बिहिबार, भदौ २६, २०८२

प्युठानको मच्छिमा राजमोको बिरोध सभा सम्पन्न संघीयता खारेज गर्नैपर्छ: खड्का

प्युठान । संघीयता खारेजीका लागि प्युठानले जिल्लाब्यापी अभियान सुरु गरेको छ । बुधबार झिमरुक गाउँपालिकाको मच्छिबाट राजमोले संघीयताविरुद्ध अभियान सुरु गरेको हो ।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण खड्काले नेपालको सत्तापक्षमा अमेरिकी साम्राज्यवाद प्रत्यक्ष सहभागी भएको बताउनुभयो ।

रवि लामिछानेको पार्टी अमेरिकाबाट सञ्चालित रहेको आरोप लगाउँदै उहाँले विगतमा अमेरिकी साम्राज्यवादले बाह्य रूपबाट नेपालको सत्तामा हस्तक्षेप गर्ने गरेको तर अहिले आफ्ना प्रतिनिधि सिधै नेपालको संसद र सरकारमा सामेल गरेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाको आयोजनामा मच्छिमा आयोजित सभालाई सम्बोधन गर्दै खड्काले भन्नुभयो, ‘रवि लामिछानेले स्वतन्त्र पार्टी स्थापना गरेर नेपालको नागरिकसम्म नरहेका व्यक्ति कसरी गृहमन्त्री बन्न पुगे ? यो वास्तवमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष षड्यन्त्र हो ।’

कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक जिसि, पूर्व सांसद तारा जिसि, अखिल (छैठौं)का महासचिव सुवाश जिसि, राजमो सल्लाहकार रणबहादुर खड्का, जिल्ला सदस्य टीका जिसि लगाएतले सम्बोधन गर्नुभएको थियो ।
राजमोले ‘राष्ट्रियताको रक्षा गरौं, संघीयता र एमसीसी सम्झौता खारेज गरौं’ भन्ने नारासहित प्युठानका सबै पालिकामा विरोध सभालगायत कार्यक्रम गर्न लागेको हो ।

विरोध सभा सुरु हुनुअघि ‘संघीयता चाहिँदैन–देश टुक्राउन पाइँदैन, एमसीसी खारेज गर, राष्ट्रियताको रक्षा गरौँ, राष्ट्रिय जनमोर्चा जिन्दावाद’ लगायतका नारासहित जुलुश प्रदर्शन गरिएको थियोे ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसि, जनजाती सम्मेलनका अमर पुन, युवक संघका केन्द्रीय सदस्य भरत ढकाल, जातीय समता समाजका लुम्बिनी प्रदेश अध्यक्ष एकेन्द्र विकलगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता राजमो झिमरुकका अध्यक्ष सिद्दिमान जिसि र सञ्चालन जिल्ला सदस्य सिताराम पोख्रेलले गर्नुभएको थियो ।

संघीयताविरुद्धको अभियान अन्तर्गत माघ १९ गते प्युठान नगरपालिका, २० गते मल्लरानी, २१ गते नौबहिनी, २२ गते ऐरावती र २३ गते स्वर्गद्वारी र २७ गते गौमुखी र सरुमारानीमा विरोध सभाको आयोजना गरिएको राजमो प्युठानले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?