शनिबार, साउन १२, २०८१

पेट्रोलियम पदार्थको मुल्य तुरुन्तै घटाउन अखिल छैठौंको: माग

काठमाडौं । अखिल (छैठौं) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अध्यक्ष देवेन्द्र कुँवरले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो ।

सरकारले हालै पेट्रोल, डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ मूल्य बढाएको छ । अखिल (छैठौं) ले पटक पटक के कारणले मूल्यवृद्धि हुन्छ भन्ने प्रश्न गर्दै पेट्रोलियम पदार्थको विकल्प खोज्नसमेत माग गरेको छ ।

साथै, कोरोना संक्रमणले आक्रान्त भएको अवस्थामा गरिएको मूल्यवृद्धिले जनजीवनलाई थप कष्टकर बनाएको भन्दै निगमका भण्डाफोर गर्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल आयल निगमद्वारा जनताको ढाड सेक्ने गरी गरिएको मूल्यवृद्धिप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । निगमले मट्टीतेल, डिजेल र पेट्रोलमा ३÷३ रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । कोरोनाले आक्रान्त बनिरहेको जटिल परिस्थितिमा आयल निगमले गरेको मूल्यवृद्धिले जनजीवनलाई झनै कष्टकर बनाएको छ ।

प्रायः आम सर्वसाधारणको ध्यान अन्त मोडिएको बेलामा आयल निगमले मूल्यवृद्धि गर्ने गरेको छ । आयल निगमको यो कुनियतको भण्डाफोर गर्न हामी आम विद्यार्थी र सर्वसाधारणलाई अपिल गर्दछौं ।

नेपाल आयल निगमले पटक पटक गरेको मूल्यवृद्धिप्रति राज्यले ध्यान नै नदिनु र राज्य उदाशिन बन्नुले सरकार जनताप्रति जवाफदेही छैन भन्ने कुराको पुष्टी हुन्छ । पटक पटक के कारणले मूल्यवृद्धि हन्छ ?

यसको कारण खोज्न र नेपाल सरकारलाई पेट्रोलियम पदार्थको विकल्पको बारेमा सोंच्न समेत ध्यानाकर्षण गराउँदै अहिले गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal