शनिबार, मंसिर १७, २०७९

म एमालेको होलि होइन :दुर्गा प्रसांइ

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले आफू पार्टीको हली र झोला बोकेर हिँड्ने कार्यकर्ता नभएको बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन एमालेको कार्यकर्ता भएर चुनावमा नहिँड्ने उनले बताए ।

लोकतन्त्र विरोधी र राजावादीकाे पुच्छर लागेर हिँड्ने राप्रपासँग एमालेले सहकार्य गरेर गलत गरेको उनकाे भनाइ छ । शिलापत्रसँग प्रसाईंले भने, ‘म अहिले एमालेको झोला बोकेर हिँड्ने कार्यकर्ता होइन । अहिले एमालेको शुभचिन्तक मात्र हाे ।’

झापा–३ मा लिङ्देनलाई जिताउनका लागि भाेट माग्दै हिँड्न आफूलाई नैतिकताले नदिने पनि उनले बताए । उनले भने ‘मलाई एमालेले कारबाही गर्छ भन्ने डर छैन । मैले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि प्रष्ट भनेको छु । मलाई राजावादीलाई अँगाल्ने पार्टीसँग सहकार्य गरेको मन परेको छैन । त्यही भएर म अहिले एमालेको शुभचिन्तक मात्र हुँ ।’

उनले अगाडि भने, ‘लोकतन्त्र विरोधी पार्टीसँग एमालेले कसरी गठबन्धन गर्‍यो । यो नै अचम्म र प्रश्नको विषय बनेको छ । जसका कारण एमालेलाई ठूलो असर पर्दैछ ।’

प्रसाईंलाई एमालेले झापा–३ मा टिकट दिने आश्वासन दिएकाे थियाे । उनीसँग गरिएकाे संवाद:

तपाईं चुनावको मुखमा किन मौन ?

मलाई राप्रपासँग एमालेले गठबन्धन गरेको मन परेन । एमाले भएर राजावादी पार्टीको झण्डा बोकेर हिँड्ने राप्रपालाई भोट नमाग्ने भएर चुपचाप बसेको हुँ । म अहिले केही बोल्दिनँ तर, समयमा आएपछि राप्रपासँग गठबन्धन गर्दाको असर बताउँछु ।

एमालेले आधिकारिक रूपमा गरेको गठबन्धन दल राप्रपालाई भोट हाल्नु हुन्छ ?

म झापामा राप्रपालाई भोट माग्दै हिँड्दिनँ । अहिले मात्र होइन गठबन्धन भएदेखि नै भन्दै आएको छु । मलाई जोसुकैले कारबाही गरोस् मतलब छैन । त्यही भएर कसले के गर्छ भन्ने कुराको प्रवाह छैन । तर, राप्रपालाई चाहिँ भोट हाल्दिनँ ।

त्यसाे भए एमालेका बागी उम्मेदवार डम्बर गिरीलाई सहयोग हाे ?

यो मेरो व्यक्तिगत विषय हो । म राप्रपासँगको गठबन्धन नरुचाएपछि जसलाई नि भोट माग्न सक्छु । यो लोकतन्त्रमा व्यक्तिकाे स्वतन्त्र अधिकार हो । बागी उम्मेदवारका विषममा धेरै नबोलौँ । उहाँ पनि एमाले झापा–३ जहिले अरु पार्टीको दास नहोस् भनेर बागी उठनुभएको हो । मलाई यति मात्र थाहा छ ।

राप्रपासँग गठबन्धनपछि एमालेमा यति धेरै विवाद किन ?

यो विषयमा मैले बोल्नुपर्छ । सबै देख्नुभएकै होला, कहाँ के भइरहेको छ भनेर । टिकट वितरणमा विवाद भएपछि त कोही बागी उठे र कसैले पार्टी छाडेर अर्को पार्टीमा गएर उम्मेदवार बने होला । यो पनि त पार्टीभित्र असन्तुष्ट नै होला । यसलाई के भन्छ तपाईं नै बुझ्नुहोस् ।सिलापत्रबाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?