आइतवार, चैत्र २, २०८१

संघीयताको सात वर्षे अनुभव : शासन प्रणालीमा पुर्नविचार गर्नुपर्नेमा जोड

नेपालमा सघीयताले देशलाई नै आर्थिक भार बोकाएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । राष्ट्रिय जनमोर्चा प्यूठानले आईतवार जुम्री प्यूठामा आयोजना गरेको “नेपालको सन्दर्भमा संघीयताको औचित्य” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संघीयताले देशमा आर्थिक भार बोकाउनका साथै राजनैतिक अराजकताको स्थिति समेत सृजना गरेको बताएका हुन ।

कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले नेपालको सापेक्षमा ७ वर्षे अवधिमा संघीयताले राज्यकोषको दुरुपयोग बाहेक अन्य उपलव्धी हुन नसकेको औल्याए । कार्यक्रममा स्वर्गद्धारी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख मोहन गिरीले संघीयताले देशलाई ठूलो आर्थीक क्षती गरेको बताउनु भयो । “संघीयता राजनैतिक दललाई कार्यकर्ता पाल्न ठीक छ तर नेपालको विकासका लागि संघीयता घातक छ यसको खारेजीको विकल्प छैन”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्यूठान नगरपालिका प्यूठानका पूर्व मेयर अर्जुन कुमार कक्षपतिले संघीयताको सन्दर्भमा समयमै बहस हुन आवश्यक रहेको बताउनुभयो । “संविधान जारीकै बखत यस विषयमा छलफल हुन आवश्यक हो” पूर्व मेयर कक्षपतिले भन्नुभयो,“विदेशीको आशिर्वाद लिदा छलफल विनै संघीयता कार्यान्वयन हुँदा समस्या देखियो ।” देशको आवश्यकता भन्दा विदेशीलाई खुसी बनाउनका लागी मात्रै देशको राजनीति केन्द्रित हुदा विकासले गति लिन नसकेको उहाँको भनाई थियो ।

प्यूठान क्याम्पसका क्याम्पस प्रमुख कल्पना खड्काले संघीयता लागु भएको ७ वर्षे अनुभव संगाली सकेकोले यसको विषयमा व्यापक बहस आवश्यक रहेको बताउनुभयो । नेकपा एमालेका उपाध्यक्ष माधव शर्माले संघीयताका केहि विकृति देखिए पनि प्रयोगकै चरणमा रहेकोले अहिलेनै यसको निर्क्याैल निकाल्न नसकिने बताउनु भयो ।

कार्यक्रममा नेकपा मालेका सचिव तिलविक्रम केसी, नेकपा क्रान्तिकारीका सचिव टीकाराम पौडेलले राजनैतीक बेतीथी बढ्दै गरेकोले यस विषयमा व्यापक छलफल आवश्यक रहेको बताउनुभयो । संघियताको सुदृढिकरण वा खारेजी यसको विषयमा ठोस निश्कर्ष विना मुलुकको विकासले गति नलिने उहाँहरुको जोड थियो ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एकिकृत समाजवादी प्यूठानका अध्यक्ष भोज विक्रम बुढामगरले संघीयताको सहि प्रयोग नभएका कारण यसको सुदृढीकरण आवश्यक रहेको औल्याउनुभयो । “संघीयताका विभिन्न विकृतिहरु देखा परेका छन्” उहाँले भन्नुभयो, “यसलाई सच्चाउनु जरुरी देखिन्छ ।” बहुभाषा, धर्म, संस्कृतीलाई समेट्न संघीयता आवश्यक रहेको उहाँको तर्क थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले अवधारणा पत्र प्रस्तुत गर्दै संघीयताको खारेजी गरि विकेन्द्रीकरणमा आधारीत एकात्मक शासन व्यवस्था आवश्यक रहेको औल्याउनु भयो । संघीयताका विभिन्न दुश्परिणामहरु देखा पर्दै आएका छन् खत्रीले भन्नुभयो यसको खारेजीको विकल्प छैन । संघीयताको आर्थीक भार देशले धान्न नसक्ने उहाँको तर्क थियो ।

यस्तै स्वतन्त्र नागरीक मञ्च प्यूठानका संयोजक सुमन सुवेदीले संघीयताले विकास भन्दा छोटे राजाहरुको सृजना मात्रै गरेको बताउनु भयो । राजनैतिक दलहरुनै बढी अराजकता सृजना गर्न उत्तेजीत भएको औल्याउदै उहाँले जनताका समस्या सुल्झाउन राजनैतिक दल केन्द्रित नभएको आरोप लगाउनुभयो ।

राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले संघीयताकै कारण देश आर्थिक  संकटमा फस्दै आयकाे बताउनुभयाे । सत्ता स्वार्थकाे बिषयलाई केन्द्रित गर्दै ठुला राजनैतीक दलहरु बिदेशिकाे ईसारामा चल्दा राज्यले ठुलाे आर्थिक तथा राजनैतिक क्षति ब्यहाेर्नु पर्ने अवस्था सृजित भयकाे उहाकाे भनाई छ ।  बिदेशीको ऋणबाट देश कहिले सम्म चल्छ ? ठुला दललाई उहाँकाे प्रश्न थियाे ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खड्का, लुम्बिनी प्रदेश सल्लाहकार शुरेस थापा, नेकपा मसाल लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसीले संघीयताको कारण देश दिनानुदिन संकटमापर्दै गरेकोमा चिन्ता व्यक्त गर्नुभएको हो।

राष्ट्रिय जनमोर्चाले विगत देखि प्रदेश सरकारको कुनै औचित्य नरहेकोले यसको खारेजीको मुद्धा उठान गर्दै आएको छ । संघियताको विकल्पमा विकेन्द्रीकरण सहितको एकात्मक व्यवस्थाको औकालत गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?