शनिबार, साउन १२, २०८१

गाजापट्टीको समस्या हाम्रो आफ्नै समस्या हो

मोहन बिक्रम सिंह
“कामरेड जलजला” उपन्यासको ‘दर्शन, क्रान्ति र बलिदानको महाद्वीप’ शीर्षकको सातौं भागमा हिटलरको फासिवाद, यहुदीहरु माथिका बर्बर अत्याचारसित सम्बन्धित केही परिच्छेदहरु छन् । ती परिच्छेदहरुमा हिटलरले यहुदीहरुमाथि गरेका अमानवीय र बर्बर अत्याचारहरुको विस्तृत रुपले वर्णन गरिएको छ । त्यस सिलसिलामा पोल्याण्डमा मात्र ६० लाख यहुदीहरुको हत्या गरिएको थियो भने जर्मनी सहित युरोपका कैयौं देशहरुमा उनीहरुमाथि भीषण बर्बर अत्याचारहरु गरिएका थिए । वृद्ध, महिला र बालबालिकाहरु समेतमाथि त्यस प्रकारका अत्याचारहरु गरिएका थिए ।
हिटलरद्वारा युरोपमा यहुदीहरुमाथि गरिएका त्यस प्रकारका अत्याचारहरुसित सम्बन्धित कैयौं म्युजियमहरु युरोपभरी नै बनाइएका छन् । पार्टीको कामको सिलसिलामा युरोपका विभिन्न देशहरुको भ्रमण गर्दा मैले त्यस प्रकारका कैयौं संग्रहालयहरुको अवलोकन गरेको छु । ती संग्रहालयहरुमा हिटलरले हत्या गरेका मानिसहरुका लासहरुको थुप्रो, कैयौं ग्या“स च्याम्बरहरुका दृश्यहरु समेत देखाइएका छन्, त्यहा“ लाखौं मानिसहरुलाई एकै ठाउँमा राखिन्थ्यो, जसमाथि कैयौं प्रकारका अत्याचारहरु गरिन्थ्यो वा त्यहाँ एकैसाथ ग्याँसद्वारा हजारौं मानिसहरुको हत्या गरिन्थ्यो । निश्चय नै त्यस प्रकारका अत्याचारहरु यहुदीहरुमाथि मात्र हुँदैनथे र अन्य जातिका मानिसहरु माथि पनि ठूलो पैमानामा त्यस प्रकारका अत्याचारहरु गरिन्थे । तिनीहरु मध्ये ठूलो संख्या यहुदीहरुको नै हुन्थ्यो ।
जर्मनीमा ‘हाउस्ट’ नामको एउटा संग्रहालय छ । त्यहाँ दुईवटा यहुदी बच्चाहरुले आफ्ना बाबुलाई लेखेको पत्र राखिएको छ । त्यो पत्रमा भनिएको छ ः ‘हामीहरुलाई बाच्ने ठूलो इच्छा छ । तर तिनीहरुले हामीहरुलाई बाच्न दिने छैनन् । पापा, अलबिदा’ । त्यो अत्यन्त कारुणिक दृश्य थियो । हिटलरको अत्याचारसित सम्बन्धित त्यस प्रकारका हजारौं, लाखौं घटनाहरु छन् ।
जुन यहुदीहरुले त्यस प्रकारका बर्बर अत्याचारको सामना गर्नु परेको थियो, के अहिले उनीहरुले नै हिटलरका फासिवादी कार्यविधिलाई अपनाइरहेका त छैनन् ? हमासले अक्टोबर ७ मा इजरायलका जनतामाथि जुन प्रकारको अमानवीय र बर्बर अत्याचार गरे, त्यसलाई हामीले सही मान्दैनौं र त्यसको विरोध गर्दछौं । तर त्यस सन्दर्भमा यो कुराप्रति पनि हामीले ध्यान नदिइकन रहन सक्दैनौं त्यस प्रकारको कारवाहीका पछाडि इजरायलद्वारा ठूलो पैमाना उनीहरुमाथि गरेका अत्याचारका विरुद्ध उनीहरुमा पैदा भएको आक्रोसले काम गरेको छ । सर्वप्रथम त लाखौं प्यालिस्टाइनहरुलाई आफ्नो भूमिबाट जबरजस्ती पूर्वक देश निकाला गरेर पठाइयो र अहिले उनीहरु खाडिका विभिन्न देशहरुमा शरणार्थी बनेर दुःख पाउँदै बस्नु परिरहेको छ । त्यो कार्यलाई कुनै पनि अवस्थामा न्यायोचित भन्न सकिन्न । इजरायल सरकारद्वारा ठूलो संख्यामा प्यालिस्टाइनका निर्दोष महिला र केटाकेटीहरु समेतको हत्या हुने गरेको छ । ती सबैको परिणाम स्वरुप प्यालिस्टाइनका जनतामा इजरायल प्रति पैदा हुने आक्रोस, घृणा र बदलाको भावना स्वभाविक नै हुन् र तिनीहरुलाई कुनै पनि अवस्थामा गलत मान्न सकिन्न । ७ अक्टोबरको घटनालाई पनि त्यही परिवेशमा बुझ्नु पर्दछ । तैपनि कुनै पनि पक्षद्वारा गरिने त्यस प्रकारको कारवाहीलाई हामीले सही मान्न सक्दैनौं । त्यो निश्चित रुपले एउटा आतंकवादी कारवाही हो र जुनसुकै पक्षले त्यस प्रकारको कारवाही गरे पनि त्यसलाई हामीले गलत नै मान्नु पर्दछ ।
इजरायलमा प्यालिस्टाइन जनतामाथि दशकौं देखि जुन अत्याचार हुँदै आएका छन्, त्यसका लागि सम्पूर्ण यहुदी जातिलाई नै दोषि ठहराउनु अवश्य पनि न्यायसंगत हुने छैन । इजरायलमा जसरी त्यहाँ बसोवास गरेका प्यालिस्टाइन जनतालाई जबरजस्तीपूर्वक त्यहाँबाट निकाल्ने काम गरियो, त्यसका लागि पनि सम्पूर्ण यहुदी जातिलाई दोष दिनु सही हुने छैन । त्यसका पछाडि मुख्य रुपमा अमेरिकी साम्राज्यवादको नै भूमिका रहेको छ । वास्तवमा अहिले इजरायलमा जुन सरकार बनेको छ, त्यो सरकार अमेरिकी साम्राज्यवादको बलमा नै बनेको हो । खाडिका देशहरुमा आफ्नो प्रभूत्व कायम गर्न नै अमेरिकाले त्यहाँ इजरायल सरकारको स्थापना गरेको हो । त्यो सरकारले सम्पूर्ण यहुदी जातिको हितको होइन अमेरिकी साम्राज्यवादको नै स्वार्थको प्रतिनिधित्व गर्दछ र मध्यएसियामा आफ्नो प्रभूत्व कायम गर्नका लागि अमेरिकी साम्राज्यवादले त्यो सरकारलाई उपयोग गर्ने काम गरिरहेको छ । एकातिर इजरायली सरकारको त्यस प्रकारको अमेरिकीसाम्राज्यवाद परस्त र, अर्कातिर, आम इजरायली जनताका बिचमा भएको त्यो अन्तरप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । आज प्यालिस्टाइन र इजरायली जनताका बिचमा बाह्य र प्रकट रुपमा शत्रुतापूर्ण सम्बन्ध भएजस्तो देखिए पनि आधारभूत रुपमा उनीहरुका हितमा कुनै अन्तर छैन । त्यसरी उनीहरुका बिचको शत्रुता होइन, उनीहरुका बिचको एकता नै प्रधान र दीर्घकालिन महत्वका विषय हो ।
हिटलरद्वारा यहुदी जातिमाथि कति धेरै अत्याचार भएका थिए ? विश्वको इतिहास त्यसको साक्षी छ । जुन जातिले स्वयं त्यस प्रकारका अत्याचारहरु भोग्नु परेको थियो । त्यही जातिद्वारा अहिले गाजापट्टीमा त्यहाँका निर्दोष जनता, महिला, बालबालिका र गर्भवती तथा भर्खर जन्मेका शिशुहरु समेत माथि जुन प्रकारका बर्बर अत्याचारहरु हुनु धेरै नै दुःख र पीडाको कुरा हो । अमेरिकी साम्राज्यवाद वा त्यसको कठपुतली इजरायली सरकारद्वारा त्यस प्रकारका अत्याचारहरु हुनु सामान्य कुरा हो । उनीहरुले संसारभरी नै त्यसप्रकारका अत्याचारहरु गर्दै आएका छन् । वास्तवमा साम्राज्यवाद युद्ध तथा सबै प्रकारका अन्याय र अत्याचारको स्रोत हो । त्यसले लोकतन्त्र र मानवताको ठूलाठूला कुरा गर्दछ । तर अमेरिकी साम्राज्यवादको बलमा गाजामा भइरहेका अत्याचारहरुबाट यो कुरामा कुनै शंका रहन्न कि त्यसको लोकतन्त्र र मानव अधिकारको प्रचार कति धेरै नक्कली र अवास्तविक छ । गाजापट्टीमा भइरहेको अत्याचारप्रति इजरायल सरकार गम्भीर रुपले दोषि ता छ नै । तर त्योभन्दा कैयौं गुणा गम्भीर रुपले अमेरिकी साम्राज्यवाद नै दोषि छ । जुन पक्षहरुले गाजामा भइरहेका घोर, अमानवीय र बर्बर अत्याचारहरुलाई समर्थन गर्ने काम गरिरहेका छन् उनीहरुले वास्तवमा शान्ति र न्याय होइन, अमेरिकी साम्राज्यवादलाई नै मद्दत पु¥याउने काम गरिरहेका छन् ।
यो साच्चै नै दुःखको कुरा हो कि गाजामा सामान्तः इजरायल सरकारद्वारा र मुख्यतः अमेरिकी साम्राज्यवादद्वारा भइरहेका बर्ब र अमानवीय अत्याचारहरु खाली त्यहा“मात्र होइन, सम्पूर्ण विश्वसित जोडिएका समस्या हुन् । आज त्यहा“ जे भइरहेको छ, त्यो संसारको कुनै पनि देशमा हुन सक्दछ । त्यसकारण प्यालेस्टाइनी जनता माथि भइरहेका त्यस प्रकारका अत्याचारहरुका विरुद्ध संसारभरी र नेपालमा पनि आवाज उठाउनुपर्ने आवश्यकता छ । त्यसरी हामीले खाली प्यालेस्टाइनका जनतालाई मात्र समर्थन गरिरहेका हुँदैनौं, तर भोलि हाम्रो देशमा पनि सम्भावित त्यस प्रकारको स्थितिलाई रोक्नका लागि प्रयत्न गरिरहेका हुनेछौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal