शनिबार, भदौ १४, २०८२

भाग्य र दुर्लभ वस्तु : सत्य कथा

लिल बहादुर केसी 

मानिसलाई भोगवादले धेरै दुख दिएको छ। जव मानिसले भाग्यवादमा विश्वांस गर्छ त्यो वेला उसले आफूलाई भाग्यले ठगेको सम्झन्छ र आफ्नो पुर्पुरोमा धारे हात लगाउंछ। औषत मानिसहरु आफ्नो गर्जो टार्न कर्मतिर लाग्छन्, मिहिनेत गर्छन्, हात पाखुरी बजार्छन्, नयां सिप सिक्छन् र जीवनलाई सहज बनाउंछन्। कतिपय मानिसहरु भाग्यवादबाट निकै दमित हुन्छन् र उनीहरुले यो जीवनलाई नै भाग्यले ठग्यो, जन्मेको छैठौं दिनमा भावीले राम्रो कुरा लेखेन भन्दै यो योनी (जुनी) मा दुख पाएं पनि अर्को जुनीमा हुने सुख खोज्न रात दिन मन्दिर, मस्जिद धाउने, पुजा पाठ गर्ने र यो लोक भन्दा परलोक सुधार्ने क्रियाकलापमा लागेका हुन्छन्।
यो दुनियामा अर्का थरी केही मानिसहरु पनि भेटिन्छन् जुन मानिसहरुले धेरै दुख नगरी एकै पटक आफ्नो जीवनलाई सम्पन्न बनाउन चाहान्छन् । ती मानिसहरु पनि धेरै प्रकारका छन् सबैको चर्चा यो लेखमा सुक्ष्म किसिमले गर्न सम्भव भएन तर यी तेश्रो वर्गमा पर्ने मानिसहरु मध्ये एक थरी मानिसहरुले छिट्टै सुखी हुन खोज्दा निकै दुख पाएको मैले देखेको छु।
ती मानिसहरु कोहि पांच औंलेको पछी लागेका हुन्छन्, कोही गैंडाको खाकको पछी लागेका हुन्छन्, कोही चरेसका पछी लागेका हुन्छन्, कोही नागमणी खोज्न हिंडेका हुन्छन, कोही याकको हड्डीको पछी लागेका हुन्छन् भने कोही स्यालको सिंग खोज्न भौंतारिएका हुन्छन्।
यसरी भौंतारिनेहरुमा कहिले काहिं समाजका प्रतिष्ठित मानिसहरुको पनि नाम आउंछ तर सत्य के हो हामी औषत मानिसलाई थाहा हुंदैन। धेरै वर्ष पहिले म काठमांडू बस्दा दुई-तीन जना यस्तै दुर्लभ चीजको खोजीमा हिंडेका मानिसहरुसंग भेंटें। ती मानिसहरु मैले राम्रै चिनेका तर उनीहरु निकै व्यस्त देखिन्थे। उनीहरुलाई फुर्सद भएको वेला मलाई भेट्न आए पनि उनीहरुको दौडाई मेरोलागि बडो रहस्यमय लाग्थ्यो। अन्तरंग कुरा गर्न मिल्ने साथीहरु भएर पनि उनीहरुले आफ्नो व्यस्तता वारे झट्ट कुरा खोल्दैनथे।

 

अव ती पात्रहरु र उनीहरुको देखिने व्यवसाय तर्फ जाऊं। एउटा पात्र थिए निकै भलाद्मी र परिपक्क देखिने झापाका। उनको देखिने व्यवसाय पढाई तर उनी कलेज छाडी वेला वेलामा गायव भैरहन्थे। फर्केर काठमांडू आए पछी मसंग सुटुक्क भन्थे,”काम बन्यो भने एकै पटक करोडौं आउंछ”। उनीसंग छोंटो संगत भयो, उन्ले भनेको काम बन्यो कि बनेन, बनेको भए कति करोड कमाए मलाई थाहा छैन र मेरो चासोको विषय पनि रहेन। उनको भाग्य कस्तो थियो र आर्थिक हिसावले कुन वर्गका मानिस थिए उनी ? मैले थप वुझिन।

दोश्रो व्यक्ति भने अहिले ने का को राजनीति गर्छन्। पन्चायतकालमा पन्चायत इतर राजनीति गर्ने मन लाग्यो रे उनलाई । घरकाले पैसा दिएनन्, पार्टी र राजनीतिमा स्थापित नहुने वेलासम्म उनलाई काठमांडू बस्दा आर्थिक संकट परेकोले स्यालको सिंग खोज्ने मानिसहरुको संगतमा आफू परेको कुरा मलाई बताएका थिए ।उनको घर गुल्मी थियो। उनले स्यालको सिंग खोज्न हिंड्दा निकै दुख पाएको, अर्को कुनै ठगले स्यालको सिंग आफूसंग भएको बताएको र मूल्य आए बेच्ने कुरा गरेकोले उक्त स्यालको सिंग हेरी काठमांडूको कुनै धनाढ्यसंग सम्पर्क गराउन दूर्गम गाउंमा गै उक्त मानिस र कथित स्यालको सिंग ल्याई काठमांडू आएको रोचक कथा बताएका थिए। उनले मलाई सुनाएगा थिए, “हामीले जव कथित स्यालको सिंग लिएर धनाढ्य कहाँ पुग्यौं धनाढ्यले त्यो दुर्लभ स्यालको सिंग परीक्षण गर्न लगे। जव उनले परीक्षण गरी फर्किए उनी रीसले चुर हुंदै हामीलाई झपारे । हामी उनको घरबाट भागेर कुलेलम ठोक्यौं। ख़ास कुरा के रहेछ भने त्यो स्यालको सिंग नभएर बांसको तामाको आंखा (टुंसो) पो परेछ “। यी दोश्रो दर्जाका मानिस मध्यम परिवारका हुन्। इमान्दार पूर्वक दुख गरी उनी अहिले सम्पन्न छन्।

 

तेश्रो व्यक्ति भने पुरानो घर अर्घाखाची भई कपिलवस्तु बसाई सराई गरेका किसान हुन्। मध्यम वर्गीय परिवारका मानिस भएकोले उनलाई खाना लगाउनको दुख नहुंदा नहुंदै पनि कस्को संगतमा परे मलाई थाहा भएन। उनले यस्तै दुर्लभ वस्तु खोज्ने रहेछन्। कहिले प्लाटिनियम, कहिले स्यालको सिंग। धेरै प्रयत्न गर्दा यी वस्तुहरु नपाए पछी उनले एक दिन आफूले सोंचेर गरेको कुरा मसंग बताएका थिए, “ स्याल कराउने बेलामा सिंग निस्कन्छ, स्याल हाम्रो जंगलमा प्रशस्त छन्, प्रथमत: जंगलमा गई स्याल कराउने बेला त्यसलाई छोपी सिंग हात पारौं नसके स्याल पक्डिएर घरमा ल्याऊं अरु स्याल कराउंदा ऊ पनि कराउंछ त्यो वेला सिंग पक्डौं र हात पारौं “। उनले सोंचे अनुसार दुई तीन जना साथी लिई जंगल पुगेर पहिलो प्रयत्न गरेछन् तर असफल भएछन्। दोश्रो प्रयत्नशील सफल भई स्याल पक्डी घरमा ल्याएछन्। राती भयो दुई तीन जना जागाराम छन् तर स्याल कराएन । रातको तीन बज्न आंटिसक्यो स्याल नकराए पछी एक जनाले नौलो प्रस्ताव ल्याएछ, “ दाई! स्याल कराएन यसलाई पिटौं कराई हाल्ला अनि त्यो वेला निस्केको स्यालको सिंग हात पारौंला”। उनीहरुले स्याललाई पिट्न थाले, स्यालको अप्राकृतिक पिडाको आवाज़ आयो सिंग निस्किएन स्याल अन्तत: मर्यो। यस्तो दुर्लभ वस्तु खोज्ने व्यक्ति अहिले छैनन् उनी यस्तै खोजी गर्दा व्यवहार विगारे अन्त्यमा मेटासिड खाएर मरे।

नेपाली राजनीतिमा पनि ईमानदारी भन्ने अत्यन्त दुर्लभ वस्तु सावित भएको छ। समकालीन राजनीतिमा वामपन्थी वृत्तमा दुई वटा रेडीमेड शुत्रहरुको प्रतिपादन भयो। पहिलो शुत्रको जन्मदाता मदन भण्डारी हुन्। उनले सार निकाले, “ राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्रु हुंदैन”।उनले यो कुरा एउटा प्रसंगमा भने होलान् हुन सक्छ कार्यनीतिको सवालमा वा अन्य ठाउंमा। उनका सच्चा अनुयायीहरुले यही फ़ार्मुला लगाएर कहिले प्रतिगमन आधा सच्चियो भनेर राजावादीहरुसंग मिली सत्तामा गए त कहिले यही फर्मुला प्रयोग गरी देशी, विदेशी मिल्नु पर्ने र नमिल्नु पर्ने पार्टी, निकाय, गोयलहरु समेतसंग सत्ता प्राप्तीकालागि सम्वन्ध मिल्न पुगे।

नेपाली वामपन्थी राजनीतिमा बनेको दोश्रो फर्मुलाका शुत्राधार भने प्रचण्ड नै हुन्। लामो समयसम्मको ऐतिहासिक द्वन्दात्मक भौतिकवाद र मार्क्सवादको अध्ययन पछी उनले मार्क्सवाद लेनिनवाद र माओत्सेतुंग विचारधाराले नपुगेर माओवाद भने। तर लामो समयको सशस्त्र युद्ध पछी उनले एउटा शुत्र शान्ती प्रक्रियामा आएको बखत निकाले। यो शुत्र उनलाई सत्ता सन्चालन गर्दै गर्दा निकै उपयोगी सावित भयो र बार बार यस्को प्रयोग गरे र गर्दैछन् । त्यो शुत्र हो, “मार्क्सवाद हो पनि होइन पनि”।

वा! कमरेडहरु क्या गजव अजवका शुत्रहरु छन् हजूरहरुसंग ? आज रात भरी के के गर्नु भो। म त अली छिटो सुतें।
राजनीतिमा इमान्दारीता खोज्नु त स्यालको सिंग खोज्नु बराबर भयो। निष्ठाको राजनीति गर्नेहरुलाई कति गाह्रो परेको होला ?

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?