शुक्रबार, अशोज १८, २०८१

कम्युनिष्टहरु किन भौतिकबादी हुन्छन?कम्युनिष्ट को हुन?

कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट विचार र व्यवहार एवं कम्युनिस्ट नैतिकताबारे प्रशस्तै विवेचना भएका छन्। एउटा असल कम्युनिस्टले धर्म, संस्कृति, परम्परा र संस्कारहरुबारे कसरी सोच्दछ ? चिन्तनदेखि व्यवहारसम्मका श्रृंखलामा उसले आफूलाई कता र कसरी उभ्याउँछ ? यहाँ यसबारे थोरै चर्चा गरिएको छ।

पहिलो, कम्युनिस्टहरु भौतिकवादी हुन्छन्। उनीहरु हरेक कुरा विज्ञानको कसीमा जाँच्ने कोशिस गर्दछन्। कम्युनिस्टहरु ईश्वर, धर्म, पूर्वजन्म, पुनर्जज्म, स्वर्ग, नर्क, परलोक, बैकुण्ठबासजस्ता काल्पनिक मान्यताको विरोध गर्दछन्। एउटा सच्चा कम्युनिस्टले त्यो कुरा मात्र मान्दछ, जुन विज्ञानको प्रयोगशालाबाट प्रमाणित वा प्रमाणित हुने सम्भावना राख्दछ। हामीकहाँ भौतिकवाद र आध्यात्मिक चिन्तन मिलाएर छुट्टै दर्शन बनाउने वकालत र अभ्यास गरेको पाइन्छ, जुन मार्क्सवाद होइन, पुँजीवादकै अपवित्र सन्तान मात्र हो।

दोस्रो, कम्युनिस्टहरु द्वन्द्ववादी हुन्छन्। द्वन्द्ववादले हो पनि भन्छ, होइन पनि भन्छ। हरेक वस्तु, घटनाक्रम र समाजका प्रत्येक घटनालाई सकारात्मक र नकारात्मक कोणबाट विश्लेषण गर्नु द्वन्द्ववाद हो। द्वन्द्ववादले कुनै पनि वस्तु, घटना वा व्यक्तिलाई सतप्रतिशत सही वा सतप्रतिशत गलत मान्न सक्दैन। प्रत्येक वस्तु, घटना वा व्यक्तिमा केही राम्रा र केही नराम्रा गुण हुन्छन्। हामीले राम्रा र नराम्रा गुणहरुको तुलनात्मक अध्ययन गर्नुपर्दछ, अनि राम्रा र नराम्रा गुणमध्ये कुन गुण बढ्ता छन्, त्यसकै आधारमा निष्कर्ष निकाल्नुपर्छ। एउटा कुनै कुरा चित्त नबुझे त्यसलाई पूर्णतः गलत र एउटा गुण राम्रो लागे त्यो पूर्णतः ठीक ठान्ने प्रवृत्ति द्वन्द्ववाद होइन, अधिभूतवाद हो।

तेस्रो, कम्युनिस्टहरु आलोचनात्मक र क्रान्तिकारी हुन्छन्। एक पत्रकारले माक्र्सलाई सोधे, ‘‘तपाईलाई सबैभन्दा मनपर्ने शुत्रवाक्य के हो ?’’ मार्क्सको जवाफ थियो, ‘‘हरेक कुरामाथि शंका गर।’’ आलोचनात्मक चेतबाट कुनै पनि वस्तु वा घटनाक्रमको अध्ययन गर्नु माक्र्सवाद हो। तर, त्यो आलोचना ध्वंशका लागि होइन, सिर्जनाका लागि हुनुपर्छ। त्यो आलोचना अग्रगति र सामाजिक रुपान्तरणका लागि हुनुपर्छ।

चौंथो, कम्युनिस्टहरु रुढीवाद र अन्धविश्वासका विरोधी हुन्छन्। उनीहरु बोक्सी, भूतप्रेत, ईश्वर लगायत कुनै पनि अलौकिक शक्तिमा विश्वास गर्दैनन्। आफ्ना पूर्खाहरु मरेपछि बैतरणी तर्ने, स्वर्ग वा नर्क जाने कुरामा विश्वास गर्दैनन्। बरु, त्यसको स्थानमा प्रगतिशील संस्कार र मान्यता स्थापित गर्ने प्रयत्न गर्दछन्। तर, हामीकहाँ बिरामीलाई अस्पताल नलगेर धामी–झाँक्रीकहाँ लैजाने, मान्छे मरेपछि गौदान लगायतका दान गर्ने, पितृका नाममा पिण्ड दिने, अनि आफूलाई सच्चा कम्युनिस्ट भन्नेहरुको कमि छैन। भूतप्रेत मन्साउने, ग्रहदशा हेराउने र काट्नेहरु आफूलाई कम्युनिस्ट भन्दछन्। मार्क्सवादी सिद्धान्तअनुसार उनीहरु कम्युनिस्ट होइनन्। बरु, आध्यात्मिक दर्शनका अनुयायी हुन्।

पाँचौं, कम्युनिस्टहरु विज्ञान र अन्वेषणमा विश्वास गर्दछन्। उनीहरु हरेक विषयमा प्रश्न गर्दछन्। कुनै पनि कुराको वैज्ञानिकता पुष्टि हुन प्रयोगको नतिजा खोज्दछन्। मार्क्सवादले ब्रह्माण्डका कैयौं कुराको अन्वेषण हुन बाँकी नै रहेको तथ्यलाई स्वीकार गर्दछ। तर, कहिल्यै पनि काल्पनिक कुरामा विश्वास गर्दैन। कतिपयले मानव मस्तिकको क्षमता, भावना र मानिसको श्वासप्रश्वास प्रक्रियाको जटिलतालाई अलौकिक शक्तिसँग जोड्ने प्रयत्न गर्दछन् र कम्युनिस्टहरु त्यसको रनभुल्लमा पर्दछन्। तर, मार्क्सवादले त्यसमा पनि तथ्यको खोजी गर्दछ।

छैटौं, कम्युनिस्टहरु कुनै बहादुर, वीर वा शक्तिमा विश्वास गर्दैनन्, जनतामा विश्वास गर्दछन्। माओत्सेतुङ भन्छन्, ‘‘इतिहासका निर्माता जनता हुन्।’’ माओ यतिमै रोकिँदैनन्, उनी थप्छन्, ‘‘जनता पानी हुन्, अनि कम्युनिस्ट पार्टी माछा, पानीबिना माछाको अस्तित्व असम्भव छ।’’ जनताले चाहेमा इतिहास बदल्दिन सक्छन्। जनता नै सार्वभौम हुन्छन्। हरेक अग्रगति वा अधोगतिमा जनताको भूमिका नै निर्णायक हुन्छन्। त्यसकारण कम्युनिस्टहरुले जनताको जनमतको सधैं सम्मान गर्नुपर्छ।

सातौं, कम्युनिस्टहरु नीजि सम्पत्तिका विरोधी हुन्छन्। मार्क्सवादी सिद्धान्तको अन्तिम लक्ष्य हो निजी सम्पत्तिको अन्त्य। कम्युनिस्ट समाजको उन्नत चरणमा धनी र गरीबको भेद हुँदैन, गाउँ र शहरको भेद हुँदैन, शारीरिक श्रम र मानसिक श्रमको भेद हुँदैन। साम्यवाद त्यस्तो आधुनिक समाज हो, जहाँ मानिसहरु स्वतन्त्र रुपले उच्च नैतिक धरातलमा रहन्छन्। सत्ता संघर्षमा पराजित पुँजीपति वर्ग आफ्नो नीजि सम्पत्ति फर्काउन अन्तिमसम्म लडिरहन्छ। त्यतिबेला कम्युनिस्टहरुसँग सत्ताको हतियार चाहिन्छ, जुन हतियार पुँजीवाद फर्काउन चाहने पुँजीपति वर्गका विरुद्ध प्रयोग गरिन्छ। तर, पुँजीवादीहरु पार्टी बाहिर मात्र रहँदैनन्, कम्युनिस्ट पार्टीभित्र पनि हुन्छन्, तिनीहरु निजी सम्पत्तिका पक्षमा उभिन्छन्। उनीहरु पनि समाजवादका विरुद्ध उभिन्छन्। तसर्थ, कम्युनिस्टहरुले पार्टीभित्र र बाहिरका पुँजीवादीहरुसँग लडिरहनुपर्छ, व्यक्तिगत सम्पत्तिको विरोधमा उभिनुपर्छ।

आठौं, कम्युनिस्टहरु भीडमा होइन, सत्यमा विश्वास गर्दछन्। कम्युनिस्ट सिद्धान्तको एउटा बलियो शर्त छ, ‘अल्पमत होस्। तर, सत्यको बाटो नछोड। तिमीसँग सत्य छ भने त्यो एकदिन शक्तिमा बदलिन्छ।’ लेनिनको भाषामा ‘प्रतिकूलताभित्र अनुकूलता खोज्नु’ नै माक्र्सवाद हो। सत्य भुलेर भीडको पछि लाग्नेहरु कम्युनिस्ट हुन सक्दैनन्। त्यो मात्र असल कम्युनिस्ट हो, जसले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सत्यको वकालत गर्दछ।

नवौं, कम्युनिस्टहरुले धर्म र संस्कृतिलाई एक–अर्काका पूरक ठान्दैनन्। धर्म र संस्कृति एउटै चाहिँ होइनन्। धर्म कुनै अलौकिक शक्ति र दर्शनप्रतिको अन्ध समर्थन हो, जुन परिवर्तन हुँदैन। तर, संस्कृति समकालीन समाजको आर्थिक–सामाजिक परिस्थितिको उत्तरदेन हो, त्यो सधैं गतिशील हुन्छ। धर्म कम्युनिस्ट पक्षधर वा विरोधी हुँदैन। तर, संस्कृति प्रगतिशील वा रुढीवादी हुन सक्छ। तसर्थ, कम्युनिस्टहरु हरेक वस्तु र घटनाक्रमभित्र रहेको धार्मिक पक्षमा अलग रहन्छन्, प्रतिगामी संस्कृतिको विरोध गर्दछन् र संस्कृतिका प्रगतिशील पक्षको वकालत गर्दछन्।

दशौं, कम्युनिस्टहरुले सांस्कृतिक रुपान्तरण बिना राजनीतिक रुपान्तरण टिक्न नसक्ने मान्यता बोक्दछन्। जुनकुनै राजनीतिक व्यवस्था पनि प्रगतिशील संस्कृतिको जगमा उभिएको छैन भने त्यो एकदिन ढल्छ नै। सांस्कृतिक रुपान्तरण भन्नाले मानिसको दार्शनिक चिन्तन र सोच्ने तरीकामा परिवर्तन हो। चिन्तनधाराको रुपान्तरण बिना गरिने संस्कृतिका पक्षको रुपान्तरणले मात्र साम्यवादी आदर्शको गुरुत्व बोक्न सक्दैन। यहाँ संस्कृतिको अर्थ दार्शनिक चिन्तन र विधारधाराको रुपान्तरणको प्रश्न हो।

मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तक ‘कम्युनिस्ट स्कुल’को एक अंश

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?