शनिबार, साउन १२, २०८१

प्रधानमन्त्रीको देश दौडाहा

– विन बहादुर कुँवर

अहिले प्रतिनिधि सभाको पुनर्स्थापना भएको छ। यही फाल्गुन २३ गते यसको अधिवेशन बस्दैछ।यसका लागि सरकार, दल र सभासद सबै आन्तरिक छलफलमा छन्। यसमा बढी सक्रिय सत्ताधारी दल नेकपा छ। त्यसको आन्तरिक कलहले प्रतिनिधिसभा मात्रै हैन सिंगो मुलुकलाई नै तरंगित पारेको छ। अब के हुन्छ?कसको सरकार भन्छ र को प्रधानमन्त्री हुन्छ ? सबैको चासो र उत्सुकता यसैमा छ। औपचारिकरुपमा नेकपा नफुटेको स्थितिमा कसलाई समर्थन गर्ने र नगर्ने भन्ने अरु दलहरु पनि अलमल छन्। छिटो भन्दा छिटो यसको निरकोल हुनुपर्ने सबैको धारणा छ। स्वयं सत्ताधारी दलको प्रचण्ड – माधव समूह यसका लागि निर्वाचन आयोगमा धाई रहेको छ। तर निर्वाचन आयोग यसमा अलमलमा छ।केही पूर्व आयुक्तहरूले यसमा अलमलिने कुनै काम छैन भन्दै पहिले गर्दै र हुँदैआएको आयोगको निर्णय अनि दलसम्बन्धी आयोगको विधान यस्तै स्वयं पार्टीको विधान प्रतिवेदन आदिलाई ध्यानमा राखेर यसको निरकोल गर्नमा कुनै कठिनाइ छैन। तैपनि निर्वाचन आयोग यसमा अलमलमा पारेको छ।कतै सरकारी दबाब वा अन्य कुनै अवाञ्छित सेटिङ त छैन? सबैमा आशंका बढेर गएको छ।
हुन त प्रधानमन्त्री ओली र उनका समर्थक नेताहरुले विपक्ष सबैलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चुनौती दिइरहेका छन्। पार्टी विभाजन नभएको स्थितिमा आफ्नै पार्टी सभासद्हरुले आफ्नै संसदीय दलका नेतालाई अविश्वासको प्रस्ताव राख्न नमिल्ने र अरु प्रतिपक्ष दल खासगरी नेकाको देउवा गुट प्रम ओली निकट नै भएकाले उसबाट यो नहुने प्रधानमन्त्री ओली यसमा ढुक्क भएको देखिन्छन्। त्यही भएर ओलीनिकट सभासद सुभाष नेम्वाङले यो प्रतिनिधिसभाको पुनर्स्थापनाले प्रधानमन्त्री झन् बलियो भएको भन्दै हिडी रहेका छन्। कस्तो अचम्म! प्रधानमन्त्री ओलीलाई यो एकै साथ चिचि पनि पापा पनि ? तर यस्तो हुँदैन । यसमा अदालतको फैसला हुनुभन्दा पहिले प्रधानमन्त्री र उनका समर्थक नेताहरुका बोली यस्तै थिए। यसमा भित्रभित्रै सेटिङ छ। अब संसद पुनःस्थापना कहिलै पनि हुँदैन भन्दै उनीहरु हिडी रहेका थिए। तर संसद पुनर्स्थापना भयो। ओलीको त्यो कथित सेटिङ एकाएक भताभुङ्ग भयो। प्रचण्ड – नेपाल पक्षका साथसाथै अन्य दल र जनताको जीत भयो। त्यस्तै अब पनि निर्वाचन आयोगमा त्यो कथित सेटिङ भत्किन सक्छ र प्रधानमन्त्री ओली पछारिन सक्छन्। त्यसपछि पनि प्रधानमन्त्री ओली र उनका समर्थक आसेपासेहरुले के भन्छन् र के गर्ने हुन्? त्यो हेर्न बाँकी छ। हुन त कुकुर तल परे पनि काईकाई माथि परे पनि काईकाई।
मान्छेमा लाज सरम, नैतिकता र इमान्दारिता हुन्छ। तर एउटा पशुमा जस्तै यसमा केही नहुनु विडम्बना छ। प्रधानमन्त्री केपी ओलीले आफैंले जन्माई हुर्काउन खोजेको प्रतिनिधिसभालाई एकाएक गला रेती हत्या गर्न पुगे। आफ्नै दल नेता, प्रतिपक्ष दल र आम जनता त्यसको रक्षाको लागि उत्रिए। तब मात्रै सर्वोच्च अदालतले त्यसलाई पुनर्स्थापना गरेको छ। तर प्रधानमन्त्री ओली त्यस प्रति कुनै पश्चाताप र दुःख व्यक्त गरिरहेका छैनन् र जनतासामु पनि क्षमायचान गर्दै पदबाट राजीनामा दिनुको सट्टामा यही सदनबाट आफूलाई हटाउन चुनौती दिइरहेका छन्। अझ उनका केहि भक्त हनुमानहरुले प्रधानमन्त्री अझ झन् बलियो भएको भन्दै भजन कृतन गरिरहेका छन्।यो जो चोर उसैको ठूलो स्वर भनेजस्तै भएको छ। हुन त सामन्ती दलाल र नोकरशाही बुर्जुवा राजनीतिको यथार्थ नै हो। जसको शक्ति उसैको भक्ति। सत्ता, भत्ता अनि पदप्रतिष्ठा कुर्चीका लागि जे गर्दापनि उचित र नैतिकता हुने यो कस्तो राजनीति?
प्रधानमन्त्री ओली अहिले देशव्यापी रुपमा सभा सम्मेलन र भाषण गर्दै हिँडिरहेका छन्। हिजो आफ्नै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जान डराउने र आफ्नै पार्टी कार्यालयमा पनि नजाने प्रधानमन्त्री अहिले देशका विभिन्न शहरमा गई लामा-लामा भाषाण वक्तव्य फलाकी रहेका छन्। यसमा न उनलाई कोरोना भाइरसले छेकेको छ न शारीरिक अस्वास्थले नै। बरु अहिले उनले आफूलाई शारीरिक आक्रमण हुन सक्ने मन्तव्य दिँदै हिँडिरहेका छन्। सयौं नेपाली सेना र प्रहरीहरुको रातदिन सुरक्षारत बसिरहेका प्रधानमन्त्री ओली कसको आक्रमणकाे निशानामा छन्? यसको जवाफ नेपाली सेना र पुलिसले दिनैपर्ने हुन्छ। देशको प्रधानमन्त्रीको समेत सुरक्षा गर्न नसक्ने नेपाली सेना र प्रहरी प्रतिको यो प्रधानमन्त्रीको अविश्वासले नेपालको समग्र सुरक्षालाई शंकाको घेरामा राखेको छ। निश्चय नै प्रधानमन्त्री ओलीले यो कुनै गाँजा भांग धतुरो र रक्सीको लतमा न भनेकै हुनुपर्दछ। त्यसैले उनको ज्यान र जीवनको सुरक्षा जरुरी छ। देशको सुरक्षा निकाय यसमा गम्भीर हुनु पर्दछ। तर पूर्वराजा वीरेन्द्रको वंश समेतको सुरक्षा गर्न नसक्ने नेपाली सेना अनि मदन भण्डारीको हत्याको वास्तविकता बाहिर ल्याउन नसक्ने नेपाल प्रहरीको विश्वासनियतामा संख्या गर्ने ठाउँ प्रशस्त छ। तैपनि प्रधानमन्त्रीको यो भनाइमा कुनै सत्यता र विश्वासनियता छैन। खाली उपस्थित जनसमुदायलाई के भन्दा र गर्दा ताली र वाई वाई पाइन्छ ।त्यसैमा उनको ध्यान छ। तर उनलाई ख्याल छैन उनका अघिपछि चारैतिरका सुरक्षार्थ खटिएका सयौं सेना, पुलिस र गुप्तचरहरुकाे साथसाथै सिंगो नेपालको सुरक्षा निकायको नै विश्वासनियता र साख गिरेको छ। हुनत माथि नै भनियो पूर्वराजा वीरेन्द्र र उनका परिवार अनि मदन भण्डारीको हत्या प्रकरणले पनि नेपाली सेना र प्रहरीको विश्वसनीयतामा ठुलै प्रश्न चिन्न खडा गरेकै छ। हुनत अहिले मदन भण्डारीकी धर्मपत्नी बिद्या भण्डारी राष्ट्रपति भएकी छिन् भने मदन भण्डारीको हत्याका लागि तत्कालीन छानविन आयोगका प्रमुख केपी ओली अहिले प्रधानमन्त्री भएका छन्। के अब यसको वास्तविक रहस्य बाहिर प्रकट होला त?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal