
कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।
गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।
बयानको क्रममा पुरुषले जबर्जस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए ।
विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए । उक्त दिनको भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन् भने पछि हामीहरू फर्किएका हौँ उनले अदालतमा बयान दिएका छन् ।
सुरूमा जबर्जस्ती करणी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन् ।
सहमतिमा यौन सम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको अदालतको ठहर छ । युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई सफाइ दिएको छ । नेपाल प्रेस बाट