शुक्रबार, बैशाख ७, २०८१

जसापाको बैठक बस्दै आजै एमाले सित बर्ता हुने

काठमाडौं : जनता समाजवादी पार्टीको संसदीय दलको बैठक शुक्रबार बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बोलाइएको बैठकमा संसदीय दलको विधान पारित तथा नेता चयन गर्नेबारे छलफल हुने जसपाले जनाएको छ।

सत्ता सहकार्य सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तरर छलफल गरिरहेको जनता समाजवादी पार्टीको संसदीय दल बैठकलाई महत्वपूर्ण मानिएको छ। जसपाका शीर्ष नेता दिनभर आन्तरिक छलफल गरी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीसहित एमाले शीर्ष नेताहरूसँगको वार्तामा तीनबुँदे प्रस्ताव राखिएको जसपा नेता अशोक राईले बताए। ‘हामीले तीनबुँदे प्रस्ताव राख्यौं, सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनका विषयमा कुरा गर्‍यौं’, नेता राईले अन्नपूर्ण पोस्ट्सँग भने, ‘प्रधानमन्त्रीले हाम्रा मागप्रति सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ।’

बिहीबार जसपासँगको छलफल सकारात्मक भएको भन्दै शुक्रबार कार्यदलस्तरमा पनि छलफल गरेर टुंगो लगाइने बताइएको छ। जसपाको संसदीय दलको बैठक सकेर दुईपक्षीय कार्यदलबीच वार्ता हुने भएको हो। कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराई छन्। त्यस्तै जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्।

जसपाले उठाउँदै आएको रेशम चौधरीको रिहाइका कानुनी प्रक्रिया, मुद्दा फिर्ता र संविधान संशोधनका विषयमा कार्यदल स्तरका छलफलमा अब मोडालिटी कस्तो बनाउने भन्नेमा छलफल हुनेछ। दुई पार्टीका कार्यदलस्तरमा भएको छलफलले समझदारी जुटाए सरकारलाई जसपाले साथ दिनेछ। जसपालाई उपसभामुख, केन्द्रदेखि प्रदेश सरकारसम्मका सत्ता सहकार्यलगायत प्रस्ताव एमालेका तर्फबाट प्रधानमन्त्रीले गरेका छन्।

गत वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गरी जनता समाजवादी पार्टी बनाइएको हो तर एकतापछि संसदीय दलको नेता अझै चयन भएको छैन। अन्नपूर्ण ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?