बिहिबार, भदौ २६, २०८२

कमरेड नारायणमान विजुक्छेसंग एक रात

लिल बहादुर केसी 

“जनवादी क्रान्ति कसरी सफल हुन्छ ? जनताहरुलाई कसरी आन्दोलनमा होम्न सकिन्छ ? तितर वितर भएको कम्युनिस्ट आन्दोलनलाई कसरी गोलवन्द गर्न सकिन्छ ? कम्युनिस्ट पार्टीको आफ्नो एक्लो आधार क्षेत्र कसरी बनाउन सकिन्छ ?” भन्ने विषयमा नेकपा मसालको जिल्ला कमिटी गुल्मीमा निकै बहस हुन्थ्यो। म पनि जिल्ला कमिटीमा भएकोले त्यो गहन छलफलमा भाग लिंदा रुस, चीन, भियतनाम र उत्तर कोरियाका क्रान्ति सफल भएका कथाहरु अग्रजबाट सुनेको र उपलव्ध दस्तावेजहरु पढेका आधारमा जानी नजानी बहसमा उत्रन्थें । पन्चायत काल भएकोले छानी छानी रोज़ी रोज़ी पुस्तक पढ्ने मौका थिएन।

जिल्ला कमिटीको एउटा मिटिंगमा नेपाल मज़दूर किसान पार्टीले भक्तपुर जिल्लामा पारेको प्रभाव बारे छलफल हुंदा निकै समय लियो। नेकपा भित्रको फुट पछी नेपाल कम्युनिस्ट पार्टी ( चौथो महाधिवेशन) नेपालको कम्युनिस्ट आन्दोलनको मूल धार भएर पनि नेकपा ( माले) को गठन पछी यस्को संगठन आशातित रुपमा फस्टाउन सकेन।पार्टी भित्रको अढाई लाइनको संघर्षको सही व्यवस्थापन नभएकोले पार्टी फस्टाउन नसकेको परिप्रेक्ष्यमा नेकपा मसालले केहि जिल्ला छनौट गरी आधार क्षेत्र तयार गर्ने हेतुले काम गर्नु पर्छ भन्ने बहस जिल्ला पार्टीमा हुंदा त्यो कसरी र कति अव्धीमा संभव होला भन्ने विषयबारे छलफल गर्दा मिटिंग लामो भयो। मिटिंगमा कमरेड नारायणमान विजुक्छेले भक्तपुर जिल्लालाई आधार इलाक़ा बनाए जस्तै हामीले पनि त्यस्तै बाटो अवलम्वन गर्नु पर्छ भनी निस्कर्ष निकाल्यौं त्यो जिल्लाको मात्र निर्णय थियो। आफ्नै जिल्लामा प्रयत्न गर्यौं संभव भएन।

 

परिस्थितिले जे विषय पढ़ाए पनि पन्चायती शासकहरुले मार्क्सवाद नै पढाएको अर्थ लगाएकोले पटक पटकको वारेन्ट भएबाट मैले मा वि को जागिर छाडी क्याम्पसको जागिरतिर लागें र जुम्ला क्याम्पसमा पुगें। २०४६ को जनआन्दोलन पछी नेका र संयुक्त वाममोर्चाले चैत्र२६ गते राजदरवारसंग संझौता गरी पार्टी माथीको प्रतिवन्ध हटाई संवैधानिक राजतन्त्र सहितको वहुदलिय व्यवस्था प्राप्त हुने संझौता गरे पछी संयुक्त राष्ट्रिय जन आन्दोलन संयोजन समितिले चैत्र २६ को दरवार सितको संझौता धोखा हो भनी विज्ञप्ति निकाल्यो ।

 

भूगोलको हिसाबले म जहां भए पनि काठमांडूमा भएको चैत्र २४ को विशाल आन्दोलनको जन उभार हेर्दा नेका र संयुक्त बाम मोर्चाका नेताहरुले तिग्रा नकमाएको भए शायद त्यती वेला नै गणतन्त्रको घोषणा हुन् सक्थ्यो भन्ने संयुक्त राष्ट्रिय जन आन्दोलन संयोजन समितिको निस्कर्षमा मैले पनि सहमति जनाएकोले सार्वजनिक रुपमा चैत्र २६ को संझौता धोखा हो भन्दै गएं। युनिभर्सिटीको जागिरे जीवनमा सार्वजनिक रुपमा प्रकट गरेको मेरो भ्रत्सन कति ठिक वा वेठिक छुट्टै मूल्यांकनको विषय बन्ला तर मेरो भ्रत्सनमा सहमति जनाउने क्याम्पसका विद्यार्थी, मा वि तथा नि मा वि का शिक्षक, किसान र व्यापारीहरुको ठूलो तांती बन्यो। पार्टीको खुला मोर्चा तत्कालीन अवस्थामा अखिल नेपाल राष्ट्रिय जनमोर्चा भएकोले त्यो मोर्चाको सदस्यता लिने मानिसहरु लामवद्ध भए। अर्को तर्फ नेमकिपाको मज्वुद संगठन भएको ठाउंमा नेमकिपा छाडी कैयौं मानिसहरु अनेराजमोको सदस्यता काटेकोले त्यहांको नेमकिपाको जिल्ला पार्टी म देखि क्रुद्ध भएछ। जिल्ला कमिटीका नेताहरु प्रत्यक्ष म संग वैचारिक छलफल गर्न नआएर तल्लो तहका कार्यकर्ताहरुलाई उचाली २/३ पटक म माथी आक्रमण गर्ने दुस्प्रयास भयो। त्यो वेला अनेराजमोमा सदस्यता लिएका स्थानीय साथीहरुले मेरो प्रतिरक्षा गर्नु भएको थियो।
मैले राजनीति गरेको खबर प्रहरी, प्रशासनमा पुगेछ प्रहरी प्रशासन मार्फत युनिभर्सिटीमा समेत पुगेछ। केहि दिन पछी युनिभर्सिटीको कर्मचारी प्रशासन महाशाखाबाट “ तपाईंले विश्वविद्यालयको प्राध्यापक भएर पनि खुला रुपमा राजनीति गरेकोले तपाईंलाई अवकाश किन नगर्ने ? सात दिन भित्र स्पष्टीकरण दिनु” भन्ने पत्र आयो। स्पष्टीकरण पेश गरें।

जागिर थामियो पनि। अर्को सालको शिक्षा दिवसमा भने शिक्षा क्षेत्रमा राम्रो योगदान पुर्याएको भनी शिक्षा सेवा पदकबाट सम्मानित हुने मौका पनि मिल्यो।

 

कमरेड नारायणमान विजुक्छेले २०३१ सालमा नेपाल मज़दूर किसान पार्टी गठन गरे पछी उनले कर्णाली अन्चलमा राम्रो संगठन निर्माण गरेका रहेछन्। कालीकोटबाट प्रेम बहादुर सिंह, जुम्लाबाट रामकृष्ण वुढथापा, डिल्ली बहादुर महंत, देवीलाल थापा, भक्त बहादुर रोकाया, दैलेखबाट रंगनाथ सिंह तथा हुम्ला र मुगुका पढे लेखेका नेतृत्व गर्न सक्ने व्यक्तित्वहरुलाई पार्टी संगठनमा राखी काम गरिरहेका रहेछन् । कर्णाली क्षेत्रमा राम्रो संगठन निर्माण हुनुको रहस्य वुझ्दै चांदा पन्चायत कालमा जुम्ला क्याम्पसको क्याम्पस प्रमुख भक्तपुरे तुल्सीमान दुवाल रहेको वेला उनले सो क्षेत्रमा नेपाल मज़दूर किसान पार्टीको राजनैतिक लाइनको राम्रै प्रचार गरेको थाहा भयो। पन्चायत विरोधी प्रतिपक्षीहरु कर्णाली अन्चलको सिमित ठाउंमा ने क पा मसाल र नेपाली कांग्रेस भए पनि नेपाल मज़दूर किसान पार्टीको राजनैतिक सन्जालमा निकै ठूलो रहेछ। ने क पा मालेको भने संगठन खासै थिएन। २०४५/४६ सालको आन्दोलनले पार्टी माथीको प्रतिवन्ध हटाए पछी नेमकिपाले आफ्नो पार्टीमा संवद्ध नेता तथा कार्यकर्ताहरु अन्य पार्टीमा प्रवेश नगरुन भन्ने हेतुले पार्टीका थप कार्यक्रमहरु सशक्त बनाउंदै लगेको थियो। त्यसै सन्दर्भमा नेमकिपाको एउटा आमसभामा कमरेड रोहित जी लाई प्रमुख अतिथि वक्ताको रुपमा आमन्त्रण गरिएको रहेछ। उक्त आमसभामा ठूलो जनमानसको उपस्थिति रह्यो। कमरेड रोहितले आफ्नो राजनैतिक लाइन प्रभावकारी ढंगबाट पेश गर्नु भो। चैत्र २६ को नेका-वाममोर्चा -दरवार संझौता धोखा हो भन्ने राजनैतिक पार्टीहरुलाई अंकित गर्दै उहांले बडो सरल भाषामा भन्नु भो, “ हो हाम्रो आन्दोलन संझौतामा टुंगिनु हुंदैनथ्यो हाम्रो लक्ष्य पनि संवैधानिक राजतन्त्र ल्याउने होइन समाजवाद ल्याउने हो तर हामीले पन्चायत फालेर वहुदलीय व्यवस्था ल्याउनु एक क़दम प्रगतिशील फड्को मारेका छौं। वी ए पास गर्नु अंघी हामीले आइ ए पास गर्नु पर्दछ”। कति सरल भाषण ?

उहांको यो भाषणले अहिले पनि राजनैतिक महत्व राख्दछ। देशका सत्ताधारी पार्टीहरुले जनविरोधी कामहरु गर्दा र देशलाई टाट पल्टाएर निराश भएका जनताहरु आज यो व्यवस्था भन्दा प्रतिगमनकारी व्यवस्था ठिक हो भनिरहंदा कमरेड रोहित जी को भाषामा उनीहरुले आइ ए पास गरेर वी ए तिर होइन एस एल सी तिर पो आफ्नो तीर सोझाएका छन्। यो सत्य कदापि होइन। समाज विकासको क्रम वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यसरी फर्कन्न तर यसो भनिरहंदा प्रतिमनको खतराबाट देश अहिले पनि मुक्त नभएकोले हामीले प्राप्त गरेको गणतन्त्रलाई संरक्षण गर्दै थप उन्नत समाज तर्फ कदम बढाउनु पर्छ ।

कमरेड रोहित प्रमुख अतिथि वक्ता भएको आमसभा समापन भए पछी नेमकिपाका कार्यकर्ताहरुमा झन् उर्जा थपिएछ । कार्यकर्ताहरुले नेता रोहित जी संग मेरो विषयमा नेमकिपाको संगठन भत्कायो भनी चुक्ली लगाएछन् । कमरेड रोहित अत्यन्त परिपक्क नेता हुनुहुंदो रहेछ। त्यो वेला उहांले आफ्ना पार्टीका स्थानीय नेता कार्यकर्ताहरुसंग नबसी मेरो क्वार्टरमा बस्ने निर्णय गरी मलाई खवर पठाउनु भो। त्यो बेला मेरो हर्षको सिमा रहेन। मेरो किचन सहयोगी तिल बहादुर थापालाई राम्रो खाना पकाउने सल्लाह दिई मेरो श्रद्धेय अतिथि कमरेडलाई स्वागत गर्न गेट तर्फ गएं। उहांको साथमा आएका नेमकिपाका अन्य नेता कार्यकर्ताहरु पनि हामी संगै एक आधा घण्टा बसी हाम्रा कुरा सुन्नु भो। स्थानीय नेता कार्यकर्ताहरु हिंडे पछी खाना खांदा र खाना पछी राती वाह्रबजेसम्म विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलन र भविष्य बारे दुई जनाले निकै छलफल गर्यौं। विश्व कम्यूनिस्ट आन्दोलनको इतिहास, पेरिस कम्युन, सेकेण्ड इन्टरनेशनल, १९०५ को रुसको असफल क्रान्ति र १९१७ को रुसको समाजवादी क्रान्तिको विषयमा मैले कुरा गरिरहंदा रोहित कमरेडले निकै ध्यान दिएर सुन्नु भो। नेपाली वामपन्थी आन्दोलनको इतिहास वारे मैले रोहित कमरेडको विचार वुझ्ने मौका पाएं । २०३१ सालतिर उहांले नेपाल मज़दूर किसान पार्टीको स्थापना गरे पछी नेमकिपाको दस्तावेज हेरी “ कमरेड रोहितका खोंटा विचारहरुको खण्डन” भनी कमरेड मोहन विक्रम सिंहले लेखेको पुस्तकको रोहित जीको प्रतिक्रिया बारे जान्न उत्सुक भएं तर उहांले कमरेड मोहन जी को त्यो पुस्तक बारे त्यती महत्व दिनु भएन। मेरो अतिथि कमरेडसंग मेरा धेरै जिज्ञासा थिए। मैले उहांको जीवनी, आन्दोलन, भूमिगत जीवन, उहांका अनुभव, वामपन्थी आन्दोलनको भविष्य, समाजवादको बाटो, सहि राजनैतिक कार्यदिशा हारा थुप्रै थुप्रै कुराहरु सोध्नु थियो।
फोटोमा मात्र देखेको श्रद्धेय नेतालाई आफ्नो भान्सामा, कोठा-चोटामा संगै खांदा बस्दा र गफ गर्न पाउंदा मेरो खुसीको सिमा थिएन।फोटोमा देखे जस्तै त्यो समयमा उहांको ठूलो निधार, पछाडी फर्काएको कपाल र उचाईको कद हेर्दा साक्षात माओ जस्तै देखिनु हुन्थ्यो

 

“कमरेड माओलाई भेट्ने अवसर पाउनु भएको थियो हजूरले ?” भनी मासु भात खांदै गर्दा मैले कमरेड सामु प्रश्न राख्न पुग्छु। उहांले हांस्दै भन्नु भो, “ भेटेको मात्र कहाँ हो र ? म कमरेड माओको (तत्कालीन चीनको राष्ट्रपति)निवासमा जांदा माओले अत्यन्त सत्कार गरी मिठो मासु खुवाउंछु भन्दा माओको भान्सेलाई रोहितलाई सवभन्दा मन पर्ने सर्प छान्न पठाएको र मैले कमरेड माओले गरेको सम्मानमा आँच आउला भनी मन नलागि नलागि एक प्रकारको साँप पिंजडाबाट छानी त्यसको मासु खानु परेको” वाध्यता सुनाउनु हुंदा हांसोको फोहोरा छुट्यो। उहां वि.सं. २०१६ सालमा प्रतिकुल स्वास्थ्यस्थितिका कारण झण्डै १ वर्ष उनी उपचारार्थ चीनमा रहनु भएको रहेछ ।

इतिहासको कुरा गर्दै जांदा उहांले भन्नु भो, “नेपाल कम्यूनिस्ट पार्टीको इतिहासमा द्वितीय महाधिवेशनमा राजावादी डा केशरजंग रायमाझीको लाइनले बहुमत प्राप्त गरे पछी रेडीकल कम्यूनिस्टहरुको अवस्था दयनीय नै भएको, दरभंगा प्लेनममा विघटित संसदको पुनर्स्थापना वा संविधान सभाको चुनावको ठूलो वहस भएको, प्लेनममा लगिएको प्रस्तावको पक्ष विपक्षमा मतदान हुंदा एक्लो प्रस्तावक क मोहन विक्रम सिंहको संविधान सभाको चुनावको लाइन पारित भएको” आदि सुनाउनु भो।

उहांले थप्दै जानु भो, “ त्यो वेलामा आफू कमरेड पुष्पलालको लाइनमा रहेको र वि.सं. २०२१-२२ सालतिर पञ्चायती व्यवस्थाले चलाएको भूमिसुधार कार्यक्रम अन्तर्गत मोहीहरूले पाउनु पर्ने मोहीयानी हक दिलाउन भक्तपुरमा आफूले निकै मेहनत गरेको, वि.सं. २०२७ सालमा कमरेड पुष्पलालको नेतृत्वमा बनेको नेकपाको केन्द्रीय सदस्य बनेको, तत्कालीन पुर्वी पाकिस्तान (बङ्गलादेश)माथि भारतको हस्तक्षेप र अरू सैद्धान्तिक कुरामा पिएलसंग मतभेद भएपछि सो पार्टीबाट अलग भई २०३१ माघ १० गते नेपाल मज़दूर किसान पार्टी स्थापना गरी सोही दिनदेखि पार्टीका अध्यक्ष रही आएको कुरा बताउनु भो।

कम्यूनिस्ट पार्टी प्रतिको उहांको आकर्षकको बारेमा मैले जिज्ञासा राख्दा उहांले भन्नु भो, “ क्याम्पस पढ्ने वेला
वि सं २०१३ सालमा विद्यार्थी फेडेरेसनको सदस्यता लिई २०१७/०१८ सालतिर विद्यार्थी युवाको अध्यक्ष भएको, २०१६/०१७ सालतिर मार्क्सवादी अध्ययन सर्कल भक्तपुर जिल्लाको अध्यक्ष भएको” कुरा बताउनु भो। कुराकानी कै क्रममा पञ्चायती व्यवस्था विरुद्ध सङ्घर्षरत रहँदै गरेको, झन्डै १० वर्ष उच्च भूमिगत जीवन बिताएको र विं.स. २०३६ सालको जनमतसङ्ग्रह पश्चात नेपालमा आएर राजनीतिक यात्रा जारी राखेको कुरा व्यक्त गर्नु भो। भारतमा भूमिगत जीवन बिताउँदा प्रवासी नेपाली विद्यार्थीहरू मार्फत कर्णाली अञ्चलमा बलियो सङ्गठन बनाएको, २०४५ सालमा पञ्चायती सरकारले ह्योजू काण्डमा आफू लगायत पार्टीका (तत्कालिन नेमकिसङ्घ)का ६५ जना नेता-कार्यकर्ताहरूमाथि फाँसीको सजाय माग गर्दै ज्यान-मुद्दा चलाएको सुनाउनु भो।हुन पनि त्यो वेला उहां लगायत उहांको पार्टीका थुप्रै कार्यकर्ताको कर्ण ह्वैजुको हत्याको ज्यान मुद्धा अदालतमा छंदै थियो र देशमा बहुदलीय व्यवस्थाको बहाली पश्चात सो मुद्दा खारेज भई करिब २० महिनाको जेल जीवन पछि उनी लगायत सबै रिहा भएको कुरा हामीले सुनेका थियौं।

भोली पल्ट विहानै रोहित कमरेडलाई भेट्न थुप्रै नेता कार्यकर्ताहरु आए। ती कार्यकर्ताहरुलाई संवोधन गर्दै कमरेडले भन्नु भो, “ हेर्नुस म टाढा छु सधै आउन पाउंदिन, विश्व कम्यूनिस्ट आन्दोलनको र नेपाली वाम आन्दोलन बारे तपाईंहरुले के सी जी बाट धेरै कुरा सिक्नु पर्छ उहांलाई आक्रमण होइन संरक्षण गरी मार्क्सवादी शिक्षा लिनुस्।”
कमरेड रोहितले कार्यकर्ताहरुलाई त्यो निर्देशन दिएको समय देखि म जुम्लामा सुरक्षित भएं र सुरक्षित भएको महसुस गरें।
अहिले उहांसंग मेरो भेट नभए पनि श्रद्धा छ। वाम आन्दोलनमा अवसरवाद जवरजस्त पस्दा उहांको पार्टी पनि खुम्चियो । अहिले उहांसंग न त प्रेम बहादुर सिंह छन् न त रामकृष्ण र रंगनाथहरु छन्। कमरेड मोहन जी ले जस्तै उहांले पनि थुप्रै नेता कार्यकर्ता जन्माउनु भो तर रहेनन् । उहां र उहांको पार्टी भने आफ्नो मूल्य मान्यतामा सदा अटल छ। भक्तपुरमा उहांको पार्टी मज्वुद छ। मलाई लाग्छ उहांको संगठनात्मक शैली केहि फरक छ। भक्तपुरमा संगठन मज्वुद हुनुमा के त्यहांको Homogeneous सामाजिक- सांस्कृतिक पक्षले काम गरेको हो त ? वाम आन्दोलन वारे अनुसन्धान गर्नेहरुलाई यो एउटा राम्रो Research Question हुन सक्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?