बुधबार, भदौ २५, २०८२

अन्नपूर्ण गाउंपालिकको किम्रोङखोला पहिरोले थुनियो सतर्क रहन आग्रह

कास्की जिल्लाको   अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएकोछ । अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताए।

उनका अनुसार आज बिहान ११ बजेदेखि  खोलामा पानी बग्न सुरु भए पनि जोखिम भने कायमै छ ।

“गएराति किम्रोङखोला पहिराले थुनिएको हो, अहिले १५ घण्टापछि खोलामा पानी बिस्तारै बग्न थालेको छ, एक्कासि फुटेमा क्षति हुने सम्भावना भएकाले सबैलाई सुरक्षित रहन खबर गरेका छौँ”, उनले भने ।

किम्रोङखोला वडा नं ७ र ११ को सिमाना झिनोडाँडामा आएर मोदी नदीमा  मिसिन्छ । मोदी खोला आसपासका अन्नपूर्णका वडा नं ११, १०, ८ र ७ का नदीको तटीय क्षेत्रमा बसोबास गरेकाहरुलाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले बताए।

सम्बन्धित वडाका जनप्रतिनिधि र बिरेठाँटी तथा नयाँपुलमा रहेको प्रहरी चौकीमा खबर गरी नदी थुनिएको जानकारी सबैमा प्रेषित गरिएको उनले बताएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?