शुक्रबार, भदौ २७, २०८२

सर्पको टोकाइबाट धेरैले अकालमा ज्यान गुमाउँदै

सर्पको  टोकाइबाट पछिल्ला ५ वर्षयता देशभर  १०५ जनाले अकालमै ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विसं २०७५ देखि २०८० असार २७ गतेसम्मको सर्प टोकाइको तथ्यांकअनुसार १६४ घटना घट्दा १०५ जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट ६६ जना घाइते भएका छन् भने प्रभावित परिवार संख्या १६५ रहेको छ। प्राधिकरणले यो तथ्यांक प्रहरी मार्फत मात्रै आएको र अझै धामीझाँक्रीको भरपर्ने विश्वास भएकाले त्यहाँ जाँदा मृत्यु हुनेको संख्या झनै बढ्न सक्ने जनाएको छ। पछिल्लो समय सर्प टोकाइको जोखिम बढेको छ। सर्पको टोकाइबाट ४ दिनमै ५ जनाको मृत्यु भएको छ । दाङमा सर्पले डसेर आइतबार तुलसीपुर उपमहानगरपालिका–११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भयो । बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि बाँकेको  भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरे । कपिलवस्तुमा असार २५ सोमबार गते सर्पले टोकाइबाट २ दिनमा ४ जनाको मृत्यु भयो ।  इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का २ दाजुभाइ ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसालको मृत्यु भयो । दुवै जना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए। बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पु¥याइएको थियो ।  सोमबार बिहान पनि बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको सर्पको डसाइबाट मृत्यु भयो । सोमबार नै  महाराजगन्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पको डसाइबाट मृत्यु भयो  ।

 

 

 

 

गत  शनिबार बिहान करिब साढे  ५ बजेको समयमा घरभित्रको काम गर्ने क्रममा तिलोत्तमा ९, नन्दनबन निवासी बर्ष ४० की नेत्रकला भुसाल ’अम्बिका’ लाई कमान कोब्रा जातको गोमन सर्पलेखुट्टामा डसेको थियो । सर्पले टोके लगत्तै घाइते भएकी  ’अम्बिका’ लाई स्थानीय गाउलेहरुले उद्धार गरि  उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागेका थिए । अहिले भुसालको अवस्था सामान्य रहेको छ ।  पछिल्लो समय सर्पको टोकाइबाट अकालमै नागरिकहरूले ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। उक्त घट्नाले सर्वसाधारणमा त्रास बढेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष झण्डै ५४ लाख मानिस सर्पको टोकाइबाट पीडित हुन्छन्। यसमध्ये ८१ हजारदेखि १ लाख ३८ हजार जनासम्मको मृत्यु सर्पदंशबाट हुने अध्ययनले देखाउँछ। २७ लाख मानिसमा अंग काट्नुपर्ने वा अन्य शारीरिक समस्या देखा पर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?