शुक्रबार, भदौ २७, २०८२

अविवाहित जोडीको शिशु अस्पतालबाटै गायब डा. तपेश्वरलाल कर्णले एक दशकदेखि नै शिशुहरू बेचबिखन गर्दै आएको खुलासा

अविवाहित जोडीको शिशु अस्पतालबाटै गायब भएपछि डा. तपेश्वरलाल कर्णले एक दशकदेखि नै शिशुहरू नि:सन्तान दम्पतीलाई बेचबिखन गर्दै आएको खुलासा

अनुन्धानमा असहयोग गरेको भन्दै कोशी अस्पताल र त्यहाँका चिकित्सकलाई पनि मोरङ प्रहरीले प्रतिवादी बनाउने

विराटनगर — कोशी अस्पतालका पूर्वमेसु डा. तपेश्वरलाल कर्णले अविवाहित जोडीबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर नि:सन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको खुलासा भएको छ ।

उनी लामो सयमदेखि यस्तो कार्यमा सक्रिय रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । अविवाहित प्रेम जोडीबाट जन्मिएकी शिशुलाई अस्पतालबाटै बेपत्ता गरेको आरोपमा चार दिनदेखि उनी प्रहरी नियन्त्रणमा छन् ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ ६८ वर्षीय डा. कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अविभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर नि:सन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ । कोसी अस्पताल स्रोतले डा. कर्णले त्यस्ता शिशुलाई कम्तीमा एक लाखदेखि पाँच लाखभन्दा बढी रकमसम्म लिएर नि:सन्तान दम्पतीलाई बिक्री गर्दै आएको पुष्टी गरेको छ ।

अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेमजोडीसँग डा. कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । नर्स स्तरका केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको स्रोतले भनेको छ । त्यस्ता जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अविभावकबाटै रकम लिएर डा. कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।

डा. कर्णले १० वर्षअघि मोरङको ग्रामथान गाउँपालिकाका एक नि:सन्तान दम्पतीलाई ५ लाख रुपैयाँ लिएर अवैध सम्बन्धबाट जन्मिएकी शिशु उपलब्ध गराएका थिए । अस्पताल स्रोतका अनुसार डा. कर्ण कोशी अस्पतालमा स्त्री रोग विशेषज्ञका रुपमा करिब अढाइ दशक काम गरेर मनग्य आम्दानी गरेका थिए । त्यस अवधिमा उनले अवैध सम्बन्धबाट जन्मिएका दर्जनभन्दा बढी शिशुलाई मोटो रकममा बिक्री गरेका थिए ।

त्यसबेला २०६३–०६४ मा अस्पतालबाट तीन जना नवजात शिशु अचानक हराउँदा अस्पतालमा ठूलो हंगामा मच्चिएको थियो । ती शिशु पनि डा. कर्णकै सक्रियतामा नि:सन्तान दम्पती समक्ष पुगेको आशंका गरिएको अस्पतालका कर्मचारीहरू बताउँछन् । तर राजनीतिक पहुँच प्रयोग गरेर उनले छानबिन हुनै नदिएको उनीमाथि आरोप लाग्ने गरेको छ ।

डा. कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेसु समेत थिए । पछिल्लो पटक असार १४ मा भोजपुर हतुवागढी–४ का एक अविवाहित प्रेमजोडीको सम्बन्धबाट विराटनगरको ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुको व्यवस्थापनका नाममा तिनका अविवाहित अविभावकबाट समेत ३५ हजार रुपैयाँ लिएर नि:सन्तान दम्पतीलाई बेचेको आरोपमा प्रहरीले डा. कर्णलाई गत शुक्रबार नियन्त्रणमा लिएको हो ।

अविवाहित २७ वर्षीय गोविन्द राई र २६ वर्षीया युवतीको सम्बन्धबाट बसेको आठ महिनाको गर्भबाट सामान्य अवस्थामा जन्मिएकी शिशुको व्यवस्थानका लागि डा. कर्णले शिशुका ‘बाबु’ गोविन्दबाट ३५ हजार रुपैयाँ लिएको पुष्टी भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले त्यसपछि कर्णले ती शिशुलाई कति रुपैयाँमा अन्यत्र बिक्री गरे भन्ने सोधपुछको प्रक्रियामा रहेको बताए ।

‘शिशुको व्यवस्थापनका लागि डा. कर्णले सुरुमा गोविन्दसँग ५० हजार रुपैयाँको माग गरेका थिए,’ दाहालले भने, ‘गोविन्दले त्यति रकम नभएको र दिन नसक्ने बताएपछि ३५ हजारमा डिल भएको समेत पुष्टी भएको छ ।’

सामान्य अवस्थामा जन्मिएकी शिशुको अवस्था अहिलेसम्म अज्ञात छ । प्रहरी नियन्त्रणमा रहेर उपचार गराइ रेहेका डा. कर्णसहित कोशी अस्पताल प्रशासनले अनुसन्धानमा असहयोग गरेका कारण बच्चाको अवस्था अज्ञात रहेको दाहालको भनाइ छ ।

डा. कर्णको नाममा किटानी जाहेरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिने प्रयास गर्दा उनी अचानक बिरामी भएको बाहना गरेर कोशी अस्पतालमा भर्ना भएका छन् । डीएसपी दाहालका अनुसार उनलाई नियन्त्रणमा लिन प्रहरी गत शुक्रबार ग्रिनक्रस अस्पताल पुग्दा डा. कर्ण एउटा शल्यक्रिया सकेर अर्को शल्यक्रिया गर्ने तयारीमा थिए ।

‘जब प्रहरी पुग्यो अनी उनी शल्यक्रिया गर्दा लगाउने गाउनसहित उच्च रक्तचाप र मधुमेहको सिकायत भएको भन्दै भुइँमै ढले,’ दाहालले भने,‘त्यसपछि उनलाई प्रहरीले नै कोशी अस्पतालमा भर्ना गर्‍यो । अस्पताल प्रशासनले उनलाई के भएको र अवस्था कस्तो रहेको अहिलेसम्म प्रहरीलाई जानकारी दिएको छैन ।’ दाहालका अनुसार डा. कर्णसँग सोधपुछ नै गर्न नपाउँदा शिशुको अवस्थाबारे प्रहरी बेखबर छ ।

प्रेमी गोविन्दले प्रेमिकालाई असार १३ मा विराटनगरको ग्रिनक्रस अस्पताल नजिकैको डा. कर्णको निजी दिपेश मेडिकल क्लिनिकमा लिएर आए । सुरुवाती परीक्षण गरेर कर्णले ती युवक र युवतीको नाम र ठेगाना परिवर्तन गरेर नजिकको ग्रिनक्रस अस्पतालमा भर्ना गरेर असार १४ मा सामान्य अवस्थामा शिशुको जन्म गराएर त्यसैदिन युवतीलाई बच्चाबिना डिस्चार्ज दिएका थिए । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ ।

डा. कर्ण पक्राउ परेपछि उनलाई बचाउन कोशी अस्पताल प्रशासन र विराटनगरका प्राय: सबै चिकित्सक एक मत भएर प्रहरीलाई अनुसन्धानमा असहयोग गरिरहेका छन् । अभियुक्त जोगाउन सुरक्षा निकायको अनुसन्धानमा असहयोग गरेको भन्दै अस्पताल प्रशासन र चिकित्सकलाई पनि प्रतिवादी बनाउने मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले बताए ।

ती युवतीले ग्रिनक्रस अस्पतालमा ९ सय ५० ग्रामको स्वस्थ शिशुलाई असार १४ मा जन्म दिएको र त्यो शिशु जन्मिने क्रममा डा. कर्णको संलग्नता रहेको र शिशुको बन्दोबस्तीका लागि बाबु गोविन्दबाट रकम लिएको पुष्टी भएको छ । ‘तर त्यसपछि डा. कर्णले शिशु कसलाई, कतिमा बचेको र अवस्था के छ भन्ने कुरा बुझन प्रहरीको अनुसन्धानलाई संलग्न चिकित्सक सहित कोशी अस्पताल प्रशासन र त्यहाँका चिकित्सकले सहयोग गरेनन्,’एसपी पोखरेलले भने,‘अस्पताल प्रशासन र त्यहाँका चिकित्सक यो मुद्दामा स्वत: प्रतिवादी बन्छन् ।’

अस्पतालका निमित्त मेसु डा. मनोज ठाकुरले डा कर्ण उच्च रक्तचाप र मधुमेहको सिकायतले अस्पताल भर्ना भएका र उनको अवस्था जटिल हुँदै गएपछि हाल एचडीयू (हाई डिपेन्डेन्ट यूनिट) मा राखेर उपचार भइरहेको बताए । ‘कर्णको सुगरको लेभल चार सयसम्म पुगेको छ । मानसिक समस्या पनि देखिएको छ ।,’

ठाकुरले भने,‘ कर्णको सुगर लेभल सामान्य अवस्थामा आउन अझै दुई/चार दिन लाग्छ ।’ उनले प्रहरीलाई अस्पतालले केमा असहयोग गर्‍यो भन्दै प्रति प्रश्न गरे । ‘कर्णलाई गरिएको हरेक उपचारको रिपोर्ट अस्पतालसँग छ,’ उनले भने, ‘प्रहरीले त्यो रिपोर्ट हेरे भइहाल्छ नि ।’

यसरी बाहिरियो घटना

गोविन्दले आठ महिनाकी गर्भवती प्रेमीकालाई असार १३ मा डा. कर्णको क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि ल्याए । कर्णले आफनो क्लिनिकमा गर्भ परीक्षणपछि शिशुको व्यवस्थापन गर्ने भन्दै ३५ हजार रुपैयाँ लिएर नजिकको ग्रिनक्रस अस्पतालमा त्यसै दिन भर्ना गराएर व्यथा लाग्ने औषधि सुरु गराए । असार १४ मा सामान्य अवस्थामा ९ सय ५० ग्रामकी शिशुको जन्म भयो ।

कर्णले असार १४ मा नै ती युवतीलाई अस्पतालबाट बच्चा बिना नै डिस्चार्ज दिए । त्यसपछि प्रेमी गोविन्दले प्रेमिकालाई इटहरी लिएर गए । बच्चालाई अस्पतालमै छाडेर गोविन्दले प्रेमीकालाई टेम्पोमा राखेर इटहरी पुर्‍याएर होटलमा राखे । प्रेमिकाले बच्चा खोइ भन्दा गोविन्दले अस्पतालमै उपचार भइरहेको छ भन्ने जवाफ दिए । असार १६ मा गोविन्द काम छ भन्दै युवतीलाई बस्दै गर्नु भन्दै होटलबाट हिँडे, अनि फर्किएर गएनन् ।

प्रेमी गोविन्द एक सातासम्म फर्केर होटल नगएपछि प्रेमिका ती युवती होटलमा अलपत्र भइन् । त्यसपछि उनी सुनसरीको खनार दक्षिण सोनापुर आएर बसिन् । ‘मैले जिउँदै बच्चा जन्माएकी हुँ, छोरी जन्मिएको भनेर नर्सहरुले देखाउँदै भनेका थिए, डिस्चार्ज गर्दा बच्चा दिएनन् । गोविन्दले नै बच्चा राख्ने व्यवस्था मिलाए जस्तो लाग्यो,’ उनले प्रहरी समक्ष भनिन्, ‘मैले जन्माएको बच्चा अहिलेसम्म मेरो साथमा छैन । अस्पतालबाटै गायब बनाइयो । सुत्केरी अवस्थामा गोविन्दले पनि छाडेर हिँडेपछि अलपत्र परें ।’

बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र डाक्टरसँगको मिलेमतोमा बच्चासमेत गायव बनाएको भन्दै उनले साउन ३२ मा मोरङ प्रहरी समक्ष किटानी जाहेरी दिएपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ । युवतीको किटानी जाहेरीपछि प्रहरीले सुरुमा प्रेमी गोविन्दलाई नियन्त्रणमा लियो । उनको प्रष्ट बयानपछि प्रहरीले संलग्न चिकित्सक कर्णलाई ग्रिनक्रस अस्पतालबाट नियन्त्रणमा लियो ।कान्तिपुर बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?