शनिबार, भदौ १४, २०८२

मृत्यु पछिको जीवन र मृत्यु संस्कार;

ज्ञामुराम न्यौपाने

हरेक वस्तुको जन्म पछी मृत्यु अनिबार्य हुन्छ। शास्वत वस्तु केहि हुँदैन। बोटबिरुवा,माछा, चरा, मानिस वा पृथ्वी, चन्द्र, सुर्य प्रत्येक वस्तुको आआफ्नो आयु हुन्छ। मृत्यु समाप्ति हो।
पुराना कथा, किम्बदन्ती र केही धार्मिक ग्रन्थहरुमा मृत्यु पछि पुनर्जन्म या नयाँ जुनी ल्याउने कुरा उल्लेख गरेको पाइन्छ। जस्तै गरुड पुराणमा मानिसको ८४ लाख जुनिको काल्पनिक कथा उल्लेख छ। विज्ञानको अन्वेषण, जीव वैज्ञानिक, र मानवशास्त्रीहरुको अध्यन र निष्कर्षमा कुनैपनि प्राणीको पुनर्जीवन सम्भव छैन। मृत्यु हरेक प्राणीको पूर्ण अन्त र समाप्ति हो। मृत्यु पछिको पुनर्जीवनको कल्पना झुठो हो। तर प्रजनन क्षमता भएका प्राणीहरूको उनीहरूका सन्तानद्वारा वंश परम्परा चल्दछ।
मानव समुदायमा समय, चेतना र धार्मिक सम्प्रदाय अनुसार फरक फरक किसिमको मृत्यु संस्कार विद्यमान छ। हिन्दू, बौद्ध,मुस्लिम, वा क्रिश्चियन धर्ममा (बढीमा दुई देखी चार हजार वर्ष पूर्व स्थापित) फरक फरक किसिमको मृत्यु संस्कार प्रचलनमा रहिआएको छ। मृत्यु संगसँगै स्वर्ग र नर्कको झुठो कल्पना हाम्रो समाजमा विद्यमान छ।स्वर्ग र नर्क दुवै हुँदैनन्।मृतकलाई नर्कबाट बचाउन र स्वर्ग पुर्याउन विभिन्न झुठा प्रयास भै रहेको हामी पाउँछौं। जुन असम्भव छ। पुरातन समाजबाट बहिष्कृत हुने वा तीब्र आलोचनाको सिकार हुने , अग्रजहरुले चित्त दुखाउलान भन्ने डरले नै धेरै मानिसले झुठो लाग्दालाग्दै पनि परम्परागत संस्कार र स्वर्ग पुर्याउने टन्टा गर्न बाध्य छन्।
राजनैतिक क्षेत्रका नेता कार्यकर्ताहरुको मृत्युमा, पार्टीको झण्डा ओढाउने, मौन धारण गर्ने, फूलअबिरद्वारा श्रद्धाञ्जली प्रकट गरेर सम्मान जनक ढंगले अन्तिम बिदाइ गर्ने प्रचलन पनि स्थापित हुँदै गएको छ। घर / कार्यालयमा फोटो र शोक पुस्तिका राख्ने, शोक सभाको आयोजन गरेर जीवनी र योगदानको चर्चा गर्ने, कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने पनि गरिन्छ। जीवनी र योगदान बारे वृत्तचित्र प्रदर्शन तथा पुस्तक प्रकासन गर्ने, पुरस्कार/अक्षयकोष खडा गर्ने गरेको पनि पाउँछौं । कतिपय व्यक्तिको वार्षिक स्मृति दिवस मनाउने प्रचलन पनि रहेकाे छ।
हामी सबैको मृत्यु अनिबार्य हुन्छ। मृत्यु पछि हाम्रो जीवन रहँदैन । हामी सदाको लागि विदा हुन्छौं। हरेक मानिसको आफ्नै इतिहास हुन्छ । जो कोहीको समाज र परिवारमा केहि न केहि योगदान त रहेकै हुन्छ। हरेक पुस्ताले मानव समाज परिवर्तनमा महत्वपूर्ण योगदान गरेको हुन्छ। त्यसको रक्षा, स्मरण र सम्मान गर्नु हामी बाँचेकाहरुको साझा कर्तव्य हो।
हरेक वस्तु जस्तै हाम्रा संस्कार र रिति रिवाजहरु पनि परिवर्तनसील हुन्छन । तिनलाई बढी सहज, अर्थपूर्ण र वैज्ञानिक बनाउँदै लैजानु आबस्यक छ।
६ माघ, २०८०

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?