शुक्रबार, भदौ २७, २०८२ | Friday 12th September 2025
भनेजस्तो नभएको भन्दै भाग्न खोज्ने भारतिय बेहुला र उनका बाबु पक्राउ
झिमरुक पोस्ट
मङ्लबार, बैशाख २६, २०८०
बारामा बिवाहमा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै भाग्न लागेको भारतीय बेहुला र उनका बुवालाई बारा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले बेहुला भारत जिल्ला पुर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौली बस्ने २३ बर्षिय शशी कुमार चौरसिया र उनका बुवा ४६ बर्षिय श्याम कान्त भगतलाई पक्राउ गरेको हो ।
आईतबार राति बेहुला शशिको बिबाह बाराको महागढीमाई नगरपालिका–६ बबुआईन बस्ने कालिचरण प्रसाद चौरसियाको छोरीसँग हुने तय थियो। राति भारतबाट जन्ती लिएर आएका बेहुलाले जन्तीमा आएका पाहुनाहरुलाई बेहुली पक्षले भनेअनुरुप चलनचन्तिको राम्रो सँग स्वागत सत्कार नगरेको भन्दै बिहे नगर्ने भनि स्टेजबाट भाग्न लागे त्यसपछि सुरु भयो विवाद । विवाद बढ्दै गएपछि हातपात हुन थाल्यो । उनीहरू जन्तीसहित कालीचरणप्रसाद चौरसियाकी २१ वर्षीया छोरी मनिषासित विवाह गर्न आएका थिए । वरमाला हुने स्वयम्बर (स्टेज) को सजावट राम्रो नभएको र जन्तीहरूको सेवा–सत्कार राम्रो नभएको भन्दै बेहुला स्वयम्बरबाट हिँड्न खोजेपछि बेहुली र बेहुलाका बाबुबीच विवाद बढेर कुटाकुटको अवस्थासम्म सिर्जना भएको थियो ।
सोहीक्रममा बेहुलाका बुवा श्याम कान्त भगतले बेहुलीका बुवालाई बिभिन्न किसिमको अश्लिल शब्दहरु प्रयोग गरी हातपात समेत गर्न खोजेको र बिहे नगर्ने भनि बेहुला भाग्न खोजेपछि बिबाह मण्डपमा पुगेको प्रहरीले बेहुला र उनका बुवालाई पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिए।
पक्राउ परेका बेहुला र उनका बुवा उपर अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कलैयाबाट दस दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको पाण्डेले बताए।