बिहिबार, बैशाख ६, २०८१

गौमुखीको अध्यक्षमा न्यौपानेको चर्चा

सरोज न्यौपाने

स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा भावी उमेदवारहरूको चर्चा चुलिंदै गएको छ । प्यूठानको उत्तरी क्षेत्रमा पर्ने गौमुखी गाउँपालिकाको आगामी निर्वाचनका लागि दलहरूले आफ्ना गतिविधिलाई चुनाव केन्द्रित बनाउँदै तयारीलाई तिब्रताका साथ अगाडि बढाइरहेका छन् । चुनावी तयारी अन्तर्गत गाउँपालिका अध्यक्षका सम्भावित अनुहारबारे पनि समुदाय स्तरमा चर्चा सुरु भएको छ ।
राजनैतिक रूपमा विशिष्ट इतिहास बोकेको यो क्षेत्र मतदाताहरूको राजनैतिक चेतना स्तरका हिसाबले पनि विशेष मानिन्छ । व्यक्तिगत छवि र राजनैतिक प्रभावका हिसाबले पनि यस पालिका अन्तर्गतका उमेदवारहरूको उचाइ केन्द्रीय राजनीतिमा पहुँच राख्न सक्ने खालको छ । यही मध्यको एउटा नाम हो-ज्ञामुराम न्यौपाने !
२०२७ साल बैशाख १७ गते तत्कालीन बाग्लुङ जिल्लाको पुजा गाविस वार्ड नम्बर ९ अखटेङ्गमा जन्मनुभएका न्यौपाने परिवारसँगै ०४९ सालमा बसाइँ सरेर साविकको खुङ गाविस अन्तर्गत पर्ने ठूलावेसीमा झर्नुभयो । ठूलावेसीमा झरेपछि बुवाले सुरु गरेको व्यापार व्यवसायका साथसाथै सामाजिक तथा राजनीतिक गतिविधिहरूमा सक्रिय रहुँदै आउनुभयो । स्थानीय स्तरमा दर्जनौं उपभोक्ता समिति, राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति, नेकपा (मसाल) जिल्ला प्रवक्ता, जिल्ला उद्योग वाणिज्य संघको प्रभावसाली अध्यक्ष जस्ता जिल्लाका महत्वपूर्ण जिम्मेवारी निर्भीकतापूर्वक एवम् कुशलतापूर्वक सम्पन्न गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, अखिल नेपाल व्यापार संघका विभिन्न समितिका विभिन्न भूमिकामा रहेर केन्द्रीय स्तरमा पनि आफूलाई कुशल नेतृत्वका रूपमा स्थापित गराइसक्नु भएको छ । यसबाट पनि उहाँ एक असल र सफल नेतृत्व भएको पुष्टि हुन्छ ।
उहाँको जीवनको आधा उमेर गौमुखी क्षेत्रको उन्नयन र यहाँका जनताको सेवामा खर्च भएको कुरा सर्वविदितै छ । र, बाँकी सक्रिय जीवन पनि राजनीति मार्फत समाजसेवामा समर्पण गर्ने उहाँको चाहाना छ । जनसरोकारका हरेक विषयमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै आफूलाई सामाजिक कार्यकर्ताको रूपमा स्थापित नै गराउनुभएको छ । उच्च नैतिकता, स्पष्ट दृष्टिकोण र भिजन, विचार र दर्शनप्रतिको निष्ठा, कठोर व्यक्तिगत अनुशासन, मितव्ययी तथा सरल जीवनशैली, जीवनको आदर्श, समाजसेवा र परोपकारप्रतिको समर्पण, समुदायसँगको सुमधुर सम्बन्ध, दुरदर्शिता, कुशल नेतृत्वशैली, भरोसायोग्य व्यक्तित्व, धैर्यता, दृढता, अडान जस्ता थुप्रै विशेषता उहाँमा पाइन्छ । केन्द्रीय राजनीतिमा योग्यता राख्ने न्यौपानेले जिल्लाकै विकट मानिने आफ्नो गाउँलाई विकसित गर्ने र यहाँका जनताको जीवन स्तर उकास्ने सोंचका साथ समुदायकाबीचमा रहँदै आउनुभएको छ । सुशासन सहितको समृद्ध र गौरव गर्न लायक नमुना गाउँपालिका निर्माण गर्ने आफ्नो मुख्य योजना र कार्यभार रहेको बताउनुहुन्छ । स्थानीय स्तरमा लोकप्रिय र केन्द्रीय राजनीतिमा समेत बलियो प्रभाव छाड्न सफल उहाँलाई गौमुखी सरकारको नयाँ नेतृत्वको हैसियतमा देख्न यहाँका जनता लालायित छन् !
स्थानीय जनताका निजी मामिला सुल्झाउनेदेखि समुदायका साझा सरोकारका क्षेत्रमा सक्रिय रहेर काम गर्दै आउनुभएकोले पनि उहाँको चर्चा विशेष हुनेगर्छ । खोज्दै जाने हो भने उहाँले गरेका महत्वपूर्ण सामाजिक कामको लामो फेहरिस्त नै भेटिन्छ । ०७३ सालमा प्रचण्ड-देउवा संयुक्त सरकारले सिमांकन हेरफेरका नाममा प्रदेश ५ लाई ( रोल्पा, प्यूठान र गुल्मीलाई अलग्याउने) बिभाजन गर्नेगरी षड्यन्त्रपूर्वक ल्याइएको संविधान संसोधनको प्रस्तावलाई विफल तुल्याउँदै अखण्ड प्रदेश कायम राख्न तत्कालीन प्यूठान उद्योग वाणिज्य संघको अध्यक्षको हैसियतमा ऐतिहासिक समन्वय र अगुवाई गर्नुभएको थियो । प्यूठान उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा दाङ जिल्लाले प्यूठानबाट वार्षिक रूपमा दुई करोड भन्दा बढी उठाउँदै आएको गैरकानुनी कर असुली रोक्नेदेखि उपराष्टपति नन्दकिशोर पुनको उपस्थितिमा प्यूठान महोत्सवलाई २५ लाख बराबर नाफामा लगेर नाफाबाट प्राप्त रकमले प्यूठानको मुटु मानिने बिजुवारमा सहिद पार्क निर्माण कार्य उहाँकै नेतृत्वमा अन्तिम चरणमा पुगेको छ ! २०५५ देखि २०६१ सालसम्म उपभोक्त समितिको नेतृत्व गरेर प्यूठानको बाग्दुलादेखि मच्छी, ठूलाबेसीहुँदै अर्खासम्मको सडक बिस्तार गर्न उहाँले विशेष योगदान पुर्‍याउनु भएको थियो । चेतनाको केन्द्र मानिने विद्यालाय स्थापना र विद्यालयहरूको भौतिक तथा शैक्षिक स्तर वृद्धि उहाँका विशेष प्रथामिकताका क्षेत्र हुन् ! ठूलाबेसीको गौमुखी मावि, लैसाराको जनज्योति विद्यालयदेखि खुङको सुकखोला विद्यालयलाई निशुल्क जग्गा उपलब्ध गराउनु भएको छ भने त्यही परिमाणमा आर्थिक सहयोग प्रदान गर्दै आउनुभएको छ । हालसालै गौमुखी गाउँपालिका भित्र क्याम्पस स्थापनाकाबारे अध्यन गर्न बनेको कार्यदलको संयोजक रहेर क्याम्पस स्थापना सम्भव रहेको निष्कर्ष सहितको अध्यन प्रतिबेदन पालिकालाई बुझाउनु भएको छ । शिक्षा क्षेत्रका साथसाथै स्वास्थ्य क्षेत्रमा पनि उहाँको योगदान प्रशंसनीय छ । उहाँकै नेतृत्वमा पुजाको मस्टथानमा स्वास्थ्य इकाई स्थापना भएको छ । खुङ हेल्थ पोस्टका लागि आवश्यक जग्गा उपलब्ध गराउनुभएको छ ।

स्व:अध्यनमा रुचि राख्ने न्यौपानेले आफ्नो औपचारिक अध्यन काठमाडौं स्थित पशुपति क्याम्पसबाट गर्नुभएको थियो । उहाँले भारत, चीन, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्डस्, स्विटजरल्यान्ड, इटाली, थाइल्यान्ड जस्ता विकसित देशहरूको अध्यन भ्रमण गरिसक्नुभएको छ ।
उहाँको राजनैतिक पृष्ठभूमी, क्रियासीलता र आवद्धता नेकपा (मसाल) तथा राष्ट्रिय जनमोर्चा निकट हो । उहाँले तल्लो कमिटीमा रहेर काम गर्नेदेखि अहिले पार्टीको जिल्ला प्रवक्ताको भूमिकामा हुनुहुन्छ । नेकपा मसालको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाको जिल्ला समितिमा रहेर जिम्मेवारी सम्हालिसक्नुभएको छ । व्यावसायिक सांगठनिक नेतृत्वमा पनि उहाँको जिम्मेवारी केन्द्रीय तहमा छ । अखिल नेपाल उद्योग व्यापार संघको उपाध्यक्षमा रहेर काम गरिसक्नुभएको छ । उहाँ एक सफल व्यावसायिक व्यक्तित्व पनि हुनुहुन्छ । उहाँले सामाजिक, राजनैतिक जिम्मेवारीका साथै आफ्नै पौरखमा, आफ्नै जीवनकालमा लोभलाग्दो व्यावसायिक सफलता पनि हात पार्नुभयो । उहाँले प्राप्त गरेको व्यावसायिक सफलता र आत्मनिर्भरता धेरैका लागि प्रेरणाको श्रोत बन्नसक्छ !

राजनैतिक उचाइ, योग्यता तथा वरियताका हिसाबले प्रदेश र केन्द्रको सांसद बन्नसक्ने हैसियत बनाएका न्यौपाने किन पालिकाको चुनाव लड्दैछन् ? सांसदको फुलि लाएर सरकारी गाडीमा हुँइकिन छाडेर किन गाउँ उक्लन खोज्दैछन् ? धेरैको चासोको विषय हो यो । यसबारे उहाँलाई सोध्ने हो भने उहाँ स्वयं अझै बिना कुनै महत्वाकांक्षी यथास्थितिमा गाउँ सेवामा लाग्न चाहेको बताउँछन् । सांसद बन्ने वा गाउँ सरकार प्रमुख बनेर लाभको पद धारण गरेर अकुत सम्पत्ति थुपार्ने, रवाफ देखाउने न त उनको स्वभाव छ न कुनै महत्वाकांक्षा ! उनी राजनीति मार्फत समाजसेवाका लागि र स्थानीय जनताको अपेक्षालाई पुरा गर्न एकपटक गाउँ सरकारको निर्णायक ठाउँमा पुग्ने चाहाना राख्छन् ।
चर्चा कै कुरा गर्ने हो भने अघिल्लो निर्वाचनमै गाउँपालिका अध्यक्षको उमेदवार न्यौपाने नै हुन् भन्ने धेरैको अनुमान् थियो, तर, त्यसो हुन सकेन । यसपटक भने गौमुखीले ज्ञामुराम न्यौपानेको नेतृत्वमा नयाँ सरकार पाउने छ, जसले सुशासन सहितको समृद्ध गाउँपालिका निर्माण गर्ने र विकट मानिएको पालिकालाई जिल्ला र केन्द्रसम्म जोड्ने ऐतिहासिक दायित्व पुरा गर्नेछ !
गौमुखी गाउँपालिकाको चुनाव लड्न बाग्दूला, बिजुवार, खलङ्गाबाट पनि पाहुना उम्मेवारहरु जाने गरेको तितो अनुभव र गाउँबासीमा पाइन्छ । बाहिरबाट आउने पाहुना उम्मेदवार भन्दा रैथाने उम्मेदवार नै स्वभाविक रूपमा बढी व्यावहारिक र भरपर्दो हुने गर्छन् । पाहुना उम्मेदवार बनेर आएकाहरू गाउँपालिकामा टिकेर काम गर्न गाह्रो हुन्छ । उनीहरु चुनावको उम्मेदारीकोको लागी मात्र त्यहाँ जानेगर्छन् । चुनाव जितेर कार्यकाल सकिए पछि वा चुनाव हारेमा उनीहरु त्यहाँ बस्दैनन् । यो वास्तविकतालाई यहाँका मतदाताले मनन गर्न जरुरी छ ।
गौमुखी गाउँपालिका अन्तर्गतका सातवटै वार्डहरुमा राष्ट्रिय जनमोर्चाको सङ्गठन सक्रिय छ, क्रियासील छ । पुजा, नारीकोट,खुङ र अर्खामा जनाधार बालियो छ । पुरानो र बलियो जन-संगठन, पार्टी-आन्दोलनप्रति दृढ, सक्रिय र अनुशासित कार्यकर्ता, लोकप्रिय तथा प्रभावशाली उम्मेदवारको कारण असन्न निर्बाचनमा राजमोको तर्फबाट ज्ञामुराम न्यौपानेको विजय करिबकरिब सुनिश्चित छ !
गाउँपालिकाको भविष्य के हुने भन्ने कुराको फैसला मतदाताको विवेकमा निर्भर हुनेहुँदा सुविचारित भएर सोचौं र आजैदेखि सचेतना फैलाऔँ ! अत: यस अवसरमा गौमुखीबासीलाई हार्दिक बधाई, न्यौपानेलाई शुभकामना !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?