शनिबार, साउन १२, २०८१

भागरथी हत्याप्रकरणका अभियुक्त दिनेशले ‘बयान फेरे’, दोगडाकेदार गाउँपालिकाका प्राविधिक कर्मचारीलाई हत्या गरेको अरोप लगाए

काठमाडौं, ८ चैत्र । बैतडीकी भागरथी भट्टको हत्याका अभियुक्त दिनेश भट्ट यतिबेला दिपायलस्थित सुधारगृहमा छन् । प्रहरीले उनैले बलात्कारपछि हत्या गरेको अनुसन्धानका आधारमा र्पुपक्षका लागि अदालतको आदेशमा सुधारगृह राखेको हो । तर, सुधारगृहमा रहेका दिनेशले यसअघिको बयान फेरेका छन् ।

किशोर दिनेशले आफूले दिदी समानकी भागरथीलाई बलात्कार गर्न नसक्ने र हत्या पनि नगरेको भन्दै आफन्तहरुलाई भनेका छन् । आफन्तसँगको सम्पर्कपछि उनले हत्या अस्वीकार गरेका छन् ।

भागरथी हत्या प्रकरणमा अर्कै व्यक्ति संलग्न रहेको कतिपय स्थानीयको दाबी रहेको छ । उनीहरुले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराउने भएका छन् । बैतडीबाट कान्ता चन्दले रिपोर्टर्स नेपाललाई जानकारी गराए अनुसार दिनेशले घटनामा आफ्नो संलग्नता नभएको र डरधम्कीले बयान दिन लगाएको बताएका छन् ।

घटनामा दोहडा केदार गाउँपालिकाको प्राविधिक कर्मचारीको संलग्नताको विषय उठेपछि भागरथी हत्या प्रकरणको अनुसन्धानबारे प्रश्नहरु तेर्साइएको छ । अभियुक्त दिनेशले उनको नाम किटेको बुझिएको छ ।

तर, घटनामा संलग्न भएका अभियुक्त दिनेशबारे पत्ता लगाउने पाँच प्रहरी पुरस्कृत भइसकेका छन् । केहीको बढुवा समेत भएको छ ।

यसअघि दिनेशले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जानकारी दिएको थियो ।

हत्याका आरोपी दिनेश भागरथीकै गाउँका भाई हुन् । उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी उक्त विद्यालयमा कक्षा १२ की छात्रा थिइन् ।

प्रहरीले दिनेशले बलात्कारको योजना पहिले नै बनाएर डेढ घन्टा अगाडि नै विद्यालयबाट निस्किएको र जङ्गलमा कुरेर बसेको विषय सार्वजनिक गरेको थियो ।
उनले बाटोमा भागरथीलाई समातेको र प्रतिकारका क्रममा दुवैबीच झडप भएको थियो । त्यसपछि झाडीमा लडाएको उल्लेख गरेको थियो ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो ।

बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो । तर, आरोपी दिनेश भट्टको घटनाको १२ दिनपछि पहिचान खुली १३ औं दिनमामात्र सार्वजनिक गरिएको थियो ।

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो ।रिपोर्टस नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal