आइतवार, अशोज ९, २०७९

के थियो प्युठानको चर्चित पर्चा काण्ड!?

सुवास जिसि

कतिपय मानिसलाई अहिले राजा चाहिएको छ । राजतन्त्रको असली नियत के थियो? आफ्ना वुवा र हजुरबुबा पुस्तासङ्ग बसेर छलफल अहिलेका युवाले गर्दैनन् । वास्तवमा २४० वर्ष सम्म जरा गाडेर वसेको राजतन्त्र नेपाली जनताको दुश्मन थियो । पढ्न दिदैनथ्यो, बोल्न दिदैन्थ्यो, जनताका मौलिक अधिकारहरु दिने त धेरै टाढाको कुरा भयो ।

ती काला दिनहरुको सम्झना अहिलेका हाम्रा हजुरबुबा र वुवा पुस्ताहरुले गरिरहदा हामीलाई भने कथा जस्तै लाग्छ । त्यस्तो परिस्थितिवाट आज लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्नुमा हाम्रा धेरै अग्रजहरुको संघर्ष, त्याग, तपस्या, रगत र पसिना मिसिएको छ । उहाँहरुले निस्वार्थ रुपमा समाज, देश, जनता र राजनीतिमा खेल्नु भएको भुमिका सदा स्मरण योग्य छ ।

यस्तै संघर्षहरु मध्य प्युठानको पर्चा काण्ड महत्त्वपूर्ण र ऐतिहासिक छ । २०३३ सालको अन्ततिर कमरेड जलजला प्युठान आउनु भएको थियो । त्यो वेला केही समय पार्टीमा उहाँको ओखरकोट क्षेत्रमा जिम्मेवारी थियो । २०३४ साल असार ६ गते ओखरकोटको खहरेमा कमरेड मोहनविक्रम सिंहको नेतृत्वमा कमरेड जलजला सहित पार्टीको गोप्पे वैठक वस्यो । त्यो वैठकले राजाको तानाशाही शासन र पन्चायतको विरुद्धमा सार्वजनिक स्थानमा पर्चा टांस्ने र राजा विरुद्ध धावा बोल्ने निर्णय भयो । पर्चाको तयारी पहिले नै भैसकेको थियो ।

असार ७ गते राती ओखरकोट, तुषारा, नारिकोट लगाएतको क्षेत्रमा पर्चा टाँस्ने काम भयो । अघिल्लो दिनको योजना अनुरुप नारिकोटमा शिद्दिमान जि.सि. (दारिमचौर) र तुलवहादुर जि.सि.ले पर्चा टाँस्नुभयो । तुषारामा प्रेमवहादुर जि.सि. (दारिमचौर) र इश्वरवहादुर जि.सि. (ढाँडा) ले गर्नुभयो । ओखरकोटमा सुरेन्द्र जि.सि. (खहरे), तोरवहादुर जि.सि.(ओखरकोट) र रेकमवहादुर जि.सि. (ओखरकोट) लगाएतका अन्य सहयोगीहरुले टाँस्नुभयो ।

अर्को दिन विहान नहुदै ओखरकोट मात्र नभई प्युठान जिल्लाभर पर्चाकाण्डको हल्ला आगो सरि फैलियो । जिल्ला देखि नै प्रहरी प्रशासनले पर्चा टाँस्नेहरुको खोजी कार्य सुरु गर्यो । प्रशासनले आफुहरुलाई खोजेको थाहा पाएपछि सबै जसो कमरेडहरु भाग्नु भयो । तर विभिन्न सुराकीको आधारमा प्रेमवहादुर जि.सि., इश्वरवहादुर जि.सि., तोरवहादुर जि.सि., सुरेन्द्र जि.सि. र रेकमवहादुर जि.सि. लाई प्रहरीले गिरफ्तार गर्यो र मुद्दा चलायो । शिद्दिमान जि.सि. र तुलवहादुर जि.सि. फरार हुनुभयो । पर्चा काण्डमा सामेल नहुँदा नहुँदै पनि रणवहादुर खड्का र गणेश खड्कालाई झुटटा मुद्दा लगायो ।

सो मुद्दाको क्रममा ३ जना प्रेमबहादुर जि.सि., तोरवहादुर जि.सि. र इश्वरवहादुर जि.सि.लाई १८/१८ महिना सम्म सल्यान जेल चलान गर्यो । सुरेन्द्र जि.सि. र रेकमवहादुर जि.सि.लाई १/१ वर्ष घोराई जेल चलान गर्यो भने रणवहादुर खड्का र गणेश खड्कालाई १/१ महिना थुनेर रिहा गर्यो ।

वास्तवमा त्यो घटना राजतन्त्र विरुद्ध त्यतिवेलाका युवाहरुको गम्भीर धावा थियो । त्यसैले प्रहरी र प्रशासनले उहाँहरुलाई थुनामा राखेर दिनुसम्म दुख दियो । उक्त घटनालाई सम्झिदै प्रेमवहादुर जि.सि.ले त्यो समय हरेक हिसावले कठिन भएको वताउनुहुन्छ । पार्टीका सबै काम रातिमा गर्नुपर्ने, वाटो सधै जंगलतिरको प्रयोग गर्नुपर्ने, कति कठिन थियो । उहाँ भन्नुहुन्छ “अहिले त्रिपल मुनि सोफा राखेर, पानसमा वत्ती वाल्दै माइकमा भाषण ठोक्नेलाई त्यो वेलाको कष्ट कसरी थाहा होस् ?” “त्यतिबेला आफुहरु त्यसरी नलडेको भए अहिले यति धेरै परिवर्तन कसरी आउँथ्यो? नयाँ पुस्ताले फेसवुक चलाएर मात्र हुँदैन, पुरानो इतिहास पढ्नुपर्छ र सत्यको खोजी गर्नुपर्दछ ।”

पुरानो पुस्तालाई हाम्रो लालसलाम!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?