
प्युठान । पाँचदलीय गठबन्धनले प्युठान जिल्लाका सबै पालिकामा संयुक्त भेला गरेको छ । भेलाबाट सबै पालिकामा पालिकास्तरीय चुनाव परिचालन समिति गठन गरिएको छ ।
जिल्लाका गौमुखी, झिमरुक, नौबहिनी, मल्लरानी, सरुमारानी, माण्डवी, ऐरावती गाउँपालिका तथा प्यूठान र स्वर्गद्वारी नगरपालिकामा पहिलो चरणको कार्यक्रम सकिएको अखिल (छैठौं) का महासचिव सुवाश जिसीले जानकारी दिनुभयो ।
महासचिव जिसीका अनुसार पालिकाहरुको भेलापछि अब वडास्तरमा संयुक्त भेला गरी निर्वाचन परिचालन समिति गठन गरिनेछ ।
यस्तै, आज (मंगलबार) युवा विद्यार्थीहरुको संयुक्त भेला आयोजना गरिएको छ ।
पालिकास्तरीय भेला सम्पन्न गरेसँगै गठबन्धन दलहरुले मंगलबार प्युठान नगरपालिकामा पत्रकार सम्मेलन गरी अहिलेसम्मको गतिविधि तथा आगामी कार्यक्रमबारे जानकारी दिएका छन् ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्युठानबाट प्रतिनिधि सभाका उम्मेदवार एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले प्युठानमा संयुक्त चुनावी कार्यक्रम उत्साहका साथ अघि बढेको बताउनुभयो ।
प्युठानमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ दुर्गा पौडेल उम्मेदवार हुनुहुन्छ भने प्रदेशतर्फ प्रदेश सभा क मा प्रकाश अधिकारी र ख मा रोज राणा उम्मेदवार हुनुहुन्छ ।