शनिबार, साउन १२, २०८१

पाँचौँ पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा को हुन्?

नेपाली काङ्ग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन्।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन्।

आफ्नो राजनीतिक जीवनमा आलोचकबाट ‘प्रजातन्त्र दरबारलाई लगेर बुझाएको’ भन्ने आरोप खेपेका देउवालाई पहिलेका कार्यकालका आधारमा कैयौँले ‘काबिल’ प्रधानमन्त्रीको रूपमा लिँदैनन्।

यद्यपि देउवाका प्रशंसकहरू उनलाई ‘पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सफल’ व्यक्तिका रूपमा चित्रण गर्छन्।

कैयौँ काङ्ग्रेसीहरूका भनाइमा देउवा कतिपय परिस्थितिमा ‘कूटनीतिकभन्दा पनि बढी स्पष्ट वक्ता’ देखिन्छन्।

राजनीतिको आरम्भ

सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए।

२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

त्यसपछि उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बने।

पञ्चायतविरोधी राजनीति गर्दा देउवामा पटक-पटक जेल परेका थिए।

त्यस्तै राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो र त्यसबेला समेत उनी केही समय जेल परेका थिए।

आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको परिचयात्मक भिडियोमा देउवाले बताएका छन्।

प्रजातन्त्र कालमा देउवा

२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली काङ्ग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका थिए।

२०४८ सालमा डलेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने।

२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए।

२०५६ सालमा डडेलधुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए।

त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरेका थिए।

 

ज्ञानेन्द्रको उक्त कदमविरुद्ध पाँच दलले आन्दोलन गरेका थिए। त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे।

तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए।

त्यसपछि देउवालाई ज्ञानेन्द्रले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो।

उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो।

तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उनी छुटेका थिए।

पार्टी विभाजन

गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली काङ्ग्रेसलाई फुटाएर नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए।

२०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपालकी काङ्ग्रेसमा एकीकृत भयो।

२०७२ साल फागुनमा भएको १३ पार्थी महाधिवेशनबाट नेपाली काङ्ग्रेसको सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता रहेका थिए। ।

सन् २००८ देखि २०१२ सम्म सोस्यलिस्ट इन्टरन्याशनलको उपाध्यक्ष समेत रहिसकेका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्।

सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए।

उनी वर्तमान प्रतिनिधिसभामा डडेलधुरा जिल्लाबाट निर्वाचित सांसद हुन्।स्रोत बिबिसी नेपाली सेवा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal