शनिबार, साउन १२, २०८१

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५:१५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । मतदाता नामावलीउपर दाबी विरोध चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२:३० बजेसम्म गर्ने गरी तोकिएको महासंघका सचिव प्रकाश थापाले जानकारी दिए।

मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिनेछ । यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ । उम्मेदवारमाथि दाबी विरोध चैत १३ गते बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ ।

यसैगरी उम्मेदवारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ । मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।

महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ ।

केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासंघको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव थापाले बताए । केन्द्रीय निर्वाचन समितिको कार्यालय महासंघको केन्द्रीय कार्यालयमै रहेको छ । यसैगरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसिएट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाइकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ ।

ती एकाइको मनोनयन दर्तालगायत प्रक्रिया पनि सम्बन्धित एकाइमै हुनेछ । देशभरबाट निर्वाचनका लागि महासंघका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal