
मेघराज रिष्मेली, जापान ।
जापान नेपाली एकता समाजको दोस्रो राष्ट्रिय सम्मेलन आगामी मार्च ८ तारिखमा हुने भएको छ छ । ‘राष्ट्रियता र गणतन्त्रको रक्षा गरौं, प्रवासी नेपालीहरूको मताधिकार सुनिश्चित गरौँ’ भन्ने मूल नाराका साथ राजधानी टोकियोमा रक्तिम अभियान र नौमती बाजा को प्रस्तुती सहित राष्ट्रिय सम्मेलन गर्न लागेको जापान नेपाली एकता समाजले जनाएको छ ।
कोरोना संक्रमणको जोखिमपूर्ण अवस्थालाई ख्याल गर्दै राज्यले निर्दिष्ट गरेका स्वास्थ्य सुरक्षाको पालना गरी राष्ट्रिय सम्मेलन हुने छ ।
जापान नेपाली एकता समाजको स्थापना सन् २०१२ भएको थियो । त्यसयता समाजले जापानमा रहेका नेपालीहरूको समस्याविरुद्ध संघर्ष गर्दै नेपालमा विभिन्न समयमा हुने प्राकृतिक बिपत्ति तथा कैयौ व्यक्तिहरुलाई मानवीय सहयोग गर्दै आइरहेको छ ।
त्यसका साथै, देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताका पक्षमा पनि एकता समाजले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।
प्रवासी नेपालीको हक अधिकारका लागि संघर्षरत एकता समाजले विदेशस्थित नेपालीलाई सम्बन्धित देशबाटै मतदानको व्यवस्था गर्न माग गर्दै आएको छ । समाजले आफ्नो राष्ट्रिय सम्मेलन सफल पार्न सबैसँग सहयोगको अपिल पनि गरेको छ ।