बिहिबार, बैशाख ६, २०८१

याक एन्ड यति होटलले कर बुझाएको भन्दै सरकारले लाइसेन्स खारेज गर्यो

 

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले याक एन्ड यति होटलको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गरिदिएको छ। पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले विज्ञप्ति जारी गर्दै याक एन्ड यति होटलको स्तर वर्गीकरण प्रमाणपत्रसमेत रद्द गरेको जानकारी दिएका छन्।

पटक-पटक सूचना जारी गर्दासमेत होटलले इजाजत नवीकरण दस्तुर र रोयल्टी नबुझाएको विभागको आरोप छ। विभागका अनुसार याक एन्ड यति होटलले ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैँया नेपाल सरकारलाई तिर्न बाँकी रहेको छ।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०४८-०९-२२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेकोमा नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुरलगायतको रकम कानुनबमोजिम होटलले दाखिला नगरेका कारण क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम त्यस होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने र होटलको पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय भएको र होटल तथा क्यासिनो सञ्चालन नगर्न नगराउन हुनसमेत सूचीत गरिन्छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ। अन्नपूर्ण पोस्ट बाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?