शनिबार, साउन १२, २०८१

दुई मात्रा खोप लगाएका मानिसले पनि घरमा कोरोना भाइरस सार्न सक्छन अध्यान

 

यूकेमा गरिएको एउटा अध्ययनमा दुई मात्रा खोप लगाएका मानिसमा पनि कोभिड भइरहेको र उनीहरूले आफूसँग बस्ने अरूलाई सङ्क्रमण सारिरहेको देखाएको छ।

विज्ञहरूका अनुसार दुई मात्रा खोप लगाएका मानिसले पनि खोप नै नलगाएका मानिसले जत्तिकै सङ्क्रण फैलाउन सक्छन्।

लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले एउटै घरमा बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत छ। अर्थात् उनीहरूले पाँच जनामध्ये दुई जनालाई कोभिड सार्न सक्छन्।

तर घरमा बस्ने सबै जनाले पूर्ण मात्रामा कोभिड खोप लगाएका छन् भने त्यस्तो सम्भावना २५ प्रतिशत मात्र हुन्छ।

द लान्सिट इन्फेक्शस डिजीजेजको अध्ययनबाट किन अधिकाधिक मानिसलाई खोप दिनु महत्त्वपूर्ण छ भन्ने स्पष्ट भएको शोधकर्ताहरूले बताएका छन्।।

खोप नलगाएका मानिसहरू आफूलाई कोभिड सर्ने जोखिमबाट जोगिन खोप लगाएका अरू मानिसमा भर पर्न नहुने चेतावनी विज्ञहरूले दिएका छन्।

 

कोरोनाभाइरस सङ्क्रमणबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन खोपले सघाउँछन्।

तर सङ्क्रमण रोक्न ती धेरै प्रभावकारी हुँदैनन्। विशेषगरी भाइरसका डेल्टा भेरिअन्टजस्ता बढी सङ्क्रामक प्रकार फैलिएको बेला तिनले कोभिड सर्नबाट रोक्न सक्दैनन्।

अनि समयक्रमसँगै खोपले दिने सुरक्षा घट्दै जान्छ र खोपको अतिरिक्त मात्रा आवश्यक पर्छ।

‘कोभिडका कारण मैले स्मरणशक्ति गुमाएँ’: एक चिकित्सकको दुखेसो

घरमा नै अधिकांश सङ्क्रमण फैलिने भएकाले घरमा बस्ने खोप लिनयोग्य मानिस सबै जनाले खोप लिएको सुनिश्चित गर्नु तथा आवश्यक थप मात्रा लिनु उपयुक्त हुने विज्ञहरूको सुझाव छ।

गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लन्डन र बोल्टनमा कोभिडका लागि पीसीआर परीक्षण गरेका ४४० घरपरिवारलाई संलग्न गरिएको थियो।

त्यसमा यस्तो नतिजा देखियोः

  • खोप नलगाएका मानिससँग तुलना गर्दा दुई मात्रा खोप लगाएका मानिसमा डेल्टा भेरिअन्ट सरेर कोभिड हुने कम तर उल्लेख्य जोखिम हुन्छ
  • उनीहरूले भाइरस सार्ने सम्भावना उत्तिकै हुन्छ
  • खोप लगाएका मानिस चाँडै सङ्क्रमणमुक्त हुन्छन्, तर सङ्क्रमण उत्कर्षमा पुगेको बेला (जतिबेला अरूमा सङ्क्रमण धेरै सर्न सक्छ) ‘भाइरल लोड’ अर्थात् कोरोनाभाइरसको परिमाण खोप नलगाएका तर कोभिड भएका मानिसको जत्तिकै हुन्छ
  • यसबाट खोप लगाएका मानिसले घरभित्र कसरी कोभिड सार्न सक्छन् भन्ने देखिन्छ।

उक्त शोधका सहनेता तथा इम्पीरीअल कलेज लन्डनका प्राध्यापक अजित लालवाणीले भने, “खोप लगाएका मानिसमा हामीले अहिले देखेको कोरोनाभाइरस सर्ने क्रमका कारण खोप नलगाएका मानिसले पनि आफू सुरक्षित हुन तथा गम्भीर खालको कोभिड-१९ बाट जोगिन खोप लिन आवश्यक छ।”

“किनभने जाडोयाममा धेरै मानिसहरू घरभित्र एकअर्काको सान्निध्यमा बस्छन्।”

 

इम्पीरीअल कलेजमै कार्यरत शोधकी अर्की सहनेता डा. अनिका सिङ्गनयगमले भनिन्, “नयाँनयाँ भेरिअन्ट फैलिरहेको बेला खोपको प्रभावबारे हाम्रो निष्कर्षले महत्त्वपूर्ण ज्ञान दिन्छ – विशेषगरी, उच्च खोप वितरण दर भएका देशमा सहित किन डेल्टा भेरिअन्टले विश्वभरि कोभिड भएका मानिसको सङ्ख्या निरन्तर बढाइरहेको छ भन्ने विषयमा।”

त्यसैले कोरोनाभाइरस सर्ने क्रम रोक्न मास्क, भौतिक दूरी र परीक्षणजस्ता जनस्वास्थ्य र व्यवहारसम्बन्धी उपाय खोप लगाएका मानिसमा पनि उत्तिकै महत्त्वपूर्ण भएको उनको भनाइ छ। बिबिसी नेपाली

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal