
बागलुङ जिल्लामा रहेको बरेङ गाउँपालिका गाउँ कार्यपालिकाको ७१ औं बैठक सम्पन्न भएको छ ।
पलिकाको शिक्षा तर्फको “गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय प्राथमिक तह” भन्ने नाराका साथ बालविकास तथा कक्षा १ मा शिक्षण गर्ने जनशक्तिको विकास, शिक्षा र शिक्षण पद्धतिको सुधारका लागि आवश्यक व्यवस्था मिलाइने नीति तथा योजना अनुसार अगाडी बढ्ने भएको छ ।
पालिकाका सामुदायिक विद्यालयका कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराउँदै आएको दिवा खाजा कटौती गर्ने समाचार प्रति पालिकाले ध्यानाकर्षण गर्दै पालिकाबाट उक्त दिवा खाजा रकमको ब्यवस्था गर्ने निर्णय गरेको छ ।
पालिकाको आर्थिक वर्ष २०७९÷८० को वार्षिक समीक्षा यही साउन ३० गते मङ्गलबार गर्ने, बाहिरबाट निर्यात हुने सामानहरुको कर जिल्लाबाट तोकिने दररेटका आधारमा स्थानिय दररेट निर्धारण गर्ने, गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाको भुक्तानी दिन बाँकी भएको रकमको ब्यवस्था गर्ने र उपभोक्ता समिति योजना खाता केही परिमार्जन गर्दै सहज गराउने कार्यपालिका बैठकमा निर्णय भएको बरेङ गाउँपालिका प्रवक्ता तुफान पुनले ईपरी न्यूज बरेङलाई जानकारी दिएका छन् ।
बैठकले स्वास्थ्य तर्फ “समृद्ध बरेङको आधार, पोषण अवस्थामा सुधार” भन्ने नाराको आत्मसाथ गर्दै गर्भवती पोषिलो झोला वितरण मापदण्ड र गाउँपालिकामा सञ्चालित प्रयोगशाला सञ्चालन तथा व्यबस्थापन कार्यविधि २०८० पनि पारित गरेको छ ।
पालिकाले गाउँपालिका भित्र रहेका सुकुम्बासी र अव्यवस्थित बसोबास यकिन गरी फारम भर्ने भएकाले सम्वन्धित सरोकारवालाहरुले सम्वन्धित निकायमा सम्पर्क गरी फारम भर्न समेत अनुरोध गरेको त्यहाँ बाट तुफान पुनले हामिलाइ जानकारि गराउनुभएको छ।