शनिबार, बैशाख ८, २०८१

नेपाली संसदमा इन्ड्रोक्टिनेशन: संसदमा कस्तो शिक्षा दिइंदैछ ?

लिल बहादुर केसी

हामी शिक्षकहरुले विद्यार्थीहरुलाई शिक्षा दिइरहेका हुन्छौं । हामीले विद्यार्थीहरुलाई दिने शिक्षा त्यती वेला मात्र वास्तविक शिक्षा हुन्छ जति वेला हामीले डेलीभर गरेको ज्ञानमा तथ्य हुन्छ अर्थात हामीले विद्यार्थीलाई दिएको शिक्षा Database मा आधारित हुन्छ ।
हाम्रा बाबा आमाहरुले पनि हामीलाई सानै देखि शिक्षा दिनुहुन्छ। उहांहरुले दिने शिक्षा कुनै Databaseमा आधारित हुन्छ भने कुनै तथ्यले पुष्टि गर्न नसक्ने तर परम्परा देखि चल्दै आएको, पुर्खाहरुले भन्दै आएको, उहांहरुका बाबा आमाले पनि त्यसै गर्दै आएको, समाजले पनि त्यहि मूल्य मान्यता पछ्याउंदै आएको हुनाले तिमीहरुले पनि यो गर्नु पर्छ त्यो गर्नु पर्छ नगरे अन्यथा हुन्छ भन्ने प्रकारको हुन्छ । तर समाज चाहे युरोपको होस, अमेरीकाको होस् वा एशियाको नै किन नहोस् दुबै Database शिक्षा र Database रहित शिक्षाबाट चलेको हुन्छ। यो भने घर तथा समाजका मानिसहरुले लिने ज्ञानको कुरा भयो यसमा राज्य पक्षबाट हस्तक्षेप हुंदैन र हुनु पनि हुंदैन। हामीले पनि सानो छंदा हाम्रा बाबा आमा तथा अन्य अविभावकहरुबाट तथ्य रहित शिक्षा लिइरहेका थियौं र अझै पनि त्यस्ता मूल्य मान्यता ग्रहण गरेकै छौं। मलाई पनि मेरो बाबा आमाले झांक्रिको थान नजीक गएर दिशा पिसाव गर्न रोक लगाउनु हुन्थ्यो, साँझ परे पछी साउने खोलाको बाटो हिंड्नु हुंदैन मसान आउंछ र छल्छ भन्नु हुन्थ्यो। राती ठिक बाह्र बजेको समयमा भूत, प्रेत र पिचासको बाटोमा अधिकार हुन्छ मानिसहरु राती १२ बजेको समयमा हिंड्नु हुंदैन भन्नु हुन्थ्यो।कथं कदाचित् हिंड्नु परे आगाको रांको बालेर हिंड्नु पर्छ भन्नु हुन्थ्यो। कूल पुजामा सामान लिएर पुजा गर्न जांदा बाटोमा कसैसंग बोल्नु हुंदैन भन्नु हुन्थ्यो। यस्ता सयौं मूल्य मान्यता र विश्वांसहरुलाई हामीले आफ्नो संस्कार, संस्कृति र जीवन शैली बनायौं। तर हामीले ती मूल्य मान्यताहरुमा कहिल्यै पनि के, किन, कहाँ र कसरी भनी त्यसको डेटा खोज्ने काम गरेनौ। नगर्ने भनेको चीज हामीले गरें के हुने भन्ने प्रश्न हाम्रा बाउ बाजे र समाजका अगुवालाई गरेनौं।

दर्शन शास्त्र र मानव चेतनाको विकासको इतिहास हेर्दा Dark Age मा यस्तै विश्वांस मानव जातिले गरेको हुनाले र Database शिक्षा नभएको हुनाले लगभग १००० वर्षको महत्वपूर्ण समय मानव जातिले खेर फालेको थियो। ईश्वी सम्वतको पन्ध्रौं र सोह्रौं सताव्दीमा मात्र प्रख्यात दार्शनिक रेनेडिस्कार्टेले हजारौं वर्ष सम्म चलेको Theology को जालोलाई हटाई Rational thinking बाट कुनै पनि भनाई वा विश्वास र मूल्य मान्यता तथ्यमा आधारित भए मात्र विश्वास गर्न सकिन्छ अन्यथा त्यस्ता भनाइ भ्रामक र झुट हुन् भनी विपक्षमा उभिए। उनको अनुसार पुष्ट्याईं गर्न नसकिने भनाई झूट हो जसरी हामीले ज्यामितीय थ्यौरम प्रुभ गर्छौं औपचारिक शिक्षाका विषयवस्तुहरुलाई पनि त्यसरी नै प्रुभ गर्नु पर्छ। यसरी justify गर्न सकिने विषयवस्तु education हो र Justify गर्न नसकिने विषयवस्तु indoctrination हो भन्ने कुराको मान्यता आयो।
नाजी जर्मनीकालमा इन्ड्रोक्टिन्शन
हिटलर जर्मनका शक्तिशाली तानाशाह थिए। उनी निरंकुश शासक भएकोले आफ्नो सत्ता जोगाउन जनतालाई शिक्षाबाट बन्चित गरेका थिए। संसारका थुप्रै शक्तिशाली राष्ट्रसंग युद्ध गर्न सैनिकहरु धेरै चाहिने भएकोले उनले महिलाहरुलाई Education को नाममा बढि भन्दा बढि सन्तान उत्पादन गर्ने विषयका पाठ्यक्रम राख्थे । साना वालकहरुलाई शारीरिक शिक्षा र व्यायाम तथा लड्ने कला सिकाउंथे। साना र सुन्दर वालिकाहरुलाई शासकको सुसारे हुन चाहिने सीप सिकाउंथे। उच्च घरानाका केटीहरु जसलाई भविष्यमा नाजी शासकहरुले विवाह गर्ने संभावना देख्थे, उनीहरुलाई दरवारका रानीहरु बन्ने किसिमको पाठ्यक्रम पढाइन्थ्यो। ज्ञान, विज्ञान, तथ्य, सत्य र देश निर्माण तथा जनताको चाहाना विपरित पढाइएको यस्तो गलत शिक्षालाई Indoctrination भनिन्छ ।हिटलरको शासनकालमा जर्मनमा शिक्षा नभएर indoctrination थियो। यहि इंडॉक्ट्रिनेशनलाई त्यहां शिक्षा भनिन्थ्यो र हिटलरका सन्चार मन्त्री गोयवल्सद्वारा राम्रो शिक्षा प्रणाली भनी प्रचार गर्न लगाइन्थ्यो।हिटलरले जस्तो काम गरे पनि राम्रो भन्दै प्रचार गर्ने र हिटलरको आतंकको प्रचार गर्ने काम गोयबल्सको नै थियो ।

नेपाली संसदमा इन्ड्रोक्टिनेशन
हिंजो संघीय संसदको पहिलो वैठक बस्यो।सभामुखले ठूला पार्टीका प्रमुख नेताहरुलाई १० मिनट बोल्ने समय दियो भने साना पार्टीयाँ नेता तथा स्वतन्त्र सांसदहरुलाई ५ मिनेटको समय दिए। थुप्रै नेताहरु त्यो बैठकमा बोले पनि मैले नेकपा एमालेका नेता तथा पूर्व प्रधानमंत्री केपी ओलीको कक्षामा आपत्ति जनाउन मन लाग्यो। उनले वार वार आफूले हिंजोका दिनमा गरेको संसद विघटनको कदम सहि थियो र भोलीका दिनमा गरिने विघटन पनि सहि हुनेछ भनी ग़लत कदमको Justify गर्दै थिए। अझ उनले जोड दिंदै भन्दै थिए; “ यस्तो संसद विघटन गरेर प्रतिगमन आउने भए त वेलायतमा वर्ष वर्षमा प्रतिगमन आएको आई हुन्थ्यो”। समावेसी सांसदहरु बडो गजवले मन्त्र मुग्ध भएर केपी ओलीको कक्षा सुनिरहेका देखिन्थे। हिंजो प्रतिगमन भयो भन्ने विद्यार्थी मनिटर ट्वां परेर हेर्दै थिए। शिक्षकको चाकडी गरिरहने केहि विद्यार्थीले “हो सर, हो सर “ भन्दै टेवुल पड्काउंथे। मनिटरको पछी लाग्ने विद्यार्थीहरुले निरीह रुपमा मनिटरको फेस हेरिरहेका देखिन्थे। बडो गजब दृष्य थियो त्यो।
मेरो भनाई के हो भने हिंजो केपी ओलीको त्यो भाषण इन्ड्रोक्टिनेशन नै हो। परिवार, समाज र कुनै समुदायले इन्ड्रोक्टिन्शन दिन सक्छ तर राज्यले शिक्षा दिनु पर्छ इन्ड्रोक्टिनेशन दिन मिल्दैन। ऐन क़ानून र विधि विधान बनाउन छानिएकाहरुले त झन् इन्ड्रोक्टिनेशन दिन मिल्दै मिल्दैन। तर हिंजो कक्षा लिएका गुरु केपी ओलीले समावेसी संसदलाई खुलेआम त्यहि इन्ड्रोक्टिनेशन दिए।यस्को मतलव हामीले चाहे जहिले पनि संसद भंग गर्न सक्छौं भन्ने हो उनको भनाई। यो शिक्षा नभएर इन्ड्रोक्टिनेशन यो अर्थमा भयो कि हामीसंग संसद विघटन गर्ने तथ्य छैन। तथ्यमा आधारित नभएको शिक्षा इन्ड्रोक्टिनेशन हो। हाम्रो तथ्य र database भनेको नेपालको संविधान-२०७२ हो। यो संविधानमा संसद विघटन गर्ने २०४७ को संविधानमा जस्तो सुविधा छैन। यस्ता फाल्तु कुरा गर्नाले केवल शंकर पोखरेललाई त आनन्द आउला देश र जनतालाई आनन्द आउंदैन। संसदको निर्वाचन भएको २ महिना नपुग्दै संसदमा गरिएको यो भाषण (क्लास) ले के वुझाउंछ भने यिनीहरुले फेरी छिटै अर्को चुनाव गरी राष्ट्रलाई टाट पल्टाउंदैछन्। फेरी नेकाले पनि यो सरकारलाई समर्थन दिनुका अन्य थुप्रै कारण होलान तर मेरो विचारमा २/३ संसदले संविधान परिवर्तन गरेर भए पनि संसद विघटन गर्न पाउने सुविधा यिनीहरुले नमिलाउलान् भन्न सकिन्न। अन्त्यमा सांसदहरु संविधान वमोजिम बोलुन तथ्यको आधारमा बोलुन् शिक्षा देउन् तर इन्ड्रोक्टिनेशन नदेउन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?