बिहिबार, बैशाख ६, २०८१

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी,आफ्नो टिम सहित निर्वाचन आयोगमा

 

काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय निर्वाचनमा पार्टीको निर्वाचन चिन्ह प्रयोग गर्न नदिने षडयन्त्रको विरोध गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा राजमो नेताहरुले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी आयोगको सो निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

सोमबार निर्वाचन आयोग पुगेको राजमो प्रतिनिधिमण्डलले  स्थानीय निर्वाचनमा दललाई सम्बन्धित दलको चुनाव चिन्ह प्रयोग गर्न दिनुपर्ने माग गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलको चुनाव चिन्ह खोस्न नमिल्ने राजमोले जनाएको छ ।

आयोगले आगामी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त दलबाहेकका दललाई सम्बन्धित दलको चुनाव चिन्ह प्रयोग गर्न नदिने बताएको छ । आयोगको सो हर्कतलाई राजमोले केही दलको ‘दलीय सिण्डिकेट’ भन्दै विरोध गरेको छ ।

‘पश्चिमाहरुको षडयन्त्रमा नेपालमा दुईदलीय व्यवस्था लाद्न खोजिएको छ । स्थानीय निर्वाचनमा पार्टीलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिनु भनेको दलीय सिण्डिकेट हो’ महासचिव मनोज भट्टले युगदर्शनसँग भन्नुभयो, ‘यो षडयन्त्रको विरोध गर्न हामी निर्वाचन आयोग गएका हौँ ।’

सो प्रतिनिधिमण्डलमा राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्षद्वय जनकराज शर्मा र दुर्गा पौडेल, महासचिव भट्ट, सचिव हिमलाल पुरी, राष्ट्रिय सभा सदस्य राजेश विक र अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका सहभागी हुनुहुन्छ ।

राष्ट्रिय मान्यताप्राप्त दलबाहेकलाई स्थानीय निर्वाचनमा सम्बन्धित दलको चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णयको चौतर्फी विरोध भएको छ । राष्ट्रिय मान्यता प्राप्त दल हुन प्रतिनिधि सभामा प्रत्यक्षततर्फ कम्तिमा एक सिट र समानुपातिकमा तीन प्रतिशत मत ल्याएको हुनुपर्छ ।युगदर्सन बाट।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?