शुक्रबार, भदौ २७, २०८२

चितवनमा गरिएको परीक्षणमा केरामा सबैभन्द धेरै भेटियो विषादी

चितवन, साउन १७

चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ ।

कृषि ज्ञान केन्द्र चितवनले नियमित गरेको विषादी परीक्षणमा सबैभन्दा धेरै विषादी केरामा भेटिएको हो ।

कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९\८० मा ७१८ वटा तरकारी र फलफूलको स्याम्पलको परीक्षण गर्दा सबैभन्दा धेरै विषादी केरामा भेटिएको छ । केरापछि धेरै विषादी भेटिएर डिस्पोज गर्नुपर्ने तरकारीमा फर्सी र भेन्टा छन् । गत आर्थिक वर्षमा तीन वटा स्याम्पल डिस्पोज गरिएको थियो । यस आर्थिक वर्षको साउन महिनामा गरिएका परीक्षणहरुमा पनि सबैभन्दा धेरै विषादी केरामा नै भेटिएको सिम्खडाले बताए । केरामा पकाउनको लागि प्रयोग हुने इथालिन र क्याल्सियम कारबोनेट बढी प्रयोग गरेको पाइएको नियमित परीक्षणमा भेटिएको छ ।

ज्ञान केन्द्रका अनुसार फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी  प्रयोग गरिएको ४५ प्रतिशत भन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ । ३५ प्रतिशत भन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्वारेन्टाइनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ । चितवनमा प्राय गरेर केरालाई क्वारेन्टाइनमा पठाउनुपर्ने अवस्था आएको प्राविधिक सहायक सिम्खडाले बताए । ३५ प्रतिशत भन्दा कम रोकावट आए मात्र केरा खान योग्य हुन्छ ।

अत्यधिक पोषणले भरिपूर्ण केरा बाह्रैमास पाइने सदाबहार फल हो । तर कहिलेकाहीं केरा स्वास्थ्यका लागि हानिकारक पनि साबित हुन सक्छ । यसमा बढी मात्रामा रसायन र विषादीको प्रयोग भएमा केरा स्वास्थ्यका लागि हानिकारक हुन सक्ने चिकित्सक बताउँछन् ।

भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसिएन गोविन्द कँडेलले धेरै परिमाणमा इथालिन र क्याल्सियम कार्बाेनेट जस्ता औषधि प्रयोग गरेर पकाइएको केरा खाँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने नारायणी अनलाइनलाई बताए । उनले निरन्तर यस्तो केरा खाएमा पेट दुख्ने, अल्सर हुने, न्यूरो प्रणालीमा असर गरेर टाउको धेरै दुख्ने जस्ता गम्भीर असर देखिन सक्ने बताए । उनले भने, ‘ गर्भवती महिलालाई यस्तो केरा खुवाएमा पेटमा रहेको बच्चालाई समेत असर गर्न सक्छ । ’

भरतपुर अस्पतालकै अर्का वरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले फलफूल तथा तरकारीमा प्रयोग गरिने विषादीले नागरिकमा पेटको समस्या, वाकवाकी जस्ता समस्या देखिने बताए । उनले भने, ‘लामोसमयसम्म यस्तो विषादी प्रयोग गरेका क्यान्सरसमेत हुन सक्छ । स्नायु प्रणालीमा नै असर गर्न सक्छ । ’

विषादी हालेको केरा चिन्ने तरिका:

कृषि विज्ञहरुको अनुसार केरामा रसायन हालेर पकाइएको छ कि छैन भनेर चिन्न केही कुरामा ध्यान दिनुपर्छ । कर्बोहाइड तथा अन्य रसायन प्रयोग गरिएको छ भने गन्ध फरक हुन्छ । फलफूलको प्राकृतिकभन्दा अलि फरक गन्ध आउन सक्छ । आकार हेरेर पनि केरामा रसायन मिसाएको छ कि छैन पत्ता लगाउन सकिन्छ । केराको आकार प्राकृतिक भन्दा ठूलो वा रंग फरक छ भने रसायन मिसाएको हुन सक्छ ।

कृत्रिम रूपमा पकाएको छ भने सबैतिर राम्ररी नपाकेको हुन सक्छ । कतै पाकेको र कतै काँचो भने त्यसलाई रसायनको सहायताले पकाइएको हो भनेर बुझ्नुपर्छ । कस्तो रसायन मिसाइएको हो । कति मात्रामा मिसाइएको हो भनेर थाहा पाउन भने ल्याब जाँच नै गर्नुपर्छ ।

केरालाई विषादीरहित बनाउने उपाय:

केरालाई विषादीरहित भन्दा पनि विषादीको प्रभाव कम गर्न केरा किनेर ल्याएको एक–दुई दिनपछि मात्र प्रयोग गर्नु उपयोगी हुन्छ । खानुअघि एक घण्टा पानीमा डुबाएर राखियो भने पनि त्यसमा भएको रसायनको मात्रा कम भएर जान्छ

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?