आइतवार, असार ३, २०८१

लक्ष्मी आइनन

लिल बहादुर केसी

मैले नेपाल देशको लुम्विनी अन्चलको गुल्मी जिल्लाको धुर्कोट रजस्थलमा जन्म लिएको रहेछु। मैले अहिले मात्र वुझ्दैछु, कुनै पनि मानिसले दुई वटा कुरा आफ्नो इच्छा अनुसार गर्न नपाउने रहेछ; एउटा आफ्नो इच्छा अनुसार जन्मन नपाउने रहेछ र अर्को आफ्नो इच्छा वमोजिम मर्न नपाउने रहेछ। मैले चाहेर हुने भए म संसारको शक्तिशाली र विकसित देशहरु, अमेरीका, वेलायत, फ़्रान्स, जर्मन, चीन, रुस तथा जापानमा जन्मने थिएं कि ? मैले चाहेर हुने भए म अमेरिकाको जेफ प्रेस्तन बेजोस को आमाको कोखमा जन्मिदो हुं वा विलियम हेनरी “बिल” गेट्स तृतियको आमाको कोखमा जन्मदो हुं, वा वारेन एड्वार्ड बफेटको आमाको कोखमा अमेरीका मै जन्मदो हुं तर त्यो भएन।

 

नेपालको लुम्विनी अन्चलको गुल्मी जिल्लाको धुर्कोट रजस्थल ४ मा आमा झवा कुमारीको कोखमा जन्मिएको रहेछु। गोत्र बचाउन जन्मिएको छोरा भएकोले आमाको न्यानो काख र सुम्सुम्याई, सेभिंग नगरेको बाबाको झुसे दारी र जुंगाले मेरो गालामा चुप्पा खाएको मिठो किस, दुई दिदी र फूपु तथा भान्जा दाई/ दिदीहरुले गरेको निष्कपटपूर्ण माया आदी मेरो वाल्यकालका अविस्मरणीय क्षणहरुले भने म मायाको दृष्टिकोणबाट समृद्धशाली बच्चा भएको जस्तो लाग्छ। खोल हाल्न नसकेका सिरक र डसेना प्रयोग गरी आमाको हातको सिरानी राख्दै आमाको न्यानो काखमा सुत्दा हिंजो आजका तारे होटलका डिलक्स रुममा मुलायम विस्तारामा सुते भन्दा अझ आराम भएको अनुभूति हुन्थ्यो। मेरो वाल्यकालमा घरको खाना संवन्धी मेनुमा पाइने प्रकारहरु निस्चित थिए। प्राय जसो बिहान मकैको आटो, रायोको साग, चुच्चे करेलाको तरकारी, मस्यौरा, सिन्कि तथा सुके साग, फर्सी, तिते करेला, मुला आदी मेनुमा पाइने स्थायी प्रकार हुन्थे। मेलो मेसो, तीज, दशैं, तिहार र श्राद्ध गर्दा हाम्रो घरको खानाको मेनुमा हल्का परिवर्तन आउंथ्यो। गरीविको वोझ कस्लाई परेको थियो मलाई थाहा हुंदैनथ्यो तर हाम्रो उरिमको ढिंकी सक्रिय हुंदा र १ आधा सेर मासु घर भित्र पस्दा घरका सिनीयर सदस्यले केहि काम जिम्मा दिई घर बाहिर पठाउंदा आफूलाई थाप्लोमा हाने जस्तो लाग्थ्यो घर छोड्न मन लाग्दैनथ्यो। एक दिनको कुरा हो। घरमा १ सेर मासु आएको बेला आमाले कांसको कसौंडीमा अंगेनामा पकाउन बसाली म र मेरा दुई दिदीहरुलाई त्यसको हेरचाह गर्ने जिम्मा दिई आफू मेलापात जानु भो। हामी तीन भाई बहिनीहरुले त्यो मासु बिरालोबाट त जोगायौं तर आफ्नो मनलाई नियन्त्रण गर्न सकेनौं। पाक्यो पाकेन, नुन लाग्यो लागेन, मसला कतिको ठिक्क छ वा छैन, हेंकुलो र कलेजों छ छैन भनी टेस्ट गर्दा गर्दै मासु सकिएछ ।आमा फर्केर घरमा आउंदा त कसौंडीमा मासुको झोल मात्र। दिउसो मासु खाए पनि साँझ त गाली मात्र खाइयो ।

 

सायद भोकै पो सुतियो कि याद आउंदैन। बेलुकीको हाम्रो घरमा पाकिने प्रकारमा कोदोको रोटी, टमाटरको चटनी, भुटेको मकै र महि। यहि थियो हाम्रो घरको सांझको मुख्य मेनु। हुन् त हाम्रा मेनुमा भएका यस्ता खानाहरु सुडान, बुरुन्डी, मध्य अफ्रीकी मुलुकहरु र नाइजेरीया जस्ता मुलुकका गरीविले ग्रस्त मानिसहरुकोलागि र स्वयं नेपालका कुपोषणबाट ग्रसित लाखौं सड़क मानव र सुकुम्वासीहरुकोलागि निकै उच्च स्तरको खाना हुन्छ।
धेरै बर्ष अंघी मैले एउटा टेलीसिरियल “दशैं” हेरेको थिएं। सिरियलको अन्त्यमा, एउटा नाबालकको दशैंका रहरहरु टुहुरा भएकोमा सारै मन दुखेको थियो । “बा मासु करायो, चपा भैरे चपा, बा डमरु” भन्दै छोराले बाबुको अगाडि पिन्चे अनुहार देखाउँदा, ‘धिवा मरु डमरु, डमरु’ भनेको भैरेको यो डाइलग अझै पनि आफ्नो कानमा गुन्जिन्छन। यस्ले नेपाली गरीव र दुखीहरुको अर्गानिक जीवनको छायां उतारेको छ। नेपाल र विश्वमा भएका यस्ता लाखौं लाख भैरे भन्दा म आफू तिनै वेजोस, विल गेट्स र वफेट भन्दा कम थिइन जस्तो लाग्छ। यस अर्थमा म नेपाल देशमा जन्मिएको एउटा भाग्यशाली नागरिक हुं जस्तो पनि लाग्छ।

 

नेपाली समाजको धर्म संस्कृति पनि स्थान विशेषमा भर पर्दो रहेछ। नेपालीहरुको रमाइलो चाड मध्येको तिहार डाक्ने प्रकृति र ऋतु मलाई सानै देखि आकर्षक लाग्थ्यो। कन्चन नीलो आकास, न ठन्डी न गर्मीको शरद ऋतु, मख़मली र सयपत्रीका ढकमक्क फूल्ने फूलहरु नै रमाइलो पर्व तिहार बोलाउने प्रकृति हो। यस्तो रमाईंलो प्रकृतिको साथमा आउने उज्यालोको पर्व तिहार अभिभावकको लागि त कति बोझिलो थियो थाहा भएन मलाई औधी रमाइलो लाग्थ्यो।मेरो वाल्यकालको वुझाइमा यम पन्चक भनेको काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु र भैंसीको तिहार तथा भाई तिहार मात्र थियो। मैले उल्लेख गरेका यी पांच तिहारहरु क्रमश नियम पूर्वक बडो ध्यान दिएर मनाइन्थ्यो। एउटा आश्चर्य लाग्ने कुरा के छ भने जब म परिपक्व भएर पढ्न र जागिर खाने सन्दर्भमा शहर छिरें त्यो वेला मलाई अर्को तिहार थपिएको वा मेरो वाल्यकालमा उक्त तिहार मनाउन छुटेको महशुस भयो त्यो तिहार हो लक्ष्मी पुजा वा तिहार। सामान्यतः हामीले सानोमा लक्ष्मी भनेको गाई संझन्थ्यौं, घरमा रहेकी कन्या छोरी सम्झन्थ्यौं। यस अर्थमा तिहारको औंशिको दिन लक्ष्मीको प्रतिक गाईलाई पुजा गरी कन्याहरुलाई टीका लगाइदिन्थ्यौं। सांझमा हाम्रो घरमा दियो बालेर झकमक गराए पनि छुट्टै लक्ष्मीको पुजा गर्दैनथ्यौं। यसो हुनुको मूल कारण दुइ वटा हुन सक्छ; एउटा सांस्कृतिक र धार्मिक अज्ञानता अर्को घरमा नगद पैसा तथा गर गहना नभएको कारण। गरगहनाको पुजा गरौं भने आमाको नाकको एउटा फुलीको पुजा गर्नु पर्ने र धन दौलतको पुजा गरौं भने पनि आमाकै चोलाको गोजीमा राखेको थैलीको पुजा गर्नु पर्ने। अहिलेको लक्ष्मी पुजाको सन्दर्भमा हेर्दा तत्कालीन समयमा लक्ष्मी पुजा गरेको भए आमा बस्ने ठाउंमा सफ़ा तवरले गाईको गोवर्रले लिपी आमाकै शरीरमा पुजा गर्नु पर्ने रहेछ जस्तो मलाई लाग्छ। होइन भने थोंत्रो बाकसमा थोंत्रै लुगा हुन्थे।अर्को संपत्ति सुरक्षित गर्ने संदुस र फुंगो थिए त्यसमा पनि लक्ष्मी बसेकी थिइनन् ।

 

लक्ष्मीले पहिले देखि हाम्रो घरमा बास बस्न भुलेकोले हो कि के कारणले हो गाई र कन्या देखि बाहेक अरुलाई लक्ष्मी मानी हाम्रो घरमा तिहारमा मेरो वाल्यकालमा कहिल्यै पुजिएन।हाम्रो घरमा मात्र होइन हाम्रो तिर कसैले पनि लक्ष्मी पुजा छुट्टैपुजा गरेको मलाई थाहा छैन। हिंजो आज मलाई लाग्छ म लगायत सबै गाउंलेहरुले लक्ष्मी पुजा नगरेर पो हो कि अझै सम्म मेरो गाउंका बासिन्दाहरुलाई लक्ष्मीले पत्याए कै छैनन्। दिन प्रतिदिन लक्ष्मी अझै टाढिंदै गएको जस्तो लाग्छ। मेरो जन्मस्थानका मानिसहरु निराश छन्। लक्ष्मीको खोजीमा खाडीमा भौंतारिएका छन्। लक्ष्मी आउने आशामा बसेकी श्रीमतीहरु अझ निराश छन्। कुनै घरमा लक्ष्मीको सट्टा लास आएका छन्। लक्ष्मी कै आशाले विक्षिप्त मनहरुले गर्दा धेरैको बसाइ सराइ भएको छ। बसाइ सराइ गर्दा पनि लक्ष्मी अझै विकर्षित छिन। पहाडका लक्ष्मी आकर्षण गर्ने अब्बल खेत बारीहरु बांझिएका छन् तर पनि लक्ष्मी आइनन्।मेरा गाउंका कुल प्रसाद जेठा बाँ र कुमालटारी माइला बा हरुले हामी कसैलाई नभनी सुटुक्क लक्ष्मीको पुजा गर्नु हुंदो रहेछ कि ? उहांको घरमा लक्ष्मीको स्थायी बासस्थान भए जस्तो लाग्थ्यो। दुखको कुरा वहाँ दुइ वटै बुबाहरु परलोक जानु भएकोले औंसीको राती वहांहरुले गर्ने लक्ष्मी पुजा बारे खार खेर गरी सत्य कुरा वुझ्ने मौकै मिलेन।

 

अहिले भने हाम्रो घरमा मात्र होइन, समस्त वित्तीय बजारमा, उद्योग धन्दा कल कारखानामा, व्यापार वाणिज्य क्षेत्रमा, राष्ट्र बैंकमा, राष्ट्रको ढिकुटीमा समेत लक्ष्मीको विकर्षण भइरहेको छ। यस्तै यस्तै विकर्षण हुनाले श्रीलंका डुबेर गयो।रुस र युक्रेनको युद्धले गर्दा संसारका अधिकांश देशहरुबाट लक्ष्मीले छाड्दैछन्। अमेरीका लगायत पेट्रोलियम पदार्थ र हात हतियार निर्यात गर्ने राष्ट्रहरुतिर मात्र लक्ष्मी बसाइ सराइ गर्दैछिन्। त्यसैले फेरी पनि म भन्छु मेरो घर, समाज र देशमा लक्ष्मी आइनन्। लक्ष्मी पुजा बारे वयस्क अवस्थामा जानाकारी भए पनि अब म मात्र होइन सबैले निष्ठापूर्वक लक्ष्मीको पुजा गरौं। हाम्रो पुजा गराइमा विधि नपुगेर पो हो कि त्यस्को खोजी गरौं। निष्ठापूर्वक पुजा गरी लक्ष्मी राखी राख्नेहरुको पनि पहिचान गरौं। उहांहरुले आफूले पुजा गर्ने विधि इमान्दार पूर्वक हामीलाई बताए ठिकै छ नबताएमा उनीहरुलाई प्रहरी प्रशासन लगाएर खार खेर गरेर भए पनि उक्त विधि बारे जानाकारी लिऊं। समाजका बर्ग विभेद हटाऊँ। लक्ष्मीलाई बोलाऊं।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?