आइतवार, माघ ५, २०८२

१० महिनामा वैदेशिक रोजगारीमा गएका झण्डै एक हजार जना मिर्त्यु भएर बाकसमा फर्किए

चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा नौ सय ९५ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै खाडीका देश र मलेसियामा नेपालीहरूको ज्यान गएको छ ।

खाडीको देश साउदीमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । साउदीमा एक महिला र २८७ पुरुष गरी २८८ जनाले यो अवधिमा ज्यान गुमाएका छन् ।

साउदीपछि मलेसियामा २२८ जना पुरुष र तीन जना महिला गरी २३१ जनाको १० महिनाको अवधिमा ज्यान गएको छ ।

मलेसियापछि खाडीको देश कतारमा एक जना महिला र १८१ जना पुरुष गरी १८२ जनाको रोजगारीकै क्रममा मृत्यु भएको छ ।

यस्तै यूएईमा आठ जना महिला र १४० जना पुरुष गरी १४८ जनाको, कुवेतमा नौ जना महिला र ५० जना पुरुष गरी ५९ जनाको र खाडीकै अर्को देश बहराइनमा एक महिला र १७ जना पुरुष गरी १८ जनाको ज्यान गएको छ ।

यस्तै ब्रुनाईमा २ जनाको, क्रोएसियामा ४ जनाको, साइप्रसमा ५ जनाको, इजरायलमा २ जनाको, जापानमा ८ जनाको, जोर्डनमा २ जनाको, मकाउमा १ जनाको, मालदिभ्समा ३ जनाको, माल्टामा दुई जनाको, ओमानमा ७ जनाको, पोर्चुगल र पोल्याण्डमा एक एक जनाको, दक्षिण कोरियामा १७ जनाको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?