शुक्रबार, मंसिर २१, २०८१

बुटवलको विकासका लागि हाल गरिएका प्रयासहरु

नुरजंग के सी ,बुटवल 
पुर्व-पश्चिम राजमार्ग र सिद्दार्थ राजमार्गको संगम स्थलमा रहेको बुटवल उपमहानगरपालिका नगरपालिकाको रूपमा २०१६ सालमा स्थापना भएको थियो। नेपाल सरकार,संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा २०७१ साल पुस २१ गते बुटवल उपमहानगरपालिकाको रूपमा स्तरोन्नति गरेको थियो।
नगरपालिकाको स्थापना भएदेखि उपमहानगरपालिका हुँदै हालसम्म बुटवल उपमहानगरपालिकाले १३ वटा नगरप्रमुखको नेतृत्व पाइसकेको छ भने २०७९ वैशाख ३० गते भएको निर्वाचनले चौधौं नगरप्रमुख पाएकोछ।अहिले बुटवल उपमहानगरपालिकामा चौधौं नगरप्रमुखले नेतृत्व गरिरहेका छन।
२०७९ वैशाख ३०गतेको निर्वाचनमा ३०,१३० मत ल्याउ विपक्षी एमालेको उमेदवार भन्दा ७५३३ मत बढी प्राप्त गरि निर्वाचित भएका खेलराज पाण्डेयले २०७९ जेठ ७ गते पदभार समालेका थिए।नगरप्रमुख पाण्डेय विगत लामो समयदेखी बुटवलमा डेरा गरि बस्ने, निजी घर नभएका, प्रष्ट वक्ता,सरल जीवन विताइरहेका ,असाध्यै मिलनसार र बुटवलवासीको दुखसुखका सारथि भएको कारणले चौधौ नगरप्रमुखको रूपमा बुटवलवासीले विजयी बनाएका थिए।
यसभन्दा पहिला सार्वजनिक पदको अनुभव नभएका,चुनाव जित्नै पर्ने दवाफ उमेदवार पाण्डेय र उनि संलग्न पार्टी र सहयोगी कार्यकर्ताहरुलाइ भए कै कारण मतदाताहरुलाइ धेरै आश्वासन दिएको पनि हुनसक्छ,धेरै महत्वकांक्षी योजना गरिदिन्छु भनिएको पनि हुनसक्छ,सिमित साधनस्रोतको ख्याल नगरी यो पनि गरिदिन्छु,त्यो पनि गरिदिन्छ भन्ने किसिमबाट प्रचारप्रसार गरिएको पनि हुनसक्छ ।जे होस जनताका इच्छा आकांक्षाहरु धेरै थिए र बुटवलमा गर्नुपर्ने कामहरू पनि धेरै छन।ती सबै काम एकैचोटि हुन सक्ने पनि होइनन,हुन सम्भव पनि छैन।तर बस्नयोग्य बुटवल र घुम्नलायक बुटवल बनाउने कुरामा नगरप्रमुख प्रतिबद्ध भएको पाइन्छ।
विगत २५ वर्षदेखि विपक्षीले एकलौटी चलाएको उप्महानगरपालिकामा अधिकांश कर्मचारीहरु अनुकूल पक्कै थिएनन,एउटा/एउटा नियम कानुनले अड्काउने,फाइल अगाडि बढाउन आनाकानी गर्ने,सेवाग्राहीलाई झुलाउने,दुख दिने नगरप्रमुखको तोकआदेशलाइ अबज्ञा गर्ने जस्ता थुप्रै  असहयोगहरु भएका होलान् विगत  एक वर्ष नगरप्रमुखको रूपमा खेलराज पाण्डेयलाइ सुखद पक्कै भएन भन्ने उनको कुराकानीबाट बुझ्न सकिन्छ।विगत एक वर्ष संघर्षमा नै वितेको बुझ्न गाह्रो पर्दैन। विभिन्न   कठिनाइबाट एक वर्ष उपमहानगरपालिकाको नेतृत्व गरिरहेका खेलराज पाण्डेयले एक वर्षमा के गर्‍यो?यिनले पनि केही माखो मारेन?यिनको राजनीति अन्तिम भयो? भन्ने जस्ता तिब्र असन्तुष्टि  र आक्रोशहरु आइरहेको सुनिन्छ।विपक्षीहरु त असफल गराउन खेलमा लाग्ने नै भए ,उनी संलग्न पार्टीका नेता,कार्यकर्ताहरु पनि आक्रोशित भएको देखिन्छ। नगरप्रमुखको रूपमा उनको एक वर्षको अवधी  काम गर्ने तरिका, साधनस्रोत र समस्याको पहिचानमा नौ वितेको होला।१२/१४ महिनामा प्रत्यक्ष देखिने काम भएका छैनन त्यसैले जनताहरु  त्यति धेरै सन्तुष्ट भएको छैनन होला।
म बुटवलवासी भएको र नगरप्रमुखको एक वर्षको काम गराइ हेरेको,सुनेको नजिकबाट देखेको र प्रत्यक्ष अनुभुती गरेको हुनाले यथार्थ कुराहरू उतार्ने प्रयत्न गरेको छु।यो आलेख नगरप्रमुखप्रती झुकाउ राख्ने वा उनिप्रती पुर्वाग्रह राख्ने किसिमबाट नभै जे जस्तो छ ,जस्ताको तस्तै उतार्ने प्रयासमा छ।उनि एक वर्ष पक्कै पनि सुतेर त बसेन होला,धेरै कामहरूको प्रारम्भ गरेका होलान,खाली उनका कमजोरीहरुको कुरा गरेर गाली गर्नु/विरोध गर्नु/आक्रोश पोख्नु ,उनको राम्रो कामको सुरुवातलाई नदेख्नु उनिप्रती पुर्वाग्रह हो।
२०७९ साल जेठ ७ गते पदभार समाल्नु अघि बुटवल चौराहादेखी चिडियाखोलासम्मको बाटो खाल्डाखुल्डी र घुलोधुवाले हिड्न लायक थिएन,दैनिक सयौ गाडिघोडा दुर्घटना भैरहेको  थियो।त्यसक्षेत्रका व्यापार व्यबसायहरु विस्थापित भैसकेको अवस्था थियो,जब नगरप्रमुखको रूपमा पाण्डेय पदभार समालेपछी उक्त बाटोलाई पहिलो प्राथमिकता दिदै निकै सक्रियताका साथ कहिले सडक विभाग, कहिले परियोजना प्रमुखको कार्यालय, कहिले ठेकेदारलाई पत्रकार र उपभोक्ताका बिच राखेर अन्तरक्रिया  गराएर बाटोको पुनर्निर्माण गराइछाडे।यद्यपि उक्त बाटो संघीय सरकारको बजेटबाट खर्च हुने भए तापनि लामो समयसम्म बाटो पुनर्निर्माण नहुदा दैनिक मानवीय जीवन कष्टकर भएको थियो।अहिले बाटो पुनर्निर्माण भएर आवतजावतका लागि अत्यन्तै सहज भएको छ।बाटो पुनर्निर्माणमा उनको महत्त्वपूर्ण सक्रियता देखिन्छ।तर सर्विस लेन अबिलम्ब पूरा गराउने तर्फ उनको थप सक्रियता आवश्यक छ।
पछिल्लो वर्षहरुमा बुटवलको अर्को समस्याको रूपमा आएको ज्योतिनगर पहिरो रहेको छ।चुरेको पहाडबाट वर्षाको समयमा भीषण पहिरो आएर ज्योतिनगर क्षेत्र अत्यन्तै असुरक्षित भएको छ।पैरोको कारण सयौ ज्योतिनगरवासी जनताहरुको जिउधन खतरामा पर्‍यो।कयौ ज्योतिनगरवासी विस्थापित पनि भए।२/३ वर्ष पहिले त्यहाका जनताहरु आक्रोशित भएर यसभन्दा अगाडिका नगरप्रमुखलाइ हातपात पनि गरेका थिए। यस्तो विषम परिस्थितिमा उनले पदभार समालेको केही दिन मै बजेटको जोहो गरेर ज्योतिनगरको डांडोमा दोभानबाट डोजर लगेर डांडोबाट ज्योतिनगरतर्फ आउने पानीको वहाव उत्तरतर्फ फर्काउने काम भएको थियो,त्यसको अलवा पहिरो गएको स्थानमा आफै सहभागी  भै बाँसको बिरुवा रोप्ने कार्य भइरहेकोछ।पहिरोको प्रत्यक्ष प्रभाव न्यूनीकरणका लागि वस्तिमाथी ठूलो पर्खाल लगाउने काम भैरहेको छ । उपमहानगरपालिकाले स्रोतको व्यवस्थापन गरि प्रत्येक वर्ष ४/५ करोड खर्च गर्नेगरी त्यस क्षेत्रको वस्तिलाइ सुरक्षित बनाउने प्रयत्नमा नगरप्रमुख पाण्डेयको सक्रियता बढेको छ।
बुटवल उपमहानगरपालिकामा भुमिहिन तथा अव्यवस्थित बसोबास रहेको घरपरिवार संख्या २५/३०  हजारको हाराहारीमा रहेको अनुमान छ।हरेक निर्वाचनमा लालपुर्जा दिन्छु भन्दै भोट संकलन गर्ने तर चुनाव जितेपछि तिनिहरुलाइ जग्गा धनी लालपुर्जा नदिने विगत लामो समयदेखि हुदै आइरहेको थियो।त्यहाका भुमिहिन वस्तिलाइ भोट बैक बनाउने उनिहरुको समस्या विर्सने परम्परा बनिरहेको अवस्थामा उनी नगरप्रमुख निर्वाचित भएपश्चात एक वर्षको अवधिमा भोगचलन गरेको स्थानको नापजाँच गराइ जग्गा धनी लालपुर्जा वितरणको कार्य अन्तिम चरणमा पुगिसकेको छ।अब छिट्टै यो समस्या समाधान हुदैछ।यश कार्यमा नगरप्रमुख पाण्डेयको योगदान महत्त्वपूर्ण मानिन्छ।
बुटवल १५ र १६ मा आधुनिक कृषि भडारण केन्द्रको निर्माणका लागि सिलन्यास भैसकेकोछ।त्यसैगरी सेमलार र मोतीपुरमा १/१ वटा नगरस्तरिय अस्पतालको निर्माण भैरहेकोछ।शिवनगर सामुदायिक बनले विभिन्न अड्चनहरु राखेपछि छाडा चौपाया व्यवस्थापन गर्न अप्ठ्यारो परेको च्ग।शिवनगर सामुदायिक वनले अडचन खोलेपछी सडकपेटिका छाडा चौपायाहरु व्यवस्थापन गरिने तरखरमा उपमहानगरपालिका रहेको बुझिन्छ।त्यसैगरी आफ्नो समस्या कुन शाखासंग संबंधित छ र आवश्यक पर्ने कागजात के के हुनसक्छ त्यो सबै घरमै बसेर च्याटबक्सको माध्यमबाट थाहा पाउन सकिने मोबाइल एप्लिकेसनको प्रबन्ध गरेको छ।
विगत २९/३० वर्षदेखिको बुटवलवासीको सपना सिश्नेखोला खानेपानी परियोजनाको सन्दर्भमा सिस्नेखोला नजिक २ वटा पुल बन्न नसकेर परियोजनाको काम स्थगित रहिरहेको अबस्थामा उनी नगरप्रमुख भएपश्चात् एक वर्षभित्र ती २ वटा पुल बनाउने काम अगाडि बढाइएको छ ,अर्को वर्षा लाग्नु अगाडि बुटवलवासीले सिस्नेखोलाको पानी उपयोग गर्न पाउने सुनिश्चितता भएको छ।
शिक्षाको सन्दर्भमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्वी गर्ने उपायको खोजी गर्ने,शिक्षालाई ज्ञान शिपसहितको गरिखाने शिक्षाको रूपमा विकास गर्दै जाने,सामुदायिक विद्यालयहरुको गुणस्तरमा एक रुपता ल्याउने र सामुदायिक विद्यालयहरुमा पठनपाठनको आकर्षण थलो बनाउने योजना र कार्यक्रममा केन्द्रित भएको पाइन्छ,अहिले  उनी संस्थागत विद्यालयहरुमा शुल्क निर्धारण र एकरुपता ल्याउने र शिक्षकहरुको पारिश्रमिक सामुदायिक विद्यालयका शिक्षक सरह गराउने तर्फ पनि ध्यान केन्द्रित गरेको देखिन्छ।साथै संस्थागत विद्यालयहरुले आम्दानीको ६० प्रतिशत तलबभत्तामा खर्च गर्नुपर्ने,१० प्रतिशत गरिव जेहेन्दार छात्रछात्रा हरुलाइ निशुल्क पढाउनुपर्ने कानुनी प्रावधान कढाइका साथ लागू गर्ने कुरामा प्रतिबद्ध देखिन्छन् साथै नगरपालिकाले शिक्षा र स्वास्थमा सबैको पहुँचमा  पुर्‍याउनेतर्फ ध्यान दिएको छ ।उपमहानगरपालिकाले आफ्नो लगानीमा डाइगोनोसिस सेन्टर खोलेर डाइगोनोसिस गर्न सिफारिस गरेवापत स्वास्थकर्मिले लिने कमिसनको खेल अन्त्य गर्नेतर्फ पनि ध्यान पुर्‍याउनुपर्द्छ।
यो १३/१४ महिनाको समयावधिमा नगरप्रमुखले बुटवल उपमहानगरपालिकामा ५२ वटा आकाशेबत्ती,१४ वटा ट्राफिकबत्ती र १३५ किमि भन्दाबढि भित्री सडक मर्मत तथा पुनर्निर्माणका लागि टेन्डर आव्हान भैसकेको छ।बसपार्कमा बहुतले पार्किङ हाउसको निर्माण संझौता भैसकेको छ।त्यसैगरी बुटवल -११ मा विपि कोइराला पुष्पलाल र सुर्य प्रसाद प्रधानको नाममा पार्क निर्माण भैरहेको छ।आम्दा अस्पतालमा याच ए,फार्मेसी र स्टाप नर्सको  कक्षाको सुरुवात गर्ने ,आम्दा अस्पताललाई ३०० बेड बनाउने सम्झौता भइसकेको छ।रक्त संचार केन्द्रसंग संझौता गरि बुटवलवासीलाइ निशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरिएको छ।सुत्केरी महिलालाई पोषण भत्ताको सुरुवातका साथै गर्भवती महिलालाई निशुल्क भिडियो एक्स्रे सेवा संचालन आदि  थुप्रै जनकल्याणका कार्यहरुको पनि सुरुवात गरिएको छ।
अहिले हरियाली र सरसफाइ  बुटवल बनाउने ४५ दिने अभियान संचालन गरेर नगरप्रमुख पाण्डेयले  प्रशंसनीय कामको थालनी गरेका छन।
हुन त १३/१४ महिनाको समयावधि त्यति लामो  होइन,विभिन्न बाधा विरोध र अडचनका बावजुद पनि नगरप्रनुख खेलराज पाण्डेयले थुप्रै कार्यक्रमहरु अगाडि ल्याएका पाइन्छ।प्रत्यक्ष लाभ हुने र देखिने त्यति धेरै काम नभएको हुनसक्छ, तापनि सुरुवाती कामहरु हेर्दा उत्साहित नै छन।कर्मचारी सरुवा ,नियुक्ति र व्यक्तिगत लाभका केही काम पक्कै नभएका होलान अर्थात भन्ने वितिक्कै नभएको पनि हुनसक्छ ,मानिसहरूमा यस्तै यस्तै किसिम र प्रकृतिका कामहरु तत्कालै नभएर असन्तुष्टि देखाएका होलान।
आफुले भनेको योजना नपरेको गुनासो होला,आफुले पेश गरेको योजनामा थोरै रकम विनियोजन भएको पनि हुनसक्छ, पार्टीका नेतृत्वसंग छलफल नगरेको असन्तुष्टि पनि हुनसक्छ।  मतदाताहरुलाइ चुनावताका जगाइएको महत्वकांक्षा पूरा नभएको आक्रोश पनि हुनसक्छ । यी र यस्तै गुनासो र आक्रोश स्वाभाविक नै मानिन्छ किनकि खेलराज पाण्डेयप्रती जनताको ठुलो अपेक्षा, विश्वास र भरोसा छ त्यसैको प्रतिफलको रूपमा आएको क्षणिक उत्तेजना,आवेग र भावना हो भन्ने बुझ्नुपर्द्छ ,हुनत हिड्ने गोरुको पुच्छर निमोठ्ने नेपालीहरुको बानी हो।तसैको परिणाम पनि हुनसक्छ ।
तर  ५/५ पटक संघीय सांसद भएर विभिन्न मन्त्रालय समालिसकेका विष्णु पौडेल र पहिल्यै  नगरप्रमुख  र अहिले  २/२ पटक प्रदेश सांसद भैसकेका भोज प्रसाद श्रेष्ठको पनि बुटवलको समस्या समाधान गर्न उत्तिकै जिम्मेवारी हुनुपर्ने हो, अर्थात वर्तमान समस्या समाधान गर्न उनिहरु पनि लाग्नुपर्ने हो तर बुटलवासीहरुले उनिहरुको नाम पटक्कै  लिदैन।बुटवलको सानो देखि ठुला सबै समस्या समाधान गर्ने जिम्मेवारी नगरप्रमुखको मात्रै ठान्छन।यो अचम्म  भएको छ।नगरप्रमुख मात्रै जिम्मेवारी ठान्नु पक्कै नि नगरप्रमुखप्रती अन्याय भएको छ,बुटवलको विकास र समृद्धिका लागि सबै जनप्रतिनिधिको उत्तिकै दायित्व हुनुपर्छ।कोहि पनि आफ्नो दायित्वबाट उम्किन पटक्कै  मिल्दैन ।राम्रोको सबैले प्रतिफल लिने र हुननसकेको कमजोरीको दोष सबैले लिनु नै न्यायोचित हुन्छ।प्रादेशिक राजधानी बुटवलबाट गुमाउदा बुटवलको विकासमा ठुलो धक्का लागेको छ।बुटवल पछाडि परेको छ।
गुनासो र असन्तुष्टिहरु निरन्तर आइरहने कुरा हो,यो जीवन्त प्रक्रिया हो,यी गुनासो,असन्तुष्टि र आक्रोशलाइ मध्येनजर गर्दै नेतृत्वहरुसंग छलफल र रायसुझाव लिएर उपमहानगरपालिका भित्र गठन गर्नुपर्ने समिति उपसमितिलाइ पुर्णता दिएर, जिम्मेवारीहरु बांडफाड गरेर,सबैलाई जिम्मेवार बनाएर विश्वास गरि सेवाग्राहीहरुको काम छिटोछरितो गर्न लगाएर घोषणा पत्रमा उल्लेख गरिएका कार्यक्रमहरु सुचिबद्व रूपमा कार्यान्वयन गर्दै गराउदै अगाडि बढ्ने र ,बुटवलवासीले प्रत्यक्ष लाभ पुग्ने बुटवलको दीर्घकालीन हित र कल्याण हुने किसिमबाट साधनस्रोतको समुचित परिचालन गरेर बुटवलको विकास र समृद्धिको काममा निस्वार्थ रूपमा दत्तचित्त भइ अहोरात्र खट्ने हो भने सफल नगप्रमुखको रूपमा इतिहासमा अंकित हुनेकुरामा सानातिना विरोध,आक्रोश र असन्तुष्टिले रोक्न सक्दैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?