै नेपाली राजनीति तरंगित बनेको छ । सरकारले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउन ठूलो सफलता हाँसिल गरेको छ । यसअघि विखण्डनवादी आरोप लागेका सिके राउतलाई पनि सरकारले सरप्राईज रुपमा वार्ता गरेर मूलधारको राजनीतिमा ल्याएको थियो । विप्लव समूहसँग सरकारको वार्ता चल्दै गर्दा कतिपयले राजनीतिक स्टन्ट गरिएको भन्ने आरोपसमेत लगाए । तर, सरकार र विप्लव दुवै समूहले अत्यन्तै सुझबुझपूर्ण ढंगले वार्तालाई निश्कर्षमा पुर्याएरै छाडे । फलतः वार्ता सुरु भएको दुई दिनमै तीन बुँदे सहमति भयो । यो सहमतिसँगै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवासमेत गरेको छ । र, जेलमा रहेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गर्ने भएको छ ।

विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो । सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् । प्रेस नोटका अनुसार भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने भएका छन् ।

पछिल्लो समय प्रतिनिधिसभा पूनःस्थापना भएसँगै राजनीतिक सहमतिका आधारमा चुनावी सरकार गठन गर्ने आवाजसमेत उठेको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईदेखि लिएर नेकपाकै दोस्रो तहका नेता र राप्रपा अध्यक्ष कमल थापाले समेत सर्वपक्षीय सरकार बनाउनुपर्ने आवाज उठाएका छन् । यस्तो बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो कदम चाल्लान् ? भन्ने विषय अहिले चासोको विषय बनेको छ । विप्लवदेखि राजावादीलाई समेटेर सरकार बन्ने हो कि भन्नेपनि चर्चा चलेको छ । यही फागुन २३ गते संसद्को बैठक बस्दैछ ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस, नेकपा दाहाल नेपाल समूह र जसपाले संयुक्त रुपमा अविश्वासको प्रस्ताव ल्याउने पनि अड्कलबाजी भैरहेको छ। यसअघिका सार्वजनिक भाषणमा प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा राजीनामा नदिने दाबी गरिसकेका छन् । बरु, आफूले संसद फेश गर्ने भन्दै सके हटाएर देखाउन सार्वजनिक चूनौति दिएका छन् । तर, विप्लवसँगको तीन बुँदे सहमतिपछि ओलीले भोलि नै संयुक्त सम्बोधनको क्रममा पदबाट राजीनामा पनि दिन सक्ने आँकलन गरिएको छ । ओलीले भोलि सरप्राईज रुपमा राजीनामा दिएर सर्वपक्षीय सरकार गठनको लागि घोषणा गरे आश्चर्य मान्न नहुने स्रोतको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?