शुक्रबार, भदौ २७, २०८२

यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा

यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्।

सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनीसँग चार लाख धरौटी मागिएको थियो।

अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारङले जानकारी दिए।

खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम)’का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो।

खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख संगिता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो।

‘मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग,) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग गरेका छौं,’ उनले सेतोपाटीसँग भनेकी थिइन‍्।

ती व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।

त्यस्तै यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ।

र यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।

सरकारी वकिल न्यौपानेका अनुसार राईले यस्ता कसुर गरेकाले ७५ को उपदफा ३ (ख) अनुसार ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरिएको थियो।

राईलाई पक्राउ गरेर अनुसन्धान थालेको २५ दिनका दिन प्रहरीले सरकारी वकिल कार्यालय समक्ष अनुसन्धान प्रतिवेदन पेश गरेको थियो।

राईले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै दिक्तेल- ४ जाहेरी दिएकी थिइन्।

उनी सात वर्षदेखि शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्। फाउन्डेसनमा बस्दा मदन राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गरेको उनको आरोप छ।

फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले सेतोपाटीसँग बताएका थिए।

यसबारे सेतोपाटीले वैशाख २८ गते स्टोरी प्रकाशन गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?