शनिबार, बैशाख ८, २०८१

प्युठानमा बाम लोकतान्त्रिक गठबन्धनले बनायो चुनाव परिचालन समिति

खलङ्गा । प्युठानमा प्रतिगमन विरोधी चुनावी गठबन्धनको चुनाव प्रचार प्रसारका लागि गठन गरिएको प्रतिनिधि सभा चुनाव परिचालन समितिको संयोजकमा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्री चुनिनुभएको छ ।

२०७९ असोज २४ गते राजमो प्युठानको कार्यालयमा बसेको पाँच दलको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो ।

बैठकपछि जारी गरिएको संयुक्त प्रेसवक्तव्यमा प्रतिनिधि सभा निर्वाचन परिचालन समितिको संयोजकमा बोमबहादुर खत्री तथा सदस्यहरूमा नेपाली काङ्ग्रेसका सुवास केसी, नेकपा (माओवादी केन्द्र) का नारायण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का राजकुमार कक्षपती र नेपाल समाजवादी पार्टीका श्याम गहतराज रहनुभएको छ ।

त्यस्तै, प्रदेशसभा कतर्फ नेकपा (माओवादी केन्द्र) का यज्ञबहादुर केसी (प्रभात) संयोजक रहनुभएको निर्वाचन परिचालन समिति गठन गरिएको छ । सो समितिमा नेपाली काङ्ग्रेसका टोपाराम कालाथोकी, राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य, नेकपा (एकीकृत समाजवादी) का कृष्ण रायमाझी र नेपाल समाजवादी पार्टीका शिवबहादुर पुन सदस्य रहनुभएको छ ।

त्यसैगरी, प्रदेश खमा नेपाली काङ्ग्रेसका निमा गिरी संयोजक रहनुभएको निर्वाचन परिचालन समिति गठन गरिएको छ । सो समितिको सदस्यहरूमा नेकपा (माओवादी केन्द्र) का विश्वबन्धु थापा, राष्ट्रिय जनमोर्चाका तिलक जिसी, नेकपा (एकीकृत समाजवादी) का दलबहादुर केसी र नेपाल समाजवादी पार्टीका दामोदर गिरी रहनुभएको छ ।

त्यस्तै, निर्वाचन परिचालनका लागि प्रतिनिधि सभातर्फको सम्पर्क कार्यालय जुम्रीमा, प्रदेश कको सम्पर्क कार्यालय चकचकेमा र प्रदेश खको कार्यालय बागदुलामा स्थापना गर्ने बताइएको छ ।

प्रेसविज्ञप्तिमा बाढीपहिरोबाट बेपत्ताको खोजी, पीडितका उद्धार र राहतमा लाग्न तीनै तहमा सरकार र राजनीतिक दलका नेता/कार्यकर्ताहरूलाई अनुरोध गरिएको छ ।

त्यसैगरी, प्रेसवक्तव्यमा प्रतिनिधि सभाका उम्मेदवार दुर्गा पौडेललाई गिलासमा, प्रदेश कका उम्मेदवार कृष्ण अधिकारी (प्रकाश) लाई गोलाकारभित्रको हसियाहथौँडामा र प्रदेश खका उम्मेदवार नेपाली काङ्ग्रेसका सरोज थापा (रोज राणा) लाई रुख चिह्नमा मतदान गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कृष्णबहादुर खड्का, नेपाली काङ्ग्रेसका जिल्ला सभापति विष्णुकुमार गिरी, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज नारायण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भोजविक्रम बुढामगर र नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्याम गहतराजको हस्ताक्षर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?