बुधबार, भदौ २५, २०८२

आजसम्मकै सबैभन्दा कुरुप भद्दा दृश्य

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरु लैनचौरस्थित भारतीय दूतावासमा लहरै बसेको फोटो सेयर गर्दै ट्वीटरमा लेख्नुभएको छ,

‘नेपालको इतिहासमा आजसम्मकै सबैभन्दा कुरुप दृश्य– देशको प्रमुख र पूर्व प्रमुखहरू दूतावासको एउटा कर्मचारीको बिदाइ भोजमा । यस्तो कार्यक्रममा किन देशका प्रमुख पुग्नुभो हामीलाई जवाफ चाहिन्छ ।’

मंगलबार साँझ नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले लैनचौरस्थित भारतीय दूतावासमा आयोजना गरेको बिदाई भोजमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ र विपक्षी दलका प्रमुख नेताहरु गएका थिए । राजदूत क्वात्रा भारतीय विदेश सचिवमा बढुवा भएपछि बिदाइ पार्टी राखेका हुन् ।

बिदाइ पार्टीमा प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल  पनि सहभागी भए । यस्तै, गृहमन्त्री बालकृष्ण खाँणसहितका मन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारी र अन्य मुलुकका राजदूतहरु पनि भोजमा सहभागी थिए ।

सहसचिवस्तरको एउटा कर्मचारीले आयोजना गरेको भोजमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारीलगायत उपस्थित हुनु लज्जाको विषय भएको भन्दै सामाजिक सञ्जालमा कडा टिप्पणीहरु आएका छन् ।

वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले ट्रवीटरमा लेख्नुभएको छ, ‘भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ भोजमा प्रम देउवा,पुकदा र माकुने लाइन लागेर पुगेछन् । नेपाली राजदूतको विदाइ भोजमा प्रम मोदी आदि यसैगरी लाइन लागेर आउँछन् ? समानता र सम्मान दोहोरो कुरा हो । जो समानता र सम्मानको भावनाको लेसमात्र पनि पर्बाह गर्दैन, ऊ प्रभुको दास हो !’

यस्तै, अखिल (छैठौं) का पूर्वअध्यक्ष विमल पोखरेलले फेसबुकमा लेख्नुभएको छ, ‘इतिहासकै भद्दा र कुरुप दृश्य । यो तस्बिरमा बाबुराम भट्टराई छुटेका छन् । एउटा सहसचिवसरहको भारतीय कर्मचारीलाई विदाइ गर्न बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको लस्कर भारतीय दूतावास लैनचौरमा । यिनीहरूले सामूहिक फोटो पनि खिचेकै होलान् !’

पोखरेलले सेयर गरेको फोटोमा भने विपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ पनि देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?