मङ्लबार, असार १२, २०८१

पानी परोस भनेर देशका विभिन्न ठाउंमा भ्यागुताको बिहे गरियो

केही दिनअघिसम्म देशभरको तापक्रम उच्च विन्दुमा थियो। अत्यधिक गर्मीले तराईका कतिपय विद्यालय बन्द गरिए। कति किसानका बालीनाली सखाप भए।

सूर्यको तापसँग पौंठेजोरी खेल्दै शीतल प्रदान गर्ने पानी पनि आकाशबाट थुप्रै दिन परेन। यस्तो खडेरीमा पानी कसरी पार्ने त?

मान्छेले परम्परागत शैली अपनाए। अर्थात् एउटा भाले र एउटा पोथी भ्यागुता खोजे अनि उनीहरूको बिहे गराइदिए।

भरतपुर, चितवन, सर्लाही, झापा लगायत विभिन्न ठाउँमा भ्यागुताको बिहे गराइदिएको फोटो/भिडिओ यति बेला सामाजिक सञ्जालहरूमा देखिएका छन्।

के यसरी भ्यागुताको विवाह गराइदिँदैमा पानी पर्ला त?

के हिजोआज परेको छिटपुट वर्षा त्यसैको नतिजा हो?

हिन्दुधर्मीहरूको विश्वास के छ भने भ्यागुता करायो भने भगवान इन्द्रकहाँ पानी पार्ने सन्देश पुग्छ र त्यसैको फलस्वरूप आकाशबाट वर्षा हुन्छ। सोही मान्यताका साथ विशेषगरी तराई क्षेत्रमा भ्यागुताको विवाह गराइदिने चलन छ। बिहे गराएपछि भ्यागुताको जनसंख्या वृद्धि हुने मान्यता रहेको संस्कृतिविद ओम धौभडेल बताउँछन्।

‘भ्यागुता प्रायः अर्को साथी भयो भने मात्र कराउँछ। भ्यागुताको बिहे भएपछि उनीहरू सँगै बस्ने र सँगै कराउँदै हिँड्ने मान्यता छ। उनीहरूको जनसंख्या बढेपछि झन् सबै मिलेर कराउँछन्। त्यो संगीतजस्तो ध्वनी स्वर्गका राजा इन्द्रसम्म पुगेपछि पानी पर्छ भन्ने मान्यताका साथ तिनीहरूको विवाह गराइदिएको हुनुपर्छ,’ उनले भने।

तराई क्षेत्रमा भ्यागुताको बिहे गराएर पानीको देवतालाई सम्झना गरिने भए पनि यो चलन काठमाडौं उपत्यकामा छैन। यहाँका नेवाः किसान भ्यागुतालाई गुणकारी जीव भने मान्छन्।

जेठ–असारमा बाली लगाएपछि बालीमा कीरा-फट्यांग्रा लागेर बिग्रिने सम्भावना हुन्छ। भ्यागुता यस्तो जीव हो जसले ती कीरा-फट्यांग्रा खाएर बाली बिग्रिनबाट बचाँउछ। भ्यागुताको यस्तो गुण सम्झेर जनै पूर्णिमाका दिन भ्यागुतालाई भात खुवाउने चलन छ। नेपाल भाषामा भ्यागुतालाई ‘ब्यां’ र भातलाई ‘जा’ भनिन्छ। भ्यागुतालाई भाता खुवाइने भएकाले यो परम्परालाई नेपाल भाषामा ‘ब्यां जा नकेगु’ भनिन्छ।

भ्यागुताको गुणलाई लिएर एउटा किम्बदन्ती पनि सुनिन्छ।

कुनै बेला नेवाः बस्तीमा घण्टाकर्ण नामको राक्षस थियो। उसका कान घन्टीजत्रै ठुल्ठूला थिए। ऊ साना बालबालिका मारेर आलो रगत घटघट पिउँथ्यो। राक्षसको आतंकबाट मुक्ति दिलाउन एक चतुर भ्यागुताले योजना बनाएछ।

एकदिन सदाझैं बस्तीका साना बालबालिका खोज्दै घन्टाकर्ण हिँडिरहेको थियो। चतुर भ्यागुता उफ्रिँदै राक्षसअगाडि गयो र सोध्यो, ‘कता जान लागेको घन्टाकर्ण?’

घन्टाकर्ण फुच्चे भ्यागुताको जवाफ फर्काएर के बस्थ्यो! उसलाई सुनेको नसुन्यै गर्‍यो।

घन्टाकर्णले जवाफ नफर्काए पनि ऊ के खोज्दै हिँडेको हो भन्ने भ्यागुतालाई थाहा थियो।

त्यसैले भ्यागुताले नै भन्यो, ‘तिमी मान्छेका बालबच्चा खोज्न हिँडेका होइनौ? त्यस्तो जाबो मान्छेको बच्चा खानु त के ठूलो कुरा भयो! तिमी बरू मलाई समातेर देखाऊ। अनि म तिमी बलवान रहेछौ भनेर पत्याउँछु।’

रिसले आगो भइसकेको घन्टाकर्णले भ्यागुतालाई आफ्नो बाटोबाट हट्न धम्की दियो। भ्यागुता मानेन र घन्टाकर्णलाई जिस्काइरह्यो।

त्यसपछि घन्टाकर्ण जंगियो र भन्यो, ‘ए फुच्चे भ्यागुतो! तैंले मसँग निहुँ खोजेको हो? पख्, म तँलाई समातेर एकै गाँसमा निलिदिन्छु।’

त्यति भनेर घन्टाकर्णले आफ्नो हात अगाडि बढायो। उसले समात्नुअगाडि नै आफ्ना दुई खुट्टा तन्काएर भ्यागुता बुरूक्क उफ्रियो र अर्को ठाउँ पुग्यो। घन्टाकर्णले फेरि उसलाई समात्न खोज्यो, भ्यागुता फेरि अर्को ठाउँमा बुर्कुसी मारिहाल्यो।

घन्टाकर्णको रिस अझै उर्लियो। भ्यागुतो भने झन् झन् उसलाई गिज्याउँदै गयो।

आफ्नो पछिपछि लागेको घन्टाकर्णलाई उक्साउँदै भ्यागुताले उसलाई खेतको दलदलमा लग्यो। भ्यागुताले त त्यो दलदल पार गर्न सक्यो तर राक्षस फस्यो। ऊ हिलोबाट उम्किन यताउता चल्न खोज्यो। जति चल्थ्यो, उति उसको शरीर दलदलमा दबियो।

आफूले चलाखीपूर्ण तरिकाले घन्टाकर्णलाई दलदलमा फसाउन सकेकामा भ्यागुता दंग पर्‍यो। यो कुरा सुनाउन छिटो–छिटो उफ्रिँदै भ्यागुता बस्तीका मानिस बोलाउन गयो।

मान्छेहरू खुसी हुँदै परालमा दनदनी आगो बालेर आए र घन्टाकर्णलाई जलाए। आगोको रापमा चिच्याउँदै, छट्पटिँदै घन्टाकर्ण राक्षसले प्राण त्याग्यो।

चतुर भ्यागुताको बुद्धि र शक्तिका कारण मान्छेले घन्टाकर्णको त्रासबाट त्राण पाए।

यसरी नरभक्षी घन्टाकर्णको संहार गरिएको सम्झनामा घन्टाकर्ण जात्रा वा गथामुंग पर्व मनाउने चलन छ।

यस्तो डरलाग्दो राक्षसलाई पार लगाएको सम्झनामै भ्यागुतालाई भात खुवाउने चलन विकास भएको पनि विश्वास छ।

नेवाः समुदायमा आकाशबाट पानी पार्न भ्यागुताभन्दा बढी नागको पूजा गर्ने चलन छ। नाग र पानीको अन्योन्याश्रित सम्बन्ध भएको मानिन्छ।

भनाइ नै छ ‌‍— जहाँ नाग हुन्छ, त्यहाँ पानी हुन्छ।

त्यसैले पानीका स्रोतहरू; इनार, ढुंगेधारा, पोखरी लगायतमा नागको आकृति कुँद्ने चलन भएको संस्कृतिविद ओम धौभडेल बताउँछन्।

‘काठमाडौं उपत्यकामा पानीका लागि नाग वा महादेवको सम्झना गरिन्छ। त्यही भएर हाम्रोतिर हरहर महादेव भन्ने चलन छ,’ उनले भने, ‘उपत्यकामा भएका धेरै जात्राका कथा पनि नागसँगै जोडिएका छन्। पानी परेन भने पनि नाग देवताको पूजा गर्ने चलन छ।’

पानी नपरेर गाह्रो भएका बेलामा नागहरू धेरै पाइने भक्तपुरको सूर्य विनायक, सिद्धपोखरी लगायत ठाउँमा पूजा हुने उनी बताउँछन्। भक्तपुरमा बासुकी नाग प्रख्यात छ भने काठमाडौंमा कर्कोटक नाग प्रख्यात छ जसको मूल थलो चोभारको टौदहलाई मानिन्छ।

नेवाः समुदायमा पानी पार्नकै लागि दाफा भजनका रूपमा मेघराग गाउने पनि चलन छ। वैदिक कालमा पानी पार्न गीतहरू गाइने र नगरा लगायत बाजा बजाइएको प्रसंग वैदिक ग्रन्थहरूमा भेट्न सकिन्छ।

भ्यागुताकै कुरा गर्दा इतिहासविद गौतम बज्राचार्य भ्यागुतालाई वैदिक कालदेखि वर्षा गराउने जीव मानिँदै आएको बताउँछन्। उनले मनसुन र भ्यागुताको सन्दर्भलाई लिएर सन् २०१३ मा ‘फ्रग हाइम्स् एन्ड रेन बेबिजः मनसुन कल्चर एन्ड द आर्ट अफ एन्सियन्ट साउथ एसिया’ नामक किताब लेखेका छन्।

बज्राचार्यले ऋग्वेदमा भ्यागुताको वर्णन भएको श्लोकले मनसुनसँग कसरी जोडेको छ भन्ने प्रसंग केलाउने प्रयास गरेका छन्।

श्लोकअनुसार वर्षभर गुप्त रूपमा बसेका भ्यागुता मेघ (बादल) लाई खुसी पार्ने वाणीहरू बोल्न थाल्छन्। सुकेका तलाउमा सुख्खा छालाजस्तो भएर सुतेका भ्यागुताहरूमा स्वर्गको पानी वर्षिन्छ र उनीहरू लैनो गाईझैं स्वर निकालेर कराउन थाल्छन्। उनीहरू खुसी हुन्छन् र ट्वार्रट्वार्र गर्दै विनम्रताको ध्वनी निकाल्छन्। एकआपससँग नजिकिन्छन्।

‘दक्षिण एसियाका प्राचीन मानिसहरूको विचारमा पानी परेपछि भ्यागुतो कराउने होइन, भ्यागुतो कराएपछि पानी पर्छ भन्ने विश्वास थियो। यसरी भ्यागुतो पानी पार्न सक्ने देवताको रूपमा परिवर्तन भयो। वर्षामा पानी परेपछि हरियो घाँसपात प्रशस्त पाइने र गाईवस्तु सजिलैसँग हुर्किने भएकाले भ्यागुतोको प्रार्थना गर्‍यो भने गोधनको समृद्धि हुन्छ भन्ने विचार ऋग्वेदको मण्डूक सूत्रमा स्पष्टसँग उल्लेख भएको छ,’ इतिहासविद बज्राचार्य भन्छन्, ‘वास्तवमा ऋग्वेदको रचना भएको समयदेखि नै वैदिक आर्यहरूले ऋतु संस्कृतिका केही महत्वपूर्ण रीतिरिवाज पूर्णतया अपनाइसकेका थिए भन्ने बुझ्न सकिन्छ।’

बज्राचार्यका अनुसार भ्यागुता कराउने समयमै वैदिक आर्यहरूको वार्षिक पठनपाठन सुरू हुन्थ्यो। पछि यो परम्परा उपाकर्म (वेद पढ्ने दिनको प्रारम्भ) को नामले प्रसिद्ध भयो। अहिले पनि श्रावण शुक्ल पूर्णिमाको दिन ब्राह्मणहरू उपाकर्म गर्छन्। यही पूर्णिमाको दिन नेवारहरू भ्यागुताको पूजा गर्छन् र भ्यागुतोलाई खाना र गेडागुडी चढाउँछन्।

‘ऋग्वेद लेखिएका बेला श्रावणशुक्ल पूर्णिमा वा जनैपूर्णिमा आजभोलि जस्तो वर्षाको अन्त्यमा होइन, सुरूआतमा पर्थ्यो। त्यसैले हरियो घाँस उम्रिन थालेपछि उपाकर्म गरिनुपर्छ भनेर कुनै कुनै वैदिक ग्रन्थमा स्पष्ट लेखिएको पाइन्छ,’ बज्राचार्यले लेखेका छन्, ‘श्रावण शुक्ल पूर्णिमापछि लगत्तै आउने भाद्र महिना वर्षा ऋतुको पहिलो महिना थियो भन्ने कुरा रामायणजस्तो पुरानो संस्कृत ग्रन्थबाट पनि बुझ्न सकिन्छ।’

भ्यागुतालाई कसरी पानीको देवता मानिन थाल्यो र भ्यागुताको विवाह किन गरिन्छ भन्ने प्रसंगपछि अब हामी वैज्ञानिक तर्क पनि हेरौं।

हामीले हिजोआज पानी पर्नुको कारण र मनसुन कहिले भित्रिन्छ भन्ने विषयमा वरिष्ठ मौसमविद वरूण पौडेलसँग कुराकानी गरेका छौं।

पौडेलका अनुसार हिजोआज छिटपुट पानी पर्नुको कारण मनसुन आउन अनुकूल वातावरण बन्दै गएकाले हो। अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ। त्यसलाई पूर्वी वायुले विस्थापित गर्नेबित्तिकै नेपालको पूर्वी भेग हुँदै मनसुन देशभर फैलिन्छ। भारतको बंगाल खाडी हुँदै आएको मनसुन नेपाल भित्रिन थप दुई–तीन दिन लाग्ने उनी बताउँछन्।

‘अहिले छिटपुट पानी पर्नु भनेको मनसुन सुरू हुने संकेत हो। अब छिट्टै देशैभर मनसुन भित्रिनेछ,’ उनले भने।

पानी पार्न भ्यागुताको भूमिका होस् वा नहोस्, बिहे गराइदिने परम्पराले यसको महत्व र संरक्षणको विषय भने उजागर गरेको भ्यागुतामा लामो समयदेखि अध्ययन–अनुसन्धान गर्दै आएका सन्तोष भट्टराई बताउँछन्।

‘नेपाल कन्जर्भेसन एन्ड रिसर्च सेन्टर’ मा काम गर्ने भट्टराई यो परम्परालाई सकारात्मक मान्दै भन्छन्, ‘भ्यागुता कराएपछि पानी पर्ने कुराको विज्ञानसँग कुनै सम्बन्ध छैन। बरू पानी परेपछि भ्यागुताहरू बाहिर निस्किन्छन् र कराउन थाल्छन्। उनीहरूको प्रजनन प्रक्रिया पनि त्यसपछि सुरू हुन्छ।’

भ्यागुताको बिहे गराइदिँदैमा उनीहरूको जनसंख्या वृद्धि हुनेमा उनी सहमत छैनन्। सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा उनले दुई फरक प्रजातिका भ्यागुताको बिहे गराइदिएको पनि देखेका छन्। एउटै प्रजातिको बिहे गराइदिँदा पनि तिनीहरू एकअर्कासँग आकर्षित भई नहाल्ने भट्टराई बताउँछन्।

‘भ्यागुता कराउँदा उसको घाँटी फुल्छ। जसले जोडले कराउँछ, पोथी भ्यागुता त्यसैसँग आकर्षित हुन्छ। भ्यागुता विभिन्न रङका हुन्छन्। जसको रङ गाढा हुन्छ, त्यसैसँग पोथी भ्यागुता आकर्षित हुन्छे,’ उनले भने।

उनका अनुसार नेपालमा ५८ प्रजातिका भ्यागुता छन्। तीमध्ये ‘स्कुटिगर’ प्रजातिको भ्यागुता नेपालमा मात्र पाइन्छ। नेपालमा ठ्याक्कै कति किसिमका भ्यागुता छन् भन्ने विषयमा यकिन हुने गरी धेरै अध्ययन नभएको उनले बताए। पछिल्लो समय बढ्दै गएको आधुनिकीकरण, जलवायु परिवर्तन, खेतबारीमा अत्यधिक प्रयोग हुने रासायनिक मल लगायत भ्यागुताका लागि जोखिम हुन्।

तर भ्यागुताको बिहे गराइदिँदा पानी पर्ने विश्वासले तिनीहरूको संरक्षणमा अप्रत्यक्ष मद्दत पुग्ने भट्टराई बताउँछन्।

‘एकपटक बिहे गराएपछि अर्को वर्षका लागि पनि भ्यागुता जोगाउन पर्‍यो। त्यसले अप्रत्यक्ष रूपमा भ्यागुता जोगाउन मान्छेलाई प्रेरित गर्छ,’ उनले भने, ‘सरकारले जोगाउन प्राथमिकता नदिएको समयमा हामीले संस्कृतिसँग भ्यागुतालाई जोड्न सक्यौं भने धेरै फाइदा हुन्छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?