
बलात्कारको आरोपमा दुई युवा पक्राउ
दाङको तुलसीपुरमा पार्किङ गरि राखिएको बसभित्र ७३ वर्षीया बृद्धा महिलामाथि बलात्कार भएको छ । बिहीबार राति १२ बजेतिर तुलसीपुर बसपार्कमा ती महिलामाथि दुईजना युवाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
उपचारकालागि भन्दै प्यूठानबाट आएकी ती महिला राति बसपार्क पुगेकी थिइन् । सोही क्रममा सहयोग गर्ने बहाना बनाएर दुईजना युवाले बसपार्क भित्र पार्किङ गरि राखेको ना४ख ७८४८ नम्बरको बस भित्र पुर्याइ पालैपालो बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।
बलात्कार गरिरहेको अबस्थामा ती महिला कराईरहेको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी बसपार्क पुगेर दुईजना युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.-१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका- ७ का २० बर्षीय रेशम बिक रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।