
पछिल्लो समय सहरी क्षेत्रमा विद्युतीय भुक्तानीमार्फत घरमै सामान मगाउने प्रवृत्ति बढ्दो छ । त्यसैको फाइदा उठाउँदै कतिपय अनधिकृत व्यक्तिले अनलाइनमार्फत सामान घरमै पुर्याइदिने भन्दै ठगीसमेत गर्ने गरेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले यसरी किनमेल गर्दा ग्राहक आफैं सचेत हुनुपर्ने जनाए । सामान हातमा परेर त्यसको मूल्य र गुणस्तरमा ढुक्क भएपछि मात्र पैसा भुक्तानी गर्न उनको आग्रह छ ।
अनलाइन चिठ्ठा, सेलमा महँगा सामान, डिस्काउन्ट कुपन जस्ता प्रलोभन देखाएर इन्टरनेटका माध्यमबाट ठगीका घट्ना बढ्दो छ । सस्तोको लोभमा मोबाइल फोन, क्यामेरा जस्ता वस्तु किन्न रकम ट्रान्सफर गरे पनि भनिएअनुसार सामान नपाएपछि ग्राहक ठगिने गरेका छन् ।
३५ हजार रुपैयाँ पर्ने मोबाइललाई साढे चार लाखमा किनेर ठगिएका व्यक्ति पनि साइबर ब्युरोमा पुगेका छन् । यसरी आकर्षक विज्ञापनमा नलोभिन र सन्देशको आधिकारिता सुनिश्चित गर्न प्रहरीको सुझाव छ । त्यस्ता गतिविधि गर्नेमाथि निगरानी भइरहेको प्रहरीको भनाइ छ ।
त्यस्ता व्यक्तिलाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने गरेको छ । आर्थिक वर्ष ०७९/८० मा ब्युरोमा नौ हजारवटा साइबर अपराधका निवेदन परेको थियो । तीमध्ये प्रहरीले १२७ वटा मुद्दा दायर गरेको थियो ।