
बिन बहादुर रेग्मी
मान्छे नमरेको कुनै दिन छैन, मान्छे नमर्ने कुनै दबाई छैन। मान्छेको मृत्यु पनि कति हल्का सिमलको भुवा जस्तो हुँदोरहेछ। मर्नेले जान्छु पनि नभन्दो रहेछ। गरिखाने वर्गका लागि दिन रात काम गर्ने रातो मान्छे मर्दा पुरै संसारमा कायापलट प्रलय भए जस्तो रुवाबासी हुँदो रहेछ। एक दिन एक क्षण त सूर्यले पनि प्रकाश दिन छोड्दो रहेछ। कालो अँध्यारो मानव बस्तीमा शोकाकुल अवस्थामा सन्नाटा छाएको हिजोको विक्रम सम्वत 2080 साउन 15गते सोमबार राती को त्यो घडीको सुईले काम गर्न छाड्यो भन्ने खबरले एकाएक सामाजिक सञ्जाल मिडियामा भाईरल बन्यो। काठमाडौ त्री वि शिक्षण अस्पतालमा उपचारार्थ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) पुर्व केन्द्रिय सदस्य कामरेड बबिता थापा को मस्तिष्कले काम गर्न छोड्यो, मुटुको धड्कन रोकियो, नसामा रक्तसञ्चार ठप्प भयो।आँखा सधैंको लागि बन्द भयो। मानौं एकाएक आकाश खसे जस्तो महाप्रलय भए जस्तो नसोचेको अकल्पनीय घटना घट्यो। एकाएक सामाजिक सञ्जाल मार्फत खबर पाउँदा हामीलाई अझै विश्वास लाग्दैन तर विधिको विडम्बना घटना सत्य थियाे मान्नुको विकल्प थिएन। आज संसारभरिका गरिखाने वर्गका आँखामा आँशु भरिएका छन। पुरै सर्वहारावर्ग उहाँको मृतुले स्तब्ध छ।
आठ वर्ष पहिला उहाको मृगौला प्रत्यारोपण गरेर जीवनदान पाउनु भएको थियो। भनिन्छ त्यसपछि उहाँले आफ्नो जीवन पार्टी र क्रान्तिको लागि समर्पित गर्नुभयो। महिला मुक्ति आन्दोलनमा सक्रिय भूमिका निभाई रहनु भयो। अलग्गै “आफ्नो मृगौला आफै जोगाऔं।” अभियान कार्यक्रम नै सञ्चालन गर्नु भयो। उहाँलाई थाहा थियो जीवनमा मृगौलाको कति महत्व छ। अन्तिम घडी सम्म उहाको एउटै चिंता थियाे मानव जीवनमा मृगौला जोगाएर स्वस्थ र दीर्घायुको लागि काम गर्नु पर्छ। मानव जगतलाई नयाँ संदेश दिदै गर्दा आफ्नो जीवन छोटो भएको थाहै पाउनु भएन। बबिता थापा जी तपाईंको सोचलाई साकार पार्न हामि लाग्नेछौं । तपाईं मरेर पनि मुक्तिकामी सर्वहारा वर्गको लागि तपाईं सधैं जिउँदो हुनु हुनेछ। प्रत्येक गरिखाने वर्गका मन मुटुमा तपाईंको बास हुनेछ। अश्रुभिनी श्रद्धाञ्जली!