सरकारको नेतृत्व गरिरहेको दल, नेकपा माओवादी केन्द्रको संसदीय दलमा पनि यो विषय उठेको छ । मंगलबार बसेको बैठकमा सांसदहरु पूर्णबहादुर घर्ती, लेखनाथ दाहाल, माधव सापकोटा लगायतले यो विषय उठाएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले त्यो नक्साको आधिकारिकता बुझ्ने जवाफ दिए ।
‘मैले पनि न्युज सुनेको हुँ, थप बुझौंला । आधिकारिकता के हो बुझ्छु’ प्रधानमन्त्री प्रचण्डको जवाफ थियो ।
सरकारले भने मंगलबार साँझसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन । भारत भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका परराष्ट्रमन्त्री एनपी साउदले समेत यसबारे केही बोलेनन् । ‘भोलि प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ, त्यसैले कुरा नउठेको हुनसक्छ’, एक पूर्व राजदूत भन्छन्, ‘प्रधानमन्त्री आफैं दिल्ली जाने भएकाले त्यही कुरा गर्ने भन्ने होला ।’
प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणमा भोलि (मंगलबार) दिल्ली जाँदैछन् । समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता र संयुक्त प्रेस मिटको कार्यक्रम तय भएकाले त्यो नक्साबारे त्यही कुरा उठाउने आश्वासन प्रधानमन्त्रीले दिएको माओवादीका एक नेता बताउँछन् ।
‘अखण्ड भारत’मा अन्य देशका भूमि !
नेपाली भूमि समेत समेटिएको अखण्ड भारत ‘प्राचीन भारत’को नक्सा राखिएको नयाँ संसद भवनको उद्घाटन भारतीय प्रधानमन्त्री मोदीले आइतबार उद्घाटन गरेका थिए ।
सन् १९२७ मा ब्रिटिस उपनिवेदशकालमा बनेको संसद भवनलाई संग्राहलयमा परिणत गरी बनाइएको नयाँ संसद भवन उद्घाटन भारतमै विवादित बनेको थियो । त्यहाँका विपक्षी दलहरुले संसद भवनको उद्घाटन राष्ट्रपतिबाट गरिनुपर्ने तर्क गरेका थिए ।

तर हिन्दू धार्मिक तामझामका साथ मोदीले संसद भवन उद्घाटन गरे । यसलाई विपक्षी दलहरुले संवैधानिक र संसदीय प्रणाली उल्लङ्घन भनेका छन् । मोदीले भने संसद भवन बन्नुलाई प्रगतिको नयाँ उचाइ भनेका थिए । मोदीले ट्वीटमा लेखेका थिए, ‘यसले हाम्रो महान राष्ट्रलाई प्रगतिको नयाँ उचाइमा पुर्याउन सक्छ ।’
त्यो भवनभित्र भारतको इतिहास झल्काउने तस्वीर राख्ने क्रममा सरदार वल्लभ भाइ पटेल, भीम राय अम्बेडकर, चाणक्य लगायतको तस्वीरसँगै ‘अखण्ड भारत’को भित्ते नक्सा राखिएको छ । उक्त नक्सामा पाकिस्तानमा पर्ने तक्षसिलासहित नेपालको कपिलवस्तु र लुम्बिनी नाम राखिएपछि त्यसको विरोध भइरहेको छ ।
‘अखण्ड भारत’ (प्राचीन भारत) भनेर राखिएको उक्त नक्सालाई भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् संसदीय मामिला मन्त्री प्रह्लाद जोशीको ट्वीटलाई बढी आपत्ति जनाइएको छ । विपक्षीले बहिष्कार गरेको संसद भवन उद्घाटन कार्यक्रमपछि त्यही नक्सा राखेर ‘संकल्प प्रष्ट छ, अखण्ड भारत’ लेखेका छन् ।
अर्का सांसद मनोज कोटकले पनि मन्त्री जोशीकै जस्तो सन्देश जाने ट्वीट गरेका छन् । उक्त नक्सा अगाडि उभिएको तस्वीरमा कोटकले लेखेका छन्, ‘नयाँ संसदमा अखण्ड भारत । यसले शक्तिशाली र आत्मनिर्भर भारत ।’ तर भारतीय अधिकारीहरुले भने त्यो प्राचीन भारतको नक्सा भएकाले अहिलेको परिस्थिति र अरु स्वतन्त्र देशको राजनीतिक परिस्थितिसँग तुलना गर्न नमिल्ने प्रष्टोक्ति दिएका छन् । अन्लाईन खबर बाट