
अनुज पछाई , प्यूठान । एमसिसी पारित भएको विरुद्धमा सोमबार आज नेपाल बन्दको आह्वान गरिएको छ । बन्दका कारण प्यूठानमा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन संचालनमा आउन सकेका छैनन् भने व्यापार, व्यवसाय, कलकारखाना, शैक्षिक संघ संस्था लगायत पूर्णरुपमा ठप्प रहेका छन्।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्यूठानका प्रमुख सतयनारायण थापाले बन्दलाई मध्यनगर गरेर जिल्लाको सुरक्षा व्यवस्थामा बिशेष ध्यान दिइएको जानकारी दिए । जिल्लाका मुख्य मुख्य स्थान, चोकचोकमा प्रहरीको परिचालन गरिएको बताए । बन्दकर्ताहरु शान्त तरिकाले बन्द गराउन सडकमा रहेको उनले जानकारी दिए । साथै छिट्पुट रुपमा साना सवारी साधन तथा पसलहरु संचालनमा रहेको बताए ।
देउवा नेतृत्वको सरकारले रातारात संसदबाट एमसिसी पारित गरेको विरोधमा छ वटा कम्युनिष्ट पाटी र दुई वटा मोर्चाले संयुक्त रुपमा बन्दको आह्वान गरेका हुन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी, सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल र चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आईतबार बेलुका आकस्मिक बैठक बसी संयुक्त रुपमा एक विज्ञप्ती निकालेर एमसिसीको विरुद्धमा देशव्यापी रुपमा नेपाल बन्द गर्ने घोषणा गरेका थिए।
राष्ट्रघाती र जनताको हित विपरीत भएको भन्दै चौतर्फी विरोध प्रर्दशन हुदा पनि देउवा सरकारले एमसीसी पारित गरेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् । यसका विरुद्ध लाग्न आम जनताहरुमा अपिल समेत गरिएको छ ।