बिहिबार, बैशाख १३, २०८१

टेलिसिरियल ‘जुठे’ले पहिलो भागबाटै दर्शकबाट राम्रो प्रतिक्रिया पायो

गत बुधबारदेखि हिमालय टेलिभिजनमा प्रशारण शुरु भएको टेलिसिरियल ‘जुठे’ले पहिलो भागबाटै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यो सिरियललाई टेलिभिजनसँगै युटुबमा पनि दर्शकले निकै रुचाएका छन् । सामाजिक विषयवस्तुमा निर्माण गरिएको सिरियललाई हाँस्य कलाकारद्धय मरिचमान श्रेष्ठ (बल्छी धु्रबे) र राजु श्रेष्ठ (राजुमाष्टर)ले लेखन तथा निर्देशन गरेका हुन् ।

लेखक तथा निर्देशकमध्येका एक मरिचमानले सिरियललाई लिएर दर्शकबाट पाएको प्रतिक्रियाले आफूहरुलाई उर्जा थपेको बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने ‘हामीले कमेडी सिरियल गरिरहेका थियौं । फरक विषयवस्तुमा काम गर्दा दर्शकबाट कस्तो प्रतिक्रिया आउने हो भनेर एकदमै डर थियो । तर, एकदमै राम्रो प्रतिक्रिया पायौं ।’

कमेडी सिरियलको वर्चश्व रहेको र दर्शकहरुले पनि परिवर्तन खोजिरहेको अवस्थामा केही फरक गरौं भन्ने सोच अनुसार सामाजिक विषयवस्तुमा ‘जुठे’को जन्म भएको उनले बताए । आफूहरुले समाजमा देखेको, भोगेको कथालाई सिरियलमा उतारेको मरिचमानले अनलाइनखबरसँग भने ।

‘म गाउँमा हुँदा सानो र ठूलो जात भनिन्थ्यो । ठूलो जात भन्नेहरुले सानो जात भन्नेहरुलाई तल्लो स्तरको व्यवहार गर्थे । घरमा छिर्न दिने त परकै कुरा भयो । मन्दिरमा, पानी भर्ने ठाउँदेखि विभिन्न स्थानमा समेत फरक व्यवहार गरिन्थ्यो । ति कुराहरु म आफैले भोगेर आएको हुँ’ उनले अगाडि भने – ‘यो आफ्नै आँगनको कथा हो । यसलाई कतैबाट साभार गर्न पनि आवश्यक छैन । आजभन्दा ३५–४० वर्ष अगाडि यस्तो पनि थियो है, यो प्रथा कताकता अझै विद्यमान भएपनि यो प्रथा हनुपर्छ भनेर राजु दाई र मेरो दिमागमा विषयवस्तुको सोच आयो ।’

उनले सुरुवातमा युटुबमा मात्र सार्वजनिक गर्ने सोचले यो सिरियलको परिकल्पना गरिएतापनि पछि आएर टेलिभिजनसँग जोडिएको बताए । यो सिरियल हिमालय टेलिभिजनमा बुधबार बेलुका ८ बजे प्रशारण हुँदै आएको छ ।

सिरियलमा रबि गिरी, विद्या कार्की, मुकुन्द मैनाली, रामबाबु रेग्मी, शर्मिला शर्मा, मरिचमान श्रेष्ठ, राजु पौडेल, स्वानीका बास्तोला, सरिता ढुंगाना, प्रतिज्ञा भण्डारी, रुक्मिला अधिकारी, दिपेन्द्र तिमिल्सिना लगायतको अभिनय छ । सिरियललाई राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्दै आएका छन् भने रविन भट्टले सम्पादन गरेका छन् । यो सिरियलको ६ भाग छायांकन भैसकेको मरिचमानले बताए । अन्लाईन खबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?