शनिबार, साउन १२, २०८१

प्रचण्डको ‘कन्फर्टेवल’ भारतीय साम्राज्यवादको दलाली गर्ने सन्देश हो– चित्रबहादुर केसी

प्रचण्डको ‘कन्फर्टेवल’ भारतीय साम्राज्यवादको दलाली गर्ने सन्देश हो– चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाले आउँदो चैत २४ देखि २६ सम्म बुटवलमा पार्टीको चौथो राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ । सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको बताइन्छ । यही फागुन २३ गतेदेखि पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद बैठकबाट बर्तमान सरकार विस्थापन गरेर नयाँ सरकार गठन गर्न प्रमुख राजनीतिक दलहरुबीच सत्ता समिकरण बनाउने प्रयास भइरहेको छ । यस्तै, पछिल्लो तरल राजनीतिक अवस्थामा वैदेशिक हस्तक्षेप बढेर गएको छ । कतिपय प्रमुख दलका शीर्षस्थ नेताहरु नै खुलेआम विदेशीका लागि ‘कम्फर्टेवल’ सरकार बनाउने घोषणा गरिरहेका छन् ।

संघीयताको विरोध, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता र गणतन्त्रको रक्षालगायतका विषय समेटी आन्दोलन गरिरहेको राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलनको तयारी कसरी गरिरहेको छ ? तथा आगामी दिनमा पार्टी कसरी अगाडि बढ्छ भन्ने सन्दर्भमा हामीले अध्यक्ष चित्रबहादुर केसीसँग संक्षेपमा कुराकानी गरेका छौं ।

राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलनको स्थान परिवर्तन भएछ, सम्मेलनको तयारी कसरी अगाडि बढिरहेको छ ?
हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैत २४ देखि २६ गतेसम्म बुटवलमा गर्ने ठेगान भएको छ । पहिले हामीले त्यही मितिमा काठमाडौंमा सम्मेलन गर्ने तय गरेका थियौं । भर्खरै बसेको केन्द्रीय समितिको बैठकले सम्मेलन बुटवलमा गर्ने निर्णय गरेको हो ।

जतिबेला हामीले सम्मेलनको मिति घोषणा गरेका थियौं, देशमा कोरोना संक्रमणको त्रास धेरै नै थियो । त्यसकारण काठमाडौंमा प्रतिनिधिमुलक सम्मेलन गर्ने निर्णय गरिएको हो । तर, अहिले कोरोनाको त्रास कम भएको छ । यद्यपी पुरै हटेको भने छैन । यो अवस्थामा हिजो तय गरिएको प्रतिनिधि, पर्यवेक्षकको संख्यालाई दोब्बर पारिएको छ । जस्तो कि कुनै जिल्लाका लागि पाँच जना प्रतिनिधि, पर्यवेक्षक तोकिएको थियो भने अब त्यो जिल्लाले १० जना पठाउन पाउनेछन् । अब अलि ठुलो संख्यामा सम्मेलनमा उपस्थिति हुने गरी तयारी अगाडि बढाएका छौं ।

यस्तै, सम्मेलनका लागि आवश्यक राजनीतिक प्रतिवेदन, विधान संशोधन, स्वयम्सेवक परिचालन लगायतका व्यवस्थापकीय काम अगाडि बढिरहेको छ । सम्मेलन भब्यतापूर्वक सम्पन्न गर्नका लागि अहिले हामी बुटवलमै बसेर तयारी गरिरहेका छौं ।

यही फागुन २३ गते पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यो बैठकमा राष्ट्रिय जनमोर्चाका भूमिका कस्तो हुन्छ ?
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेको दिन पुस ५ गतेदेखि नै हामीले यो कदम गलत छ र संसद पुनर्स्थापना हुनुपर्छ भनेर आन्दोलन गर्दै आएका थियौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय गरेर संविधानलाई ट्रयाकबाट बाहिर जानबाट रोकेको छ । त्यसका लागि सर्वोच्चलाई धन्यवाद दिन चाहन्छु । संसद पुनर्स्थापनाका लागि संघर्ष गर्ने हाम्रो पार्टीका नेता, कार्यकर्ता, विभिन्न दल र संघ संस्थालाई पनि पार्टीको तर्फबाट म अभिनन्दन गर्छु ।

अब बस्ने संसद बैठकबाट संसद पुनर्स्थापनाका लागि संघर्ष गरेका राजनीतिक शक्तिहरुले सरकार बनाउनेछन् । हामीले तिनिहरुलाई समर्थन गर्छौं । अझै पनि नेकपा औपचारिक रुपमा फुटेको छैन । ओलीलाई हटाएर नेकपाले आफ्नै पार्टीको सरकार बनाउने कुरालाई प्राथमिकता दिनुपर्छ । एउटै पार्टीको सरकार बने त्यो सबैभन्दा राम्रो हुन्छ । यदी त्यसो हुन सकेन भनेपनि प्रतिगमनविरुद्ध विरुद्ध आन्दोलन गर्ने दलहरुको सरकार बन्नुपर्छ । प्रतिनिधि सभामा हाम्रो पार्टीको एक जनामात्रै सांसद हुनुहुन्छ । सरकार बनाउने विषयमा हाम्रो निर्णायक मत हुँदैन । तैपनि प्रतिगमनका विरुद्ध लोकतन्त्र पक्षधर शक्तिहरुलाई समर्थन गर्ने हाम्रो नीति रहन्छ ।

अब फेरि पनि मुलुकमा राजनीतिक अस्थिरता आउने सम्भावना देखियो नि ?
जनताले राजनीतिक अस्थिरता भयो, देशमा विकास भएन, जनताले दःख पाए भनेर नेकपालाई करिब दुई तिहाई बहुमत दिएर पठाए । त्यो जनमतलाई ओलीले क्षतविक्षत पारे । आफ्नो पार्टीको विवाद समाधान गर्न नसकेर संसदमाथि आक्रमण गरे । उनले गरेको प्रतिगामी कदम सच्याउन दुई महिना भन्दा बढी समय लाग्यो ।

नेपाली राजनीतिक दलहरुमा इमान र नैतिकताको राजनीति गर्ने चलन छैन । राजनीतिक सिद्धान्त र इमानको भन्दा पनि दलबदल, तानातान गर्ने, भ्रष्टाचार र अनियमिताको संरक्षण गर्ने काम हुँदै आइरहेको छ । अहिले ओलीले सत्ताको आडमा राष्ट्रको ढुकुटी निम्त्याएर सांसदहरु किन्ने, पैसा वा पद रोज भन्ने गरिरहेका छन् । राजनीतिको यस्तो घृणित खेलले जनतामा वितृष्णा पैदा भएको छ । जनताका लागि गर्नसक्ने सामान्य सुधारका कामसमेत यिनीहरुले गरेनन् । आपसी खिचातानी र विादमै समय खर्च गरिरहेका छन् । अब फेरि पनि राजनीतिक अस्थिरता आउने र हिजोकै विकृति दोहोरिने अवस्था सिर्जना भएको छ । त्यसका विरुद्ध जनता सचेत हुनुपर्छ । खबरदारी गर्नुपर्छ । जनमतलाई गलत ढंगले दुरुपयोग गर्नेहरुलाई जनताले सजाय दिन सक्नुपर्छ ।

प्रचण्डले त अब ‘कम्फर्टेवल’ राजनीतिक समिकरण बनाउने भनेका छन्, त्यसको अर्थ के हो ?
नेपालको राजनीतिमा भारतीय र अमेरिकी साम्राज्यादीलाई खुशी नपारीकन सत्ता र शक्तिमा जान सकिँदैन भन्ने छ । त्यसकारण सत्ताधारीहरु जहिल्यै पनि सत्तामा जान वा त्यहाँ टिक्न साम्राज्यवादीहरुलाई खुशी पार्ने प्रयास गर्छन्, उनीहरुको दलाली, चाकडी गर्छन् । यो क्रम २००७ सालदेखि नै चल्दै आएको छ । त्यसकारण उनीहरुले पनि यहाँका दलहरुलाई लडाएर, भिडाएर वा जनताका बिचमा फुट पारेर नेपालका सरकारलाई आफू अनुकुल काम गर्ने बनाइरहेका छन् ।

अहिले प्रचण्डले पनि आफूहरु, कांग्रेस र मधेशवादी दल मिल्दा भारतलाई कन्फर्टेवल हुने बताइरहेका छन् । यो साम्राज्यवादीलाई ‘मलाई समर्थन गर, तिम्रो लागि काम गर्छु’ भन्ने सन्देश हो ।
राजनीतिक दलहरुले देशका लागि होइन, जनताका लागि होइन, अर्कैका लागि दलाली गर्ने र उनीहरुको अनुकुलमा काम गरेर भएपनि सत्तामा बस्न चाहन्छन् । प्रचण्डको त विगतको इतिहासम पनि राम्रो छैन । उनले दोस्रो पटक प्रधानमन्त्री हुँदा भारतलाई खुशी पार्न ५ नं प्रदेशलाई पहाडबाट तराई अलग गर्ने गरी प्रस्ताव ल्याए । त्यो अखण्ड नेपालका विरुद्धको जनताविरुद्धको प्रस्ताव थियो । त्यसका विरुद्ध जनताले संघर्ष गर्नुपयर्यो । संघीयता यो देशका लागि ठिक छैन भनेर हामीले भन्दै आइरहेका छौं । झन् उनीहरुले जातीय संघीयता कायम गर्ने, तराई र पहाडलाई अलग गर्ने, नागरिकतालाई खुकुलो बनाउने जस्ता राष्ट्रविरोधी प्रयत्न गर्दै आइरहेका छन् । त्यो केवल सत्तामा पुग्न र टिक्नका लागि हो । अहिले पनि त्यस्तै खालको भारतको हित अनुकुल काम गर्ने सन्देश दिएका छन् ।

अझ यहाँ अमेरिकी साम्राज्यवादलाई पनि खुशी नबनाइकन सत्तामा जान पाईंदैन भन्ने छ । त्यसको लागि अहिलेदेखि नै एमसीसी पारित गर्छु भन्न थालेका छन् । एमसीसी परियोजना नेपालमा लागू भयो भने नेपाल अमेरिकी साम्राज्यादी सेनाको परेड खेल्ने स्थल हुनेछ । यस्तो खतरनाक विषयमा समेत दलहरु आँखा चिम्लिएर साम्राज्यादीको दलाली गरिरहेका छन् ।

सरकार र विप्लवबीच भएको सहमतिलाई राष्ट्रिय जनमोर्चाले कुन रुपमा लिएको छ ?
विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सकारात्मक हो । त्यसलाई हाम्रो पार्टीले स्वागत गर्दछ । उनीहरुले जुन उग्र गतिविधि गरिरहेका थिए, त्यो गलत थियो । अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा नेपालमा सशस्त्र संघर्ष गर्ने अवस्था छैन ।

हामीले २०२८ सालमा तत्कालिन झापाली समूहले गरेको उग्र गतिविधि पनि देख्यौं । २०५१ सालदेखि माओवादीलको हिंसात्मक गतिविधि पनि देख्यौं । संसदीय व्यवस्था खत्तम पार्न भनेर हिँडेका माओवादीहरु अहिले यही संसदीय आहालमा डुबुल्की लगाइरहेका छन् । त्यति ठूलो संख्यामा भौतिक सम्पत्तिमाथि क्षति गरेर, हजारौं निहत्था नागरिकको हत्या गरेर उनीहरु फेरि यही संसदभित्र आईपुगे । प्रचण्ड–बाबुरामले छोडेको उग्र गतिविधिलाई विप्लवले निरन्तरता दिन खोजेका थिए । तर अहिलेको परिस्थितिमा त्यो सफ हुने सम्भावना थिएन त्यसकारण छिट्टै सरकारसँग वार्ता गरेर शान्तिपूर्ण राजनीतिक गतिविधि गर्ने सहमति गरेका छन्, त्यो स्वागतयोग्य कदम हो ।

हामीले जनताको हित गर्ने नयाँ जनवादी व्यवस्था स्थापनाका लागि संघर्ष गर्छौं । संघर्षका विभिन्न रुपहरु हुन्छन् । कहिले शान्तिपूर्ण र कहिले सशस्त्र संघर्ष गर्नुपर्छ । तर, समय र परिस्थिति नहेरि गरिने उग्र गतिविधिबाट देश र जनताले उपलब्धि होइन, क्षति ब्यहोर्नुपर्ने हुन्छ । समय र परिस्थिति नहेरी हुने उग्र गतिविधिको हामी विरोध गर्छौं ।

अन्तमा केही भन्नुहुन्छ कि ?
जनताले निकै भरोसा गरेर दुई तिहाई मत दिएर पठाएको नेकपाले एकलौटी सरकार संचालन नगरेर अहिले जुन जात्रा देखाइरहेको छ, यो गलत छ । यद्यपी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट होइन, तैपनि हँसिया र हथौडाको झण्डा देखाएर उसले जनतामा गएर कम्युनिष्ट जनमत आफ्नो पक्षमा पार्न सफल भयो, जनताले भरोसा गरेर मत दिए । उनीहरुले जनमतको अपमान गरेर अहिले दुनियाँ हसाईंरहेका छन् । फेरि पनि नेकपा एक हुँदा र उनीहरुको एकलौटी सरकार बन्दा नै देशमा स्थिरता कायम हुन्छ र लोकतन्त्रान्त्रिक व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा हुनुका साथै राष्ट्रियताको पनि केही हदसम्म रक्षा हुनसक्छ भन्ने हाम्रो धारणा छ । सत्ताको खिचातानी र र राजनीतिक अस्थिरता एवम् हिजोकै संसदीय व्यवस्थाका फोहोरी खेलहरु फेरि दोहोरिने खतरा बढ्नेछ ।

जनताले गलत कामको विरोध र भण्डाफोर गर्नुपर्छ । गलत गर्नेहरुलाई सजाय दिनुपर्छ । अहिलेसम्म यो देश शासकहरुले होइन, जनताले नै बचाएको हो । जनता जहिल्यै पनि सचेत र चनाखो हुनुपर्छ । हामीले त्यसको लागि जनतालाई सचेत र संगठित पार्न निरन्तर प्रयास गरिरहन आवश्यक छ ।युगदर्शन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal