शुक्रबार, चैत्र १६, २०८०

अमेरिकाले दिएको धम्की आपत्तिजनक :राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालमा एमसीसी लागू गराउन अमेरिकाले दिएको धम्कीप्रति आपत्ति जनाएको छ । अमेरिकाले दिएको धम्कीबाट नेपालमा लाद्न खोजेको एमसीसी चीनविरुद्ध रहेको प्रष्ट भएको पनि राजमोले जनाएको छ ।

अमेरिकाको उक्त धम्कीबाट एमसीसी गलत छ र त्यो नेपालको सार्वभौमसत्ता तथा अखण्डताका विरुद्ध छ भन्ने कुरा थप पुष्टि भएको राजमोको ठहर छ ।

अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक वक्तव्य प्रकाशित गरी सम्झौतालाई पारित गराउन अमेरिकाले नेपालमाथि दबाब बढाएर लगेको छ र धम्कीको सहारा लिएको भन्दै अमेरिकाले दिएको धम्कीका विरुद्ध उत्रिन सम्पूर्ण देशभक्त शक्तिहरुलाई अपिल पनि गर्नुभएको छ ।

यस्तो छ, प्रेस वक्तव्य
अमेरिकी सरकारका सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका प्रधानमन्त्री, विपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर फागुन २६ गतेको समय सीमाभित्र एमसीसी संसदद्वारा पारित नगरिएमा नेपालबारे अमेरिकी नीतिमा पुनर्विचार गर्ने तथा नेपाल चिनियाँ प्रभावमा गएको अर्थमा त्यसलाई बुझिने छ भनेर दिएकोे धम्कीप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त टेलिफोन संवाद कूटनीतिक मर्यादा र सीमाअन्तर्गतको नभएर त्यसलाई नाघेर अमेरिकाले नेपाललाई दिइएको धम्की नै हो । नेपालका विरुद्ध अमेरिकाको उक्त कार्यको हामी घोर विरोध तथा भत्र्सना गर्दछौँ । अमेरिकाको उक्त धम्कीबाट एमसिसी गलत छ र त्यो नेपालको सार्वभौमसत्ता तथा अखण्डताका विरुद्ध छ भन्ने कुरा थप पुष्टि भएको छ । त्यसका साथै अमेरिकाले नेपालमाथि लाद्न खोजेको एमसिसी परियोजना चीनका विरुद्ध रहेको पनि यो धम्कीबाट झन् प्रष्ट भएको छ ।

कुनै पनि मुलुकले दिने सहायता, सहयोग वा अनुदान लिन वा नलिन नेपाल स्वतन्त्र छ । आफ्नो मुलुक अहित हुने विकास परियोजनालाई अस्वीकार गर्दा त्यो विकास परियोजना लिन कुनै पनि मुलुकले नेपाल बाध्य पार्न वा धम्क्याउन मिल्दैन । अझ त्यसमा पनि एमसीसी परियोजना चीनलाई एकल्याउने उद्देश्येले अमेरिकाले चीनका विरुद्ध निर्माण गरेको हिन्द प्रशान्त सैन्य रणनीति अंग हो । नेपाल अमेरिकाको पक्ष लिएर चीनका विरुद्द वा चीनको पक्ष लिएर अमेरिकाको धुरीमा संलग्न हुने मुलुक होइन ।

नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने असंलग्न परराष्ट्र नीति भएको मुलुक हो । तसर्थ हाम्रो दलसहितका देशभक्त शक्तिहरुले एमसिसी सम्झौताको खारेजीका लागि लगातार संघर्ष गर्दै आएको छ । त्यो संघर्षको परिणाम नै सरकारलाई यो सम्झौतालाई अगाडि बढाउन समस्या परिरहेको छ । सम्झौतालाई पारित गराउन अमेरिकाले नेपालमाथि दबाब बढाएर लगेको छ । त्यसैको परिणाम नै एमसीसी सम्झौता पारित गराउन अमेरिकाले नेपालका विरुद्ध धम्कीको सहारा लिएको छ । अमेरिकाले दिएको धम्कीका विरुद्ध उत्रिन पनि हामी सम्पूर्ण देशभक्त शक्तिहरुलाई अपिल पनि गर्दछौँ ।

मितिः २०७८ माघ २९
चित्रबहादुर केसी
अध्यक्ष

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal