मङ्लबार, बैशाख ११, २०८१

नयाँ ढङ्गबाट कम्युनिस्ट आन्दोलनलाई माथि उठाऔँ

मोहन वैध्य किरण

हामी सबैलाई थाहा छ कि दर्शन, सिद्धान्त, विचार र कार्यदिशामा कोही कसैले पनि खेलाँची गर्नुहुँदैन तर नेपालमा यस्ता विषयमा अचाक्ली खेलाँची गर्ने प्रचलन बढेको छ । यही खेलाँचीका कारण नेपालको कम्युनिस्ट आन्दोलनबारे विभिन्न आशङ्का र उपशङ्का जनिमएका हुन् । हामीलाई यो कुरा पनि थाहा छ कि आन्दोलन नजोगाए नेतृत्व जोगिन । जस्तो कि साम्राज्यवादी षड्यन्त्रद्वारा पेरुभियन साइनिङपाथका संस्थापक नेता अबिमाइल गुजम्यान ‘गोन्जालो’ को जेलमै हत्या गरिएको थियो । पेरुभियन नेता जोसे कार्लोसको ‘माक्र्सवाद र लेनिनवाद भविष्यको चम्किलो बाटो हो’ कथनोक्तिका आधारमा सन् १९६९ मा गोन्जालो (अन्य ११ जना साथीसमेत) ले पार्टीको नाम ‘साइनिङपाथ’ जुराउनुएको थियो । कुनै बेला नेपालका कम्युनिस्टहरू ‘ओ याङ्की गो होम, डर्टी याङ्की गो होम’, ‘हाम्रो रातो झन्डा पेरुमा फहराउँदैछ’ भनेर गीत गाउँथे, आज ती पार्टीहरू टुक्रा–टुक्रा मात्र भएका छैनन्, कता–कता अलमलिएका पनि छन् । यहीबिचमा नेपालमा अबको कम्युनिस्ट आन्दोलनबारे बहस पनि चुलिएको छ । यसका अन्तरविरोधका विभिन्न पक्षबारे बहस र विमर्श सुरु भएका छन् । नेपालका कम्युनिस्ट नेताहरू तत्कालीन लाभका लागि सबै कुरा गुमाउन तयार देखिएका छन् तर लामो जेलजीवनमा गोन्जालोले साम्राज्यवादसित कुनै पनि सम्झौता गर्नुभएन, बरु सहर्ष मृत्यु स्वीकार्नुभएको थियो । तर पनि उहाँको मृत्युपछि अहिले पेरुमा नेतृत्व र पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको छ । यस्ता सन्दर्भ विश्वभर धेरै छन्, नेपालको कुरा पनि यही हो । नेतृत्वलाई जन्माउने र जोगाउने आन्दोलन नै रहेछ, आन्दोलनलाई बचाउने मूल कमान्डर पनि नेता नै रहेछन्, आन्दोलनको रक्षा गर्न नसक्ने नेतालाई आन्दोलनले पनि नजोगाउँदो रहेछ । समकालीनतामा नेपालको कम्युनिस्ट आन्दोलनमा यस्तै–यस्तै दोसाँधमा उभिएको छ ।

नेपालका कम्युनिस्टहरूमा दार्शनिक समस्या चर्को रूपमा देखा परेको छ । नेपालका कम्युनिस्ट नेता तथा तिनका पार्टीहरूमा भन्ने एउटा र गर्ने अर्को प्रवत्ति देखा परिरहेको छ । यो नेपालको कम्युनिस्ट आन्दोलनमा सर्वथा हानिकारक रहेको छ । नेपाल अनेका विविधता भएको देश हो । जनता यतिबेला राज्यको चर्को उत्पीडनबाट ग्रस्त छन् । राष्ट्रियता गम्भीर सङ्कटमा परेको छ । यद्यपि राष्ट्रियता यस्तो चीज हो, जसले सबैलाई एउटै सूत्रमा आबद्ध गर्दछ । आन्तरिक राष्ट्रियतालाई मजबुत पारेर सामन्तवादको विरोध र बाह्य राष्ट्रियतालाई बलियो बनाएर साम्राज्यवादको प्रतिरोध गर्नुपर्ने समय आएको छ । विद्यमान रुढीबुढी, अन्धविश्वास, भाग्यवाद, कर्मवादलगायतका सोच त्यागेर वैज्ञानिक चिन्तन अँगाल्न जरुरी छ । नेपालमा सांस्कृतिक समस्या पनि जब्बर रूपमाा रहेको छ । जनताको संस्कृति बलियो बनाएर मात्र नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न सकिन्छ । त्यसकारण नयाँ ढङ्गबाट कम्युनिस्ट आन्दोलनलाई माथि उठाउनु आजको आवश्यकता हो ।

नेपालमा अबको कम्युनिस्ट आन्दोलनको दिशाको कुरा गर्दा हरेक नेतामा पार्टी सङ्गठनका हरेक ‘क्षति र उपलब्धि’ को स्वामित्व लिने साहस हुनुपर्दछ । ‘क्षति’ लाई कार्यकर्ताको टाउकोमा थोपर्ने र ‘उपलब्धि’ लाई आफ्नो खातामा भर्ने तरिका नोकरशाही तरिका हो । अवैज्ञानिक तथा असान्दर्भिक साङ्गठनिक प्रणाली नेपालका कम्युनिस्ट पार्टीहरूका अर्को चर्को समस्या हो । कम्युनिस्ट पार्टी–सङ्गठनमा कस्ता मान्छेहरू छन् भन्ने कुराले पनि आन्दोलनमा ठूलो महत्व राख्दछ । सङ्गठनमा ‘सक्रिय’, ‘निस्क्रिय’ र ‘बिचका’ गरी तीन प्रकारका मानिस हुन्छन् । नेतृत्वले सदैव बिचमा बस्ने सदस्यलाई सक्रिय बनाउन सघाउनुपर्दछ । माओका अनुसार नेतृत्वको पार्टी सदस्यहरूसँगको सम्बन्धले जनताको सङ्घर्ष उठाउन सहज बन्दछ । सङ्घर्षको मोर्चामा सक्रिय पार्टी सदस्यहरूलाई नेतृत्व पङ्क्तिमा ल्याउने र नेतृत्व तहमा बसेर काम गर्न असमर्थहरूलाई बिदा दिँदा सङ्गठनभित्र पुनर्ताजगी छाउँछ । प्रतिबद्ध र सामूहिक भावनामा विश्वास गर्ने सक्षम पार्टी सदस्यहरूको अभावमा सङ्गठन अगाडि बढ्दैन । सही नेतृत्व जनताका बिचबाटै जन्मिन्छ, जुन नेतृत्व जनतालाई नै सुम्पिनुपर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?