
प्युठान । राष्ट्रिय जनमोर्चा, प्युठानले संघीयताविरुद्ध अभियान सुरु गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी राजमोले संघर्षका कार्यक्रम सुरु भएको जानकारी दिएको हो ।
राजमोले जिल्लाका नौवटै पालिकामा विरोध सभाको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै राजमो केन्द्रीय सदस्य बोमबहादुर खत्रीले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने नाराका साथ जिल्लाब्यापी अभियान सुरु भएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा दिइएको जाकारी अनुसार माघ १८ गते झिमरुकबाट कार्यक्रम सुरु हुनेछ । झिमरुकको कार्यक्रमलाई केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष कृष्ण खड्काले सम्बोधन गर्नुहुने छ ।
यस्तै, १९ गते प्युठान नगरपालिका, २० गते मल्लरानी, २१ गते नौबहिनी, २२ गते ऐरावती र २३ गते स्वर्गद्वारीमा विरोध सभा हुन छ । यसैगरी, २७ गते गौमुखी र सरुमारानीमा कार्यक्रम आयोजना गरिने राजमोले जनाएको छ ।
ती सभामा केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल, केन्द्रीय सदस्यहरु बोमबहादुर खत्री, कृष्ण खड्का, पद्मा पण्डित नेताहरु तिलक जिसी, केशव आचार्य इमानसिंह खड्कालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै, राजमो प्युठानले आगामी २०८० वैशाख २९ र ३० गते पाँचौ जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।
सम्मेलनको मूल नारा ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ, ऐतिहासिक पाँचौ जिल्ला सम्मेलन भव्यताका साथ सफल पारौँ’ तय गरिएको छ ।