मङ्लबार, फाल्गुन ५, २०८२

साम्राज्यवादको जुठोपुरो खाएकाहरुमात्र एमसिसिको पक्षमा छन : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साम्राज्यवादी शक्तिलाई ‘कागजी बाघ’ को संज्ञा दिनुभएको छ ।

एमसीसी खारेजीको माग गर्दै बुधबार काठमाडौंमा आयोजित संयुक्त विरोध सभालाई सम्बोधन गर्दै केसीले अमेरिकी साम्राज्यवादले नेपालमा एमसीसी जसरी पनि थोपर्न खोजेको बताउनुभयो ।

उहाँले साम्राज्यवादको जुठो खाएका केही बुद्धिजीवीहरु एमसीसी नभए देशको विकासै हुँदैन भनिरहेको आरोप पनि लगाउनुभयो ।

‘अमेरिकी साम्राज्यवादको जुठोपुरो खाएका केही बुद्धिजीवीहरु एमसीसी नभइ हुँदैन भनिरहेका छन् । एमसीसी स्वीकार नगरे विदेशीले नेपाललाई पत्याउँदैनन् भन्दैछन्’ केसीले भन्नुभयो, ‘अरु देशले दिएर नेपाल धनी हुने भए किन दैनिक दुई हजार नेपाली देश छोडेर अर्कैको मुलुकमा जानुपर्थ्यो ? किन नेपालीले दुःख पाउनुपर्थ्यो ?’

अध्यक्ष केसीले अमेरिकाले नेपाललाई जसरी पनि एमसीसी भिडाउन चाहेको बताउनुभयो । त्यसको लागि शासकहरुलाई विभिन्न लोभ लालच देखाएको उहाँको भनाई थियो ।

‘अमेरिकाले नेपालबाट चीन घेर्ने रणनीति अन्तर्गत नेपालमा एमसीसी लागू गर्न खोजेको हो । नेपाललाई एमसीसी नभिराईकन उसलाई भएकै छैन’ केसीले भन्नुभयो, ‘साम्राज्यवादी भनेका काजगी बाघ हुन् । उनीहरुविरुद्ध देशभक्त नेपाली जनता एक ठाउँमा उभिन आवश्यक छ ।’

केसीले एमसीसीविरुद्धको सहकार्यलाई थप बढाउँदै एमसीसी खारेज गर्नुपर्ने दृढता व्यक्त गर्नुभयो ।

नेकपा (मसाल) बागमती प्रदेश प्रवक्ता समीर सिंहले राष्ट्रिय स्वाधीनताको लागि सधैँ सडकमा आउनु परेको छ भन्दै देशको निर्णायक शक्ति जनता हो र यो शक्ति ले नै परिवर्तन हुने छ भन्नुभयो ।

‘नेपाली जनता नै परिवर्तनकारी हो । नेपाली जनता कसरी उठ्छ र हामीले कसरी उठाउन सकिन्छ त्यसमा भर पर्दछ’ उहाँले भन्नुभयो, ‘हामीलाई विश्वास छ नेपाली जनताको क्रान्तिकारी पनमा । हाम्रो संविधान भन्दा एमसीसीको कानुन माथी हुने कुरा हामीलाई सह्य छैन ।’

उहाँले एमसीसीविरुद्धको आन्दोलनमा केही राजावादीसमेत घुसपैठ गरेर आन्दोलनलाई राजा फर्काउन सकिन्छ कि भनेर कल्पना गरेको बताउनुभयो ।

विरोध सभामा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा, नेकपा (क्रान्तिकारी माओवादी) का पीवीएम दिनेश शर्मा, नेकपाका नेता मिलन, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा राजमो उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्टको समेत आतिथ्यता रहेको थियो ।

बुधबार नेकपा (मसाल) रारष्ट्रिय जनमोर्चासहित विभिन्न ६ राजनीतिक दल र दुई मोर्चाले देशब्यापी एमीसीविरुद्ध कार्यक्रम गरेका छन् । त्यसक्रममा काठमाडौंमा जुलुशसहित संसद भवन घेराउ गरिएको थियो भने देशैभर संयुक्त सभाहरु सम्पन्न भएका छन। ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal