
अनुज पछाई , प्यूठान । जिल्लामा वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा आवेदन दिने युवाहरूको बाक्लो भिड देखिएको छ । ४० दिने म्यादी जागिरको लालसामा प्रहरी कार्यालयमा आवेदन दिन लाम लागेका युवाहरूको भिडले देशमा बेरोजगारीको अवस्था छर्लङ्ग पारिदिएको छ । आवेदन दिन आउनेमा पुरुषसँगै महिलाहरूको सहभागिता पनि उल्लेखनीय देखिएको छ ।
स्थानीय चुनावका लागि जिल्लामा १२ सय ४८ म्यादी प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्यूठानमा आबेदन खुल्ला भएको ४ दिनमै मागबो दोब्बरको आबेदन परेको छ । १२ सय ४८ जनाको माग भएकोमा २३ सय ७३ जनाले आवेदन फारम भरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देबी प्रसाद गैरेले बताए । कार्यालय समयभित्र आवेदन लिन खोजिए पनि युवाहरूको चाप भएपछि साँझ ७ बजेसम्म आवेदन बुझ्ने गरेको उनको भनाई छ । आइतबार र४६६ , सोमबार ७७३ ,मंगलबार ५३१ र बुधबार ६०२ जनाले आवेदन फारम भरेकोे गैरेको भनाई छ ।
सरकारले म्यादी प्रहरीमा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीमा पहिले काम गरेका, पूर्व वन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाशप्राप्त, अघिल्लो निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकालाई प्राथमिकता दिइने जनाएको छ । यसका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले शुक्रवार (चैत ११ सम्म) आवेदन दिन सक्ने समयसीमा तोकिएको छ ।
यसैबिच देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार र मंगलबार मात्रै १ लाख ३९ हजार ७५९ जनाले दर्खास्त दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए ।
पहिलो दिन आइतबार ३० हजार २९९, सोमबार ५२ हजार २९९ र मंगलबार ५७ हजार १६१ जनाले आवेदन दिएको उनले बताए । बुधबारको विवरण आइसकेको छैन । प्रहरीले एक लाख म्यादी प्रहरीका लागि दर्खास्त दिन माग गरेको छ । एकसातासम्म म्यादी प्रहरी बन्न आवेदन दिन सकिनेछ ।
यसपटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् । छनौट समितिले आवेदनहरुबाट योग्य व्यक्ति छानेपछि एक साता तालिम दिइनेछ । त्यसपछि उनीहरुलाई काममा खटाइनेछ । म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।











